मुख्य समाचार

महोत्सवमय वन्यो सदरमुकाम धादिङबेसी

By Dhadingnews.com

January 29, 2014

केशव अधिकारी धादिङ, १५ माघ- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी महोत्सवमय वनेको छ ।‘कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना ,सम्बृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने नाराका साथ बुधवारदेखि धादिङबेसीमा बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला (धादिङ महोत्सव )बुधवार देखिशुरु भएपछि सदरमुकाममा चहल पहल निकै बढेको हो । मेला माघ २३ गते सम्म जारी रहनेछ । अर्थ,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री शंकर कोईरालाले धादिङबेसी खुल्लामञ्चमा एक भव्य कार्यक्रमका बिच महोत्सवको उदघाटन गरेका थिए ।

महोत्सव उदघाटन हुनुअघि दार्खाको घोडचढी नाच, खाल्टेको वाहुन वाजा,सांखुको भजन,झिगु नेवा समाजको टाकटुके नाच र लाखे नाचका साथै विभिन्न जातजाती,समुदायका संस्कृति र परम्परा झल्काउने पहिरन सहितको झांकी वजार परिक्रमा गर्दै मेला स्थल पुगेको थियो । मेलामा गुन्द्रुक, ढिंडो, चमेरोको मासु तथा चेपाङ परिकार प्रमुख आकर्षणका रुपमा रहेको छ । त्यस्तै नेपाली ढाकाका उत्पादनहरु, दैनिक उपभोग्य सामान, अटोमोबाइल, कृषिजन्य तथा जडिबुटी, शैक्षिक सामाग्री,काष्ठकला,मदिरा तथा सुर्तिजन्य सामग्री, हस्तकला तथा छालाका सामानहरु, सुचना प्रविधि, गारमेन्ट, कृषि प्रविधि प्रदर्शनी, निमार्ण सामग्री, पर्यटन सम्वन्धि जानकारी, इलेक्ट्रोनिक सामग्रीहरु रहेका छन । महोत्सवले जिल्लाको आर्थिक तथा सामाजिक उत्थान गर्नका लागि कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए । धादिङ जिल्लामा कृषि पर्यटन,औद्योगिक व्यापारका साथै पशुपालन, घरेलु तथा जलश्रोतको प्रशस्त सम्भावना रहेकाले त्यस्को सदुपयोगका लागि सरोकारवाला सरकारी निकाय र निजीक्षेत्रले सहकार्य गरेर दिगो योजना वनाई अघि बढ्नुपर्ने वक्ताहरुले बताएका थिए । मेलामा आउने दर्शकहरुको स्वागतका लागि सदरमुकाम धादिङबेसीका वासिन्दाले वजारक्षेत्रलाई आर्कषक बनाएर सिंगारिएको छ ।सदरमुकामको बजार क्षेत्रमा ध्वजापतका र वजार प्रवेश गर्ने नाकाहरुमा स्वागतद्धारहरुको समेत निर्माण गरिएको छ । मेलामा धादिङ जिल्लामै हातैले बुनेर तयार पारिएका राडी, पाखी, बख्खु ,काम्ला, डाला, नाङला, लगायतका सामाग्रीहरु देखि जिल्लाको पहिचान दिने अन्य बस्तुहरुको प्रदर्शनी एवम खरिद विक्रि शुरु गरिएको छ  ।  मेला स्थलमा विभिन्न किसिमका सामानहरु बिक्रि तथा प्रदर्शनीका लागि राखिएका छन । धादिङ जिल्लालाई उद्योग, व्यवसाय, प्रविधि तथा कृषि र जडीबुटी क्षेत्रको प्रवद्र्धन केन्द्रको रुपमा अघि बढाउने लक्ष्यका साथ मेलाको आयोजना गरिएको हो ।  मेलामा उद्योग, व्यवसाय, पर्यटन, प्रविधि र कृषिजन्य तथा जडीबुटी उत्पादन बिक्री तथा प्रवद्र्धनका लागि राखिएको छ । मेलामा घरेलु, औद्योगिक ,पर्यटन, कृषि, साना तथा लघु उद्यम र वित्तीय संस्था होटल लगायतका गरी १ सय ४८ वटा कक्ष राखिएको छ ।  मेला अवधिभर सर्वसाधारणको मनोरञ्जनका लागि विभिन्न साङगीतिक कार्यक्रम, मनोरञ्जनात्मक खेल तथा खाना, वालउद्यान समेत राखिएको छ । मेला अवलोकन गर्नका लागि सर्वसाधारणलाई रु ५० र विद्यार्थी सहुलियतका लागि समुहमा आउने बिद्याथीलाई २० रुपैया र परिचयपत्र लिएर आउने व्यक्गितरुपमा आएका बिद्यार्थीलाई ३० रुपैयामा प्रवेश टिकेट दिइएको छ । यसैगरी आयोजकले धेरैपटक मेलामा आउनुपर्ने व्यक्तिहरुका लागि ३ सय रुपैयामा स्थायी पास सहितको टिकटको समेत व्यवस्था मिलाएको जनाएको छ । मेला मूल आयोजक समितिका संयोजक कल्पना अधिकारीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा सभासद एवम पुर्व मन्त्री राजेन्द्र पाण्डे, गंगालाल तुलाधर,सभासदहरु धनवहादुर घले,परशुराम तामाङ र दिलमान पाख्रिनका साथै जिल्लाका राजनैतिक दलका प्रमुख एवम प्रतिनिधिहरुले सम्वोधन गरेका थिए ।

साथमा मेला संग सम्वन्धित केही फोटो फिचर

तस्बिरहरु :  केशव अधिकारी /धादिङन्युज