हाम्रो पालिका

पत्रकार महासंघ धादिङमा को आउला ?

By Dhadingnews.com

March 05, 2014

धादिङ–नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको सातौं अधिबेशन धादिङबेसीमा शुरु भएको छ । अधिबेशनले आगामी तीन बर्षका लागि नयां कार्य समिति चयन गर्ने छ ।

अधिबेशनको उदघाटन कार्यक्रम धादिङ क्षेत्र नम्बर २ का संविधान सभा सदस्य गुरुप्रसाद बुर्लाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । महासंघ धादिङका अध्यक्ष सीताराम वर्माको अध्यक्षतामा शुरु भएको अधिबेशनको उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि वलराम वानिँया,पुर्व सांसद रामनाथ अधिकारी,नेकपा एमाले धादिङका अध्यक्ष खेमप्रसाद लोहनीको आतिथ्य रहेको थियो । यसैगरी नेपाली कांग्रेसका सचिव भक्त लामा,एकीकृत नेकपा माओवादीका विजय बुर्लाकोटी,राप्रपाका कार्यवाहक अध्यक्ष डिलवहादुर तामाङ,नेकपा–माओवादीका द्धारिका सुवेदी,प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल,जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी, उद्योग वाणिज्य संघका अध्यक्ष कल्पना अधिकारी,सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय कोषाध्यक्ष सुवाष खतिवडा,नेपाल मानवअधिकार संगठन धादिङका अध्यक्ष कृष्णप्रसाद दहाल लगायतको आतिथ्य रहेको थियो । त्यसैगरी गैर सरकारी संस्था महासंघका अध्यक्ष दामोदर अर्याल, लोकतान्त्रिक गैर सरकारी सस्था महासंघका अध्यक्ष शिवहरी अधिकारी,प्रेस चौतारी धादिङका अध्यक्ष रामेश्वर कार्की,प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारी र क्रान्तिकारी पत्रकार संघका उपाध्यक्ष रमेश आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको छ । उदघाटन सत्र सकिए लगत्तै शुरु भएको वन्द सत्रमा अहिले संस्थाको आर्थिक तथा कार्य प्रतिवेदन माथि छलफल शुरु भएको छ । प्रतिवेदन माथिको छलफल सकिएपछि नयां समिति चयनका लागि प्रक्रिया शुरु हुने निर्वाचन समितिका संयोजक कृष्ण अधिकारीले बताउनु भएको छ । नेत्तृत्वमा को आउने भन्ने बिषयमा सदस्यहरुका बिच छलफल शुरु भएको छ । सम्भवत सर्वसम्मतवाट नयां नेत्तृत्व चयन गरिने सम्भावना देखिएको छ । अध्यक्ष पदका लागि कार्य समितिका वर्तमान उपाध्यक्ष नवराज छत्कुलीलाई प्रेस चौतारी समर्थक पत्रकारहरुले सिफारिश गरेका छन । युनियका तर्फवाट महासंघका पुर्व अध्यक्ष राजेन्द्रप्रताप शाहलाई अघि सारिने अवस्था बनेको वताईएको छ । क्रान्तिकारी पत्रकार समर्थित सदस्यहरुले समर्थन जस्ले पाउंछ सोही संगठनको जित हुने देखिएको छ । महासंघ धादिङमा हाल १ सय ३३ जना सदस्यहरु रहेका छन ।अधिबेशनको उदघाटन कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालय प्रमुख एवम प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि आतिथ्य रहेको थियो ।