प्रदेश

नेपालले भुटानलाई ५ विकेटले हरायो

By Dhadingnews.com

February 14, 2014

काठमाडौ, फागुन २ – थाइल्याण्डमा जारी एसिसी वुमेन्स प्रिमियर क्रिकेटमा नेपालले आफ्नो तेस्रो खेलमा भुटानलाई ५ विकेटले पराजित गरेको छ ।

भुटानले दिएको १ सय ४ रनको लक्ष्य नेपालले २६.२ ओभरमा मात्र ५ विकेटको क्षतिमा भेट्टायो । नेपाललाई प्रतियोगितामा दोस्रो जित दिलाउने क्रममा रुविना क्षेत्रीले अविजित ३१ तथा ममता थापाले २० रन जोडिन् । ममता चौधरीले अविजित १३ रन जोडिन् भने सीता मगरले ८, रेखा रावलले २ तथा नीरा राजोपाध्यायले १ रन जोडिन्।

यसअघि टस हारि पहिले ब्याटिङ गरेको भुटानले निर्धारित ४० ओभरको खेलमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। भुटानका लागि एसेम वाङ्मोले २३, सोनाम छोदेनले २१, डेचेन वाङ्मोले १३ रनको योगदान दिएका थिए। नेपालका लागि सोनु खड्का र रुविना क्षेत्रीले २-२ तथा सीता मगर र रेखा रावलले १-१ विकेट लिए।

यसअघिको पहिलो खेलमा नेपालले इरानलाई २२१ रनले हराएको थियो भने हिजो आयोजक थाइल्याण्डसँग ८ विकेटको पराजय बेहोरेको थियो।

प्रतियोगितामा सहभागी ६ टोलीमध्ये शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा तीन स्थान हात पार्ने टोली आसन्न इन्चोन एसियाडमा छनोट हुनेछन् ।

नेपालले फाइनलको आशा जीवितै राख्न भुटान, चीन तथा हङकङलाई हराउनुपर्छ ।

अंक–तालिकामा थाइल्यान्ड लगातार दुई जितसँगै चार अंकका साथ शीर्ष स्थानमा छ । चीनको पनि समान अंक छ । रनरेटमा चीन दोस्रो स्थानमा रहेको हो । नेपाल दुई अंकका साथ तेस्रो स्थानमा छ ।

-सेतोपाटीबाट