अस्मिता खतिवडा – कालो हाँडीमा पटट्ट्ट्ट्ट् मकै दाना पड्काउँदै गर्नुभएकी बुढी हजुरआमालाई ४ बजे स्कुलबाट घर फर्केपछि सोध्ने गर्थे–“आमा ! खाजा के खाने ?”आमाले भन्नुहुन्थ्यो –“मुरली मकै फुल उठाएर भुटिदिएको छु । मकै खाउ न गुन्दु्रको अचारसँग, अनि बालाई चाहिँ त्यहि मकै जाँतोमा पिनेर सातु बनाइदेऊ । म घाँस काट्न हिँडँे, तिमी चाहिँ खाजा खाएर एकछिन बाख्रा चराउन जाऊ है ?” म पनि खाजा खाएर गोठालामा नै गृहकार्य गरौँला भनेर किताब कापी बोकेर बाख्रा गोठालो जान्थेँ । कुरा हो म सानो छँदा कल्लेरीमा बसेर पढ्दा गर्ने गरेको क्रियाकलाप र खाने गरेको खाजाको । तर यहाँ
धादिङबेशी आएपछि न मकै पाइन्छ न खान नै मन लाग्छ । मकै नपाएर खान मन नलागेको होला भन्ने लाग्थ्यो तर मेरो सोचाइ गलत रहेछ । अहिले त मकै खाने जमाना नै गएको पो रहेछ । अहिले त सबैलाई चाउचाउले छोइसकेको रहेछ, छोएको मात्र होर ? पुरै ढाकिसकेको रहेछ । चाउचाउ बिना त खाजा नै हुँदो रहेनछ आजकाल त । भुरा देखी युवा सम्म, युवा देखी बुढा सम्म सबैलाइ चाउचाउ खाजा नै मन पर्ने रहेछ, चाउचाउ नै चाहिने रहेछ । निलकण्ठ –५ साँखुमा रहेर १ घण्टाको बाटो हिँडेर एड्भान्स एकेडेमीमा पढ्न आउने दुई दिदिबहिनी रोजिना रिजाल र रबिना रिजाल भन्नुहुन्छ –“हामी त खाजाको रुपमा धेरै जसो चाउचाउ नै खाने गर्छाैँ, घरमा मकै भटमास त छ तर….खान नै मन लाग्दैन । ” त्यसैगरी साङ्कोष कैलासबाट भर्खरै मात्र बजार झरेर बस्नुभएकी अप्सरा भण्डारीको पनि कुरा त्यस्तै छ । उहाँ भन्नुहुन्छ– गाऊँबाट भुटेर ल्याएको मकै कोठामा धेरै छ तर खाजा नै भनेर मन लगाएर खाने गरेको भने छैन । अनि खाजा के खाने गर्नुभएको छ त भन्दा –खाजा..खाजा त मम, चाउमिन, बिस्कुट, चटपट । साँच्चै उहाँले खाजाको रुपमा मकैको त कुरा नै गर्नुभएन । उहाँहरु मात्र होइन धेरैको खाजा नै यस्तै छ । बैरेनी गाविस वडा नम्बर ७ अदुवाबारीमा बस्ने बुढी हजुरआमा खिल कुमारी अधिकारी को कुरा गर्ने हो भने उहाँको सेतै फुलेको कपाल छ, चाउरी परेको गाला छ, ढाड कुप्रेर भुईँ छुन लागेको छ, यसो हेर्दा नै थाहा हुन्छ उमेरले ७० नाघिसकेको छ । उहाँ भन्नुहुन्छ–“ लसुन, प्याज गोलभेडा बिटुलो हुन्छ । कुखुराको अण्डा, मासु खायो भने त जात जान्छ ।” खाजा के खाने गर्नुभएको छ नि भन्दा भन्नुहुन्छ – खाजा धेरै जसो त चाउचाउ नै खाने गरेको छ । अनि चाउचाउ बिटुलो हुन्न त भन्दा– “खै ! आफूले देखेको छैन बिटुलो छ कि चोखो छ, तै पनि चाउचाउ त खाइन्छ नै ।” उता जिल्ला अस्पताल धादिङमा स्टाफ नर्सको रुपमा कार्यरत नर्बदा कार्की भन्नुहुन्छ– “थाहा त छ नि, चाउचाउले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ तर के गर्ने ? आफ्नो साढे २ वर्षकीे छोरी अपेक्षा चाउचाउ भने पछि हुरुक्कै हुन्छिन्, अब त उनलाई रोएको बेलामा फकाउने औषधि नै चाउचाउ बनेको छ ।” त्यस्तै निलकण्ठ उ.मा.वि मा कक्षा ९ मा पढ्ने सम्झना तामाङ र कक्षा ६ मा पढ्ने अन्जना खतिवडा पनि चाउचाउ नै खानुहुन्छ रे खाजा । अनि किन नि चाउचाउ नै खाने गरेको भन्दा उहाँहरु भन्नुहुन्छ–“सबै साथीहरुले चाउचाउ नै खाने गरेका छन् अनि के त ?” पत्यार नलागेर संगैको घुम्ति पसलमा रहनुभएकी आमैलाई चाउचाउ कत्तिको बेच्ने गर्नुभएको छ ? भन्दा उहाँ भन्नुहुन्छ – “पसलमा चाउचाउ नराखे त व्यापारै हुँदैन, दिनमा चाउचाउ नै धेरै बेच्ने गरिएको छ ।” साच्चै नै चाउचाउ खाजाको रुपमा धैरै नै लोकप्रिय हुँदै आईरहेको छ । गाँउ गाँउसम्म धेरै चाउचाउ निर्यात गर्ने गरेको धादिङ बेसीका व्यापारीहरु बताउँछन् । के साच्चै नै चाउचाउ स्वास्थ्यको लागि फाईदाजनक छ त ? यसले कतै हाम्रो स्वास्थ्यमा नकारात्मक असर त पार्दैन ? यस तर्फ हामी सचेत हुनु जरुरी देखिन्छ ।