वन तथा बाताबरण

अवैध क्रसर बन्द गर्न लिखित निर्देशन

By Dhadingnews.com

March 21, 2014

धादिङ : अवैेध रूपमा सञ्चालन भएका क्रसर तथा बालुला खानी बन्द गर्न जिल्ला अनुगमन समितिले व्यवसायीलाई लिखित निर्देशन दिएको छ। जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेका क्रसर तथा बालुवा खानीहरूका विषयमा विभिन्न सञ्चारमाध्यमले खोजमूलक समाचार बाहिर ल्याएपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला अनुगमन समितिले अवैध क्रसर र खानी व्यवस्थापनका लागि लिखित पत्राचार गरेको हो।

जिल्लाको राजमार्ग क्षेत्र र त्रिशूली नदी तथा सहायक नदी र खोलाहरूमा वर्षौंदेखि एक सयभन्दा बढी क्रसर र बालुवा खानी सञ्चालन हुँदै आइरहेको भए पनि घरेलु तथा साना उद्योग विकास समिति धादिङमा ५० वटा मात्र दर्ता भएका छन्।

अवैध रूपमा सञ्चालन भइरहेका क्रसर र बालुवाखानीका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको संयोजकत्वमा रहेको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गर्दा शिलादेवी रोडा ढुंगा उद्योग भुमेस्थान, चण्डिका क्रसर उद्योग थाँक्रे, वान्लिस्यान्ड वासिङ गोगनपानी र ज्यामरु ङको टारीबेसीमा रहेको क्रसर उद्योगले कुनै पनि निकायबाट अनुमति नलिई अवैध ढंगबाट काम गरिरहेको भेटिएको अनुगमन समितिले जनाएको छ।

उद्योगका रूपमा दर्ता भएका क्रसर तथा बालुवा धुने फिरफिरेले पनि सर्वोच्चको आदेशविपरीत वातावरण विनाश गर्दै आइरहेको पाइएपछि त्यस्ता उद्योगलाई पनि सचेत गराइएको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताएका छन्।

मन्त्रिपरिषद्ले असार मसान्तसम्म कुनै पनि क्रसरको दर्ता नगर्न निर्देशन दिएपछि स्थानीय प्रशासनले जिल्लाभित्रका अवैध क्रसर तथा बालुवाखानीको अनुगमनलाई तीव्र पारेको छ। धादिङ जिल्लाको छत्रेदेउराली, नौविसे, थाँक्रे, भुमेस्थान, गोगनपानी, बैरेनी, पीडा, कुम्पुर, गजुरी, बेनीघाट गाविसमा बालुवा धुने फिरफिरे तथा क्रसर उद्योग सञ्चालनमा रहेको छ।

घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएकामध्ये बेनीघाट ९ मा रहेको सदाज्योति क्रसर उद्योग प्रालि, गजुरी ४ मा रहेको संयोग रोडाढुंगा उद्योग प्रालिले बन्दका लागि समितिमा निवेदन दर्ता गराएको छ भने सीताराम प्रसाईं सञ्चालक रहेको बैरेनी ७ को एसआर स्यान्डवासिङ प्रालि कम्पनीमा मात्र दर्ता भएर बसेको कार्यालयले जनाएको छ।

सर्वोच्च अदालत र मन्त्रिपरिषद्बाट समेत असार मसान्तसम्म नयाँ क्रसर उद्योग दर्ता नगर्न निर्देशन दिएको भए पनि भरतपुर ३ चितवनका बालकृष्ण महर्जन सञ्चालक रहेको निर्माण रोडाढुंगा उद्योग थाँक्रे ३ र गणेशपुर ७ स्याङ्जाका मोती पोखरेलसमेत सञ्चालक रहेको माछापुच्छ्रे रोडाढुंगा उद्योग केवलपुर ६ भने निर्माणाधीन अवस्थामा रहेको छ।

दर्ता भएर मापदण्डविपरीत सञ्चालन भइरहेका र दर्ता नै नगरी करोडौं रु पैयाँको कारोबार गर्दै आइरहेका क्रसर तथा बालुवाखानी माथि छानबिन गरी कारबाही हुनुपर्ने चौतर्फी माग बढ्दै गएको छ। जिल्लामा सञ्चालित अधिकांश बालुवा धुने फिरफिरे तथा क्रसरका कारण त्रिशूली नदीको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगिसकेको छ।

क्रसर तथा बालुवा धुने फिरफिरेका कारण वातावरण विनाश बढ्दै गएको जनगुनासो बढिरहेका बेला जिल्लाका क्रसर तथा बालुवा खानी सञ्चालकहरू व्यवसायी हकहितका निम्ति काम गर्ने साझा संस्थाका रूपमा क्रसर तथा बालुवा व्यवसायी महासंघ दर्ताका लागि स्थानीय प्रशासन पुगेका छन्। संस्था दर्ताका लागि जिल्ला विकास समितिले व्यवसायीलाई सिफारिस दिइसकेको छ।

गाविस र जिविसको सिफारिससहितको पत्र साथमा राखी व्यवसायी महासंघ दर्ताका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका छन्अन्नपूर्ण पोष्ट दैनिकले खवर लेखेको छ ।