राजनीति

धादिङका चारै सभासद्लाई पोखरामा सम्मान गरिने

By Dhadingnews.com

April 08, 2014

 

पोखरा, – नेकपा एमाले धादिङ–पोखरा सम्पर्क मञ्चले धादिङ जिल्लाबाट दोस्रो संविधानसभामा पुगेका चार सभासद् सहित कास्कीका एमाले सभासद्लाई सम्मान गर्ने भएको छ । आगामी चैत २९ गते आयोजना गरिने सम्मान कार्यक्रमका लागि मञ्चले विभिन्न उपसमिति गठन गरेको छ ।

मञ्चका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा बसेको बैठकले सो दिन दोस्रो संविधानसभाबाट निर्वाचित सभासद्हलाई सम्मान गर्ने निर्णय गर्दै तयारीका लागि विभिन्न उपसमिति गठन गरेको हो । तमु धिं कास्कीको सभाहलमा हुने कार्यक्रममा प्रत्यक्ष निर्वाचित सभासद्हरु धादिङ क्षेत्र नं. १ का धनबहादुर घले, क्षेत्र नं. २ का गुरुप्रसाद बुर्लाकोटी, क्षेत्र नं. ३ का सभासद् एवं पूर्व स्थानीय विकास मन्त्री राजेन्द्रप्रसाद पाण्डे तथा समानुपातिक सभासद् पूर्व शिक्षामन्त्री समेत रहेका गंगालाल तुलाधरलाई सम्मान गरिने अध्यक्ष लम्सालले जानकारी दिए । गत मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनबाट धादिङ जिल्लाका तीनै क्षेत्रमा नेकपा एमालेले जीत हात पारेको थियो ।

अध्यक्ष लम्सालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ भने योगप्रसाद सापकोटाको संयोजकत्वमा खाना व्यवस्थापन उपसमिति, दीपक गिरीको संयोजकत्वमा मञ्च सजावट, भुवन पाण्डेको संयोजकत्वमा अतिथि सत्कार, कुमार आचार्यको संयोजकत्वमा यातायात व्यवस्थापन, अर्जुन खतिवडाको संयोजकत्वमा स्वयंसेवक परिचालन, प्रेम थापाको संयोजकत्वमा आर्थिक तथा बेनी पाठकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको हो ।

सो कार्यक्रममा धादिङका पचास वटै गाविसका प्रतिनिधि सहभागी गराईने मञ्चले जनाएको छ । धादिङमा आवश्यक विकास निर्माण तथा पूर्वाधार, पर्यटन र समग्र जिल्लाको विकासका बारेमा सभासद्हरुलाई जानकारी गराउने अध्यक्ष लम्सालले बताए । एमाले छाडेर गएका तथा अन्य पार्टीका कार्यकर्ताहरुलाई सभासद्हरुको हातबाट टीका लगाई पार्टी प्रवेश गराउने कार्यक्रम पनि रहेको सचिव बेनी पाठकले जानकारी दिए ।