धादिङ – नागरिकलाई हरबखत सूचना र जानकारी पस्किने काममा खटिएको पत्रकारले धेरैका पीडा र कथाव्यथा पनि कोट्याई हिँड्छ ।
तर उसको आफ्नै पीडा र व्यथा कस्तो हुन्छ भन्ने स्वयं उ बाहेक अरुलाई धेरै थाहा हुँदैन ।
दिनरात, चाडपर्व र परिवारको चाहना केही नभई आफ्नो क्षेत्रमा खटिने पत्रकारको जिन्दगी कति पीडादायी हुन्छ भन्ने कुरा बुधबार धादिङमा भएको एक कार्यक्रममा छर्लंग भयो । नेपाल पत्रकार महासंघ
धादिङको अधिवेशन उद्घाटन सत्रमा जिल्लामा कार्यरत पत्रकार सानुबाबु तिमिल्सिनाले पत्रकार शीर्षकमा कविता सुनाए । उनको कविता सुनेर धेरै भावुक भए । कविता सकिएको निकैबेरसम्म पनि तालीको फोहोरा छुट्यो ।
पत्रकार सानुबाबुको ‘पत्रकार’ शीर्षकको कविता यस्तो छ :
न समयमा सुत्न पाइन्छ, न त पाइन्छ खान कता कता के छ भनी, पर्ने खोज्दै जान अरु सामान केही छैन, कलम कापि हुनी के भनेर बयान गरौं, पत्रकारको जुनी ।
सधैं सधैं हिड्नुपर्ने, काँ काँ के छ भनी कहिले त हिड्नुपर्ने, गुप्तचर बनी यसो कुरा बुझ्नेहर्ले, राम्रो पनि मान्छन त्यस्तै काम गर्नेहरु, नराम्रो नि ठान्छन् ।
सकारात्मक खवर दिँदा स्याबास पनि दिन्छन उस्तै खवर पर्न गए भेटी सातो लिन्छन गरेर जस् नी छैन हजुर, नगरेर सुख पत्रकारको जीन्दगानी बित्ने भयो दुःख ।
गोजी हेर्यो खाली मात्र, घरमा पनि त्यस्तै काभकाज नहुँदा नि, हुनुपर्ने व्यस्तै बालबच्चा भन्छन् चाचा, चाइयो मिठो खाना साथीहरुको जस्तै राम्रो, ल्याइदिनुस् न नाना ।
साथीभाई सरहनी, हुनुपर्ने ठिक्क आफ्नै पारा हेर्दा खेरी, आफै भाछु दिक्क ख्याल ख्यालमै यता लाग्यों, छैन अन्त ठाउँ यसो कहिले सोची ल्याउँदा, लाग्छ विदेश जाउँ ।
राम्रो होला भन्दा भन्दै वित्ने भयो जुनी परिवारलाई फकाइराछु, तानाबाना बुनि न त च्यात्त्तै छाड्न सकियो, न अगाडि जान अरु कुरा के गरौं हजुर, समस्या छ खान ।
एकसरो थोत्रा लुगा, चपल पिटिपिटी चाडपर्व केही छैन, एउटै तिथिमिति शनिवार र आइतवारको केही छैन पत्तो पत्रकारको जीन्दगी त, खै के खै के कस्तो ? पत्रकारको जीन्दगी त, खै के खै के कस्तो ?
उज्यालो अनलाइनवाट