मुख्य समाचार

धादिङका बनै खायो डढेलोले

By Dhadingnews.com

April 14, 2014

धादिङ,१ बैशाख ः चैत महिनाको शुरुवात भए देखिनै धादिङ जिल्लाका वन पाखामा डढेलो लाग्न शुरु गरेकोमा अहिले सम्म पनि रोकिन सकेको छैन । जिल्लामा वन तथा वाताबरण जोगायन सरकारी तथा गैर सरकारी निकायले लाखौं रुपैया खर्च गरेर गाउं गाउंमा जनचेतना अभियान संचालन गरिरहेको भएपनि बर्षेनी डढेलोको कारण वन विनाश हुने गर्दछ । देशभरीमै सबैभन्दा धेरै सामुदायिक वन उपभोक्ता समुह रहेको धादिङ जिल्लामा अहिले सम्म ६ सय ७३ वटा सामुदायिक वन उपभोक्ताको जिम्मामा संरक्षण हुंदै आईरहेको छ । संरक्षण गरिएको सामुदायिक वनको कुल क्षेत्रफल २७ हजार ९ सय ६१ .१५ हेक्टर रहेको छ भने ६९ हजार ६७ घर धुरी उपभोक्ता समुहमा आवद्ध भएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ । सामुदायिब वनको संख्या धेरै भएपनि हरेक बर्ष डढेलोको कारण वन विनाश हुनेक्रममा भने कमि आउन सकेको छैन । चैत ३० गते राती कुम्पुर गाविसको मुक्तीनाथ मन्दिर क्षेत्रको सामुदायिक वनमा लागेको डढेलो । आईतवार सांझ सम्ममा जिल्लाका दुई दर्जन वनमा डढेलो लागि सकेको बन संरक्षणकर्मीहरुको भनाई छ । सुख्खायामका कारण वनमा हरियो घांस नपाउने भएपछि डढेलो लगाएपछि हरियो घांस पलाउने लोभमा धेरैले वनमा आगो लगाउने गरेको भएपनि अहिले सम्म कसैलाई पनि आगजनीको कसुरमा पक्राउ गरी कारवाही नगरेका कारण बर्षेनी डढेलो लगाउने कार्य बढ्दै गएको संरक्षणकर्मी भुमिरमण नेपाल वताउंछन ।

तस्बिरहरु ः केशव अधिकारी