हाम्रो पालिका

अवैध बालुवाखानी र क्रसरमा जोडिएका बिजुली लाइनको छानबिन हुने

By Dhadingnews.com

April 08, 2014

धादिङ, – धादिङमा कुटानी तथा पिसानी मिलको अनुमती लिएर गैरकानुनी रुपमा बालुवा उद्योग सञ्चालन गरिरहेको विषयमा नेपाल विद्युत्त प्राधिकरणले छानबिन सुरु गर्ने भएको छ । अवैध रुपमा चलिरहेका बालुवा उद्योगले मिलको अनुमती लिएर विद्युत्त लाइन जडान गरेको समाचार सार्वजनिक भएपछि नेपाल विद्युत्त प्राधिकरण धादिङ शाखाले आफ्ना प्रशाखालाई पत्र पठाई यस विषयमा छानबिन गर्न निर्देशन दिएको हो । प्रशाखाबाट जवाफ आउना साथ गलत ढंगले चलिरहेका बिजुली लाइन बन्द गर्न प्राधिकरण पछि नहट्ने वताईएको छ । धादिङको पृथ्वीराजमार्ग आसपासमा बालुवा धुने फिरफिरे सञ्चालनमा आएपनि सञ्चालकले आफ्नो नाममा कुटानी पिसानी मिल दर्ता गराएर कानुन बिपरित बालुवा उद्योगमा बिद्युत्त लाइन जडान गर्ने गरेको पाइएको हो । बालुवा धुने फिरफिरे दर्ता गर्दा बिक्रीका आधारमा कर तिर्नुपर्ने भएपछि अधिकांशले अवैध ढंगबाट फिरफिरे चलाउन कुटानी पिसानी मिल दर्ता गरेर राजस्व ठगी गर्दै आइरहेका छन् । प्राधिकरणले अवैध बालुवा खानी र क्रसरमा जोडिएका लाइन बन्द गर्न सचेत गराएपछि मिलको अनुमती लिएर गलत ठाउँमा बिजुली प्रयोग गरिरहेकाहरुले बालुवा खानी र क्रसरको छेउमा अस्थायी टहरो निर्माण गरेर मिल राख्ने तयारी गरेको भन्दै प्राधिकराँ र प्रशासनको आँखा छल्न थालेका छन् । घरेलु तथा साना उद्योग विकास समितिमा मिल दर्ता गरी सोही प्रमाण पत्रको आधारमा नेपाल विद्युत्त प्राधिकरणको गजुरी र धार्के प्रशाखावाट अवैध बालुवा तथा क्रसर उद्योगमा नियम विपरित थ्री फेज लाइन जडान गर्ने गरेको पाइएको छ । ‘ग्राहकले मागेको आधारमा उनीहरुले भनेकै ठाउँमा आवश्यक प्रक्रिया पुुरा गरेर विद्युत्त लाइन जडान गरिदिनु प्राधिकरणको दायित्व हो । यदि हामीलाई कसैले झुक्याएर गलत कामको लागि बिजुली जडान गरेको रहेछ भने त्यस्ता लाइन बन्द गर्न तयार छौं,’ नेपाल विद्युत्त प्राधिकरण धादिङ शाखाका प्रमुख मनोजकुमार झाले वताए, ‘हामीलाई प्रशासनले साथ दियो भने गलत ठाउँमा प्रयोग भएका लाइन बन्द गर्नेछौं ।’