कृषि/पशुपालन /सहकारी

फलफूल-तरकारी सदाबहार बजार

By Dhadingnews.com

April 10, 2014

नेपालमा खपत हुने तरकारीमध्ये करीब ८० प्रतिशत अहिले नेपालमा नै उत्पादन हुने गरेको छ । कालीमाटी तरकारी बजारबाट दैनिक १ करोड मूल्यबराबरको कारोबार हुने गरेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जानकारी दिएको छ । कालीमाटीमा मात्र वार्षिक ३ देखि ५ अर्ब रुपैयाँसम्मको तरकारीको कारोबार हुने गरेको समितिले बताएको छ । नेपालमा अहिले २८ देखि ३० लाख मेट्रिक टन तरकारी उत्पादन हुने गरेको समितिका पूर्वकार्यकारी निर्देशक तुलसी गौतमले जानकारी दिएका छन् । यसमध्ये करीब २ लाख मेटि्रक टन कालीमाटी तरकारी बजारबाट नै कारोबार हुने गरेको छ ।

आकर्षण तरकारी खेतीको दीर्घकालीन कृषि योजनामा ६७ प्रतिशत तरकारी नेपालमा नै उत्पादन हुने गरेको उल्लेख भएकोमा हाल करीब ८५ प्रतिशत तरकारी उत्पादन हुन थालेको छ । यसले कृषकहरूको तरकारी खेतीतर्फको आकर्षण बढेको प्रस्ट हुन्छ । अन्नबालीको तुलनामा तरकारी छोटो समयमा नै उत्पादन हुने, बजारमा तुरुन्तै विक्री हुने र फाइदा पनि धेरै हुने भएकाले यस खेती तर्फ कृषकको ध्यान जान थालेको गौतमको भनाइ छ । नेपालमा अहिले २ लाख हेक्टरको हाराहारीमा तरकारी खेती हुने गरेको बताइएको छ ।

माछा, प्याज र कागतीको आयात नेपालमा खपत हुने प्याज, कागती र माछाको ठूलो परिमाण भारतबाट आयात हुने गरेको छ । प्याज र माछा करीब ९५ प्रतिशत, कागती ९० प्रतिशत र भारत र अन्य केही देशबाट आयात हुने गरेको बताइएको छ । यसले नेपालमा नै प्याज, कागती र माछाको उत्पादन हुने सके बजारको सम्भावना राम्रो रहेको देखाउँछ । साथै, करीब ६० प्रतिशत लसुन अहिले पनि चीनबाट आउने गरेको कालीमाटी तरकारी तथा फलफूल विकास समितिका कार्यकारी निर्देशक रुद्रबहादुर श्रेष्ठले जानकारी दिए । नेपाली बजारमा खपत हुने अदुवा र स्याउ पनि ठूलो परिमाणमा चीनबाट आयात हुने गरेको छ । बजारमा आलु भारत र भुटानलगायत देशबाट आउने गरेको उनले जानकारी दिए । मङ्सिरदेखि चैतसम्म ठूलो परिमाणमा हरियो खुर्सानी पनि चीनबाट आयात हुने समितिले बताएको छ ।

साँघुरो भयो कालीमाटी तरकारी बजार राजधानीका लागि तरकारी उपलब्ध गराउँदै आएको कालीमाटी तरकारी बजारमा अहिले ठाउँको अभाव हुन थालेको छ । २०४३ सालमा स्थापना भएको यो तरकारी बजार अहिलेको भार थाम्न नसक्ने अवस्थामा पुगेको यहाँका व्यवसायीले बताए । स्थापनाको समयमा १ सय ४०  थोक व्यापारी अटाउने लक्ष्य राखेर राखिएको थियो । यो बजारमा अहिले करीब ४ सय थोक, ८० खुद्रा, २५ माछा र ८ देखि १० जना फलफूल व्यापारी छन् ।

यसको व्यवस्थापनका लागि केही काम शुरू भएको समितिका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । समितिले हाल बाँसका टहराको सट्टा नयाँ संरचना बनाउने योजना तयार गरेको उनले बताए । यसका साथै चोभारको करीब २५ रोपनी जग्गामा छुट्टै तरकारी बजारको स्थापना गर्ने योजना रहेको पनि श्रेष्ठले जानकारी दिए । समितिले यसमा ठूला व्यापारीलाई लक्षित गरी होलसेल पसल वा गोदाम घर बनाउन लागेको हो । समितिले उक्त कार्य आगामी ३ महीनाभित्रै पूरा गर्ने समेत जानकारी गराएको छ । यसका साथै समितिले तरकारी सङ्कन केन्द्र स्थापनाका लागि धादिङको नौबीसेमा पनि जग्गा खरीद गरेको छ ।

कालीमाटीमा सबैभन्दा बढी तरकारी धादिङबाट आउँछ । यहाँबाट खपत हुने तरकारीमध्ये करीब १८ प्रतिशत धादिङबाट नै आउने गरेको समितिले जानकारी दिएको छ । यसपछि काभ्रे, मकवानपुर, चितवन, बारा, पर्सा, रौतहट सर्लाहीलगायत जिल्लाबाट पनि कालीमाटीमा तरकारी भित्रिने गरेको छ । यसका साथै काठमाडौँवरपरका तरकारी सङ्कलनको केन्द्र पनि कालीमाटी तरकारी बजार नै हो । यहीँबाट तरकारीको मूल्य निर्धारण र वितरण हुने गरेको छ ।

खुल्दै छन् क्षेत्रीय बजारहरू तरकारीको बजार व्यवस्थापनका लागि क्षेत्रीय स्तरका बजार पनि खुल्न थालेका छन् । बुटवल, धरान, झापा, जनकपुर, लालबन्दी, चितवन, पोखरालगायत ठाउँमा तरकारी बजारको स्थापना भइसकेको छ । कतिपय ठाउँमा निजी क्षेत्रबाट पनि कृषि बजारको स्थापना भएको छ । पोखरा र जनकपुरमा निजी क्षेत्रबाट नै कृषि बजारको स्थापना भएको श्रेष्ठले जानकारी दिए । अहिले नेपालभर करीब ८० ओटा तरकारी सङ्कलन केन्द्र रहेका छन् । यसका साथै सहाकारीमार्फ चलेका बजार धेरै रहेको  श्रेष्ठको भनाइ छ । कृषक समूहले सञ्चालन गरेको तरकारी बजारसँग मिलेर काम गर्न सके फलफूल तथा तरकारीको बजरलाई अझ प्रभावकारी बनाउन सकिने उनले बताएका छन् । यसका लागि समितिले  योजना बनाइरहेको श्रष्ठले जानकारी दिए ।

मूल्य परिवर्तन तरकारीको मूल्य निर्धारण अरू सामान्य वस्तुजस्तै त्यसको माग र आपूर्तिमा भर पर्दछ । यसको मूल्य आपूर्ति धेरै भएको समयमा घट्ने र कम भएको तर माग बढेको अवस्थामा बढ्ने गर्दछ । यसबाहेक ढुवानीमा लाग्ने खर्चले गर्दा पनि यसको मूल्यमा असर गर्ने श्रेष्ठले बताएका छन् । काठमाडौँबाहिरको एकबाट अर्को जिल्लामा तरकारी लैजाँदा विभिन्न ठाउँमा जिल्ला प्रशासन कार्यालयले नै पैसा असुल्ने गरेका कारण पनि मूल्यमा फरक पर्ने गरेको श्रेष्ठको भनाइ छ । कृषिजन्य वस्तु एकबाट अर्को जिल्लामा लैजाँदा कर उठाउन नपाइने भए पनि तराईका जिल्लामा जिल्ला प्रशासन कार्यालयले नै यस्तो काम गरेको श्रेष्ठको आरोप छ ।

तरकारीको भण्डारण लामो समयसम्म गर्न नसकिने हुनाले पनि यस्तो मूल्यमा उतारचढाव भइरहने तुलसी गौतमको भनाइ छ । रासायनिक मलको प्रयोग भएको तरकारी लामो समय भण्डारण गर्न झन् कठिन हुने उनको भनाइ छ । यस्तो प्रविधिका लागि धेरै खर्च लाग्ने हुनाले तरकारी लामो समय भण्डारण गर्न नसकिने उनले बताए । बजारमा आएकै समयमा तरकारी बेच्नुपर्ने हुनाले यसको मूल्यमा परिवर्तन भइरहने उनको भनाइ छ ।

प्रशोधन केन्द्रको आवश्यकता नेपालमा तरकारी प्रशोधन केन्द्रको अवश्यकता रहेको श्रेष्ठले औँल्याएका छन् । अहिले समितिले नेपालमा उत्पादन हुने तरकारीलाई कसरी प्रशोधन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेको उनले बताए । नेपालमा उत्पादन हुने गोलभेडा, काउलीलगायत तरकारीलाई कसरी प्रशोधन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्नुपर्नेमा समितिले जोड दिए ।

सुध्रिँदै  छ कालीमाटी तरकारी बजार कालीमाटी तरकारी बजारको सुधारका लागि व्यवसायीहरूकै पहलमा उच्चस्तरीय बजार समितिको स्थापना भएको छ । यसले कालीमाटी तरकारी बजारमा भएका समस्यासमाधानका लागि काम गरिरहेको छ । यसका साथै फोहोर व्यवस्थापन गरिरहेको ठेकेदारले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै नयाँ ठेकेदारलाई काम जिम्मा दिइएको छ । अहिलेको ठेकेदारको काम भने सन्तोषजनक रहेको श्रेष्ठको भनाइ छ ।

फोहोर व्यवस्थापनका लागि एक जनाको मात्र प्रयास सफल नहुने भन्दै यसका लागि मनिटरिङ टीमको स्थापना गरिएको श्रेष्ठले जानकारी दिएका छन् । यसले बजारको अनुगमन गर्ने र तोकिएको ठाउँबाहेक अन्यत्र फोहोर फालिएको देखिएमा इजाजत रद्द गर्नेसम्मको कारबाही गर्ने उनले बताए ।

केरा उत्पादन बढयो नेपाल केरा उत्पादनमा आत्मनिर्भर हुँदै गएको छ । नेपालमा केराको ७ वर्षभत्र झण्डै तीन गुणाले उत्पादन बढेको छ । २०६१/६१ मा स्वदेशी केराले करीब ३० प्रतिशत मात्र बजार लिएकोमा अहिले यो दर ८५ प्रतिशत पुगेको गौतमको भनाइ छ । केरा खेतीमा व्यवसायीकरण हुन थालेकाले यसको बजार बढेको उनको भनाइ छ । अहिले चितवनमा मात्र करीब १२ सय बिगाहामा केरा खेती हुँदै आएको छ ।

अर्ग्यानिक तरकारीको माग बढ्यो रामेश्वर धिताल

उपत्यकामा अर्ग्यानिक तरकारीको माग बढ्दै गएको छ । उपभोक्ता आफ्नो स्वास्थ्यप्रति सचेत हुँदै गएपछि अर्ग्यानिक तरकारीजन्य उत्पादनको माग बढ्दै गएको अर्ग्यानिक वर्ल्ड एण्ड फेयर  फ्युचर प्रालिका प्रबन्ध निर्देशक ऋषि अधिकारीले अभियानलाई बताए । उनले भने, ‘अर्ग्यानिक उत्पादनमध्ये हरियो तरकारीको माग गत वर्षको तुलनामा अहिले करीब १७ प्रतिशतले बढेको छ ।’ देशका अन्य भागभन्दा उपत्यकामा अर्ग्यानिक तरकारीको माग बढी रहेको छ ।

केही मात्रामा यस्ता उत्पादन उपत्यकाबाहिरबाट आउने भए पनि विशेष गरी उपत्यकाकै काठ क्षेत्रमा बढी हुने गरेको छ । व्यवसायीहरूका अनुसार अर्ग्यानिक तरकारी खेती बढी मात्रामा ललितपुरको दक्षिणी किनार लुभु, लामाटार, गोदाबरी, चालनाखेललगायत स्थानहरूमा हुने गरेको छ । तर, उपत्यकामा उपलब्ध दाल, चामल, मह, घिउ, तेलआदि उत्पादन भने उपत्यकाबाहिरबाट समेत आउने गरेको बताइएको छ । यी उत्पादनहरू विशेष गरी काभ्रेपलाञ्चोक, रसुवा, मकवानपुर, जुम्ला, दोलखालगायत जिल्लाबाट ल्याइन्छ । सीमित उत्पादनका कारण माग धान्न मुस्किल भएको अर्ग्यानिक उत्पादन अन्य उत्पादनका तुलनामा केही महँगो हुने दी अर्ग्यानिक भिलेज बखुण्डोल, ललितपुरका प्रबन्ध निर्देशक समीर नेवा बताउँछन् । नेवा आफैंले अर्ग्यानिक फार्म सञ्चालन गर्दै आएका छन् ।

माग बढ्दै गएको अर्ग्यानिक तरकारीका भेराइटी उपलब्ध गराउन नसक्दा व्यवसाय विस्तार गर्न अप्ठ्यारो परेका व्यवसायीहरू बताउँछन् । सीमित क्षेत्र र उत्पादकका कारण यस्ता सामग्रीको मागअनुसार भेराइटी उपलब्ध गराउन समस्या परेको उनीहरूको भनाइ छ । अहिले अर्ग्यानिक तरकारीको माग गत वर्षन्दा बढ्दै गएको नेवाको भनाइ छ ।

अहिले उपत्यकामा अन्य अर्ग्यानिक उत्पादनभन्दा पनि आलु तथा हरियो तरकारीको माग बढी रहेको बताइएको छ । अर्ग्यानिक उत्पादनमध्ये आलुको माग सबैभन्दा बढी रहेको अधिकारी बताउँछन् । अधिकारीको भनाइमा फ्रेश अर्ग्यानिक फार्मका प्रोपाइटर गोबिन्द श्रेष्ठ सहमत छन् । अहिले सुपरमार्केट तथा अर्ग्यानिक पसलहरूमा यस्ता उत्पादन किन्न आउने ग्राहकको सङ्ख्या बढ्दै गएको छ । मानिसहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुन थालेका कारण यस्ता उत्पादनको विक्री बढेको श्रेष्ठ बताउँछन् । श्रेष्ठले बालुवाटरमा फ्रेश अर्ग्यानिक फार्म सञ्चालन गर्दै आएका छन् ।

उपत्यकाका सुपरमार्केटहरूले पनि पछिल्लो समय अर्ग्यानिक तरकारी उपलब्ध गराउन थालेका छन् । यस्ता सुपरमार्केटहरूमा उपलब्ध तरकारीमध्ये अर्ग्यानिक तरकारी करीब २५ प्रतिशत विक्री हुने गरेको भाटभटेनी सुपरमार्केटकी फ्लोर इञ्चार्ज रोशना गुरङ बताउँछिन् । भाटभटेनीबाहेक सीटी सेण्टरलगायत सुपरमार्केटमा पनि अर्ग्यानिक तरकारीको विक्री हुने गरेको छ । व्यवायीहरूका अनुसार नेपालमा उत्पादित अर्ग्यानिक आलु भारतमा समेत पुग्ने गरेको छ । तर, यसको ठूलो परिमाणमा निर्यात भने भएको छैन । नेपालमा पारिवारिक सम्बन्ध भएका केही भारतीयले अर्ग्यानिक आलु पठाइदिन आग्रह गर्ने बताइएको छ ।

अर्ग्यानिक तरकारी अन्यको तुलनामा १५ देखि २० प्रतिशतसम्म महँगो हुने बताइएको छ । अर्ग्यानिक वर्ल्ड एण्ड फेयर फ्युचर प्रालिका प्रबन्ध निर्देशक अधिकारी भन्छन्, ‘अन्य तरकारीभन्दा जति बढी महँगो छ, त्यो हामीले गर्दा भएको होइन । अर्ग्यानिक उत्पादन गरेबापत हामिले उक्त बढी मूल्य किसानलाई नै दिने गरेका छौं ।’ उनका अनुसार किसानसँग अर्ग्यानिक तरकारी किन्दा कालीमाटी तरकारी तथा फलफूल विकास समितिले तोकेको मूल्यमा १५ देखि २० प्रतिशत बढाएर दिने गरेका छौं । ‘बढाइएको उक्त मूल्य वातावरण जोगाउन तथा स्वास्थ्यवर्द्धक उत्पादन गरेबापत किसानलाई दिइएको एक किसिमको पुरस्कार नै हो,’ उनले भने ।

पछिल्लो समय उपत्यकामा अर्ग्यानिक तरकारीको प्रयोग गर्नेमा नेपालीहरू नै बढी भएको बताइएको छ । यसका उपभोक्तामा सबैभन्दा बढी भूपू आर्मी, बौद्ध धर्मावलम्बी र दोस्रोमा डायबिटिजलगायत विभिन्न रोगी व्यक्ति पर्दछन् । यसपछिका उपभोक्तामा विदेशी नागरिक भएको सम्बद्ध व्यवसायीहरू बताउँछन् । अर्ग्यानिक तरकारी स्वास्थ्यवर्द्धक, स्वादिलो र बढी समयसम्म भण्डारण गर्न सकिने हुँदा अहिले यसको माग बढ्दै गएको छ आर्थिक  अभियान दैनिकले  लेखेको छ् । ।