हाम्रो पालिका

धादिङ जिल्लाका नौ औषधि पसल अनुमति नलिई अवैध संचालन

By Dhadingnews.com

April 27, 2014

 

धादिङ,१४ बैशाख – धादिङ जिल्लामा संचालनमा रहेका मध्ये अनुमति नलिई जथाभाबी औषधि बिक्री गरेको भन्दै सरकारले नौ वटा औषधि पसल लाई बन्द गर्न निर्देशन दिएको छ । यसरी बन्द गर्न निर्देशन दिईएका अधिकांश औषधिका पसल अहिले पनि खुलेआम चलिरहेका छन्। मापदण्ड पूरा नगरी औषधिको व्यापार गर्ने यस्ता सञ्चालकबारे जानकार भएर पनि जिल्ला स्थित निकाय भने मौन रहंदै आएको छ । सरकारले पनि अनुगमन गरेको छैन।

सरकारले विगत २० महिनामा काठमाडौंसहित विभिन्न जिल्लाका एक सय २१ वटा औषधि पसललाई बिनादर्ता सञ्चालन गरेको र दर्ता प्रमाणपत्र नवीकरण नगराएको भन्दै बन्द गर्न निर्देशन दिएको थियो। औषधि ऐन, २०३५ अनुसार फार्मेसीसम्बन्धी विशेष तालिम लिएका वा डिप्लोमा इन फार्मेसी पास गरेका व्यक्तिले मात्र औषधि पसल सञ्चालनका लागि औषधि व्यवस्था विभागबाट दर्ता प्रमाणपत्र पाउँछन्।तोकिएको कुनै पनि मापदण्ड पुरा गर्न नसेका औषधि पसलहरुमा नेत्रावती उपचार केन्द्र,दिर्घायु क्लिनिक,महादेवबेसी हस्पिटल,शिवदर्शन अस्पताल,सामुदायिक जनस्वास्थ्य, शुभलाभ पोलीक्लिनिक,किसान एग्रोभेट कन्सर्न,समिना हेल्थ क्लिनिक र त्रिपुरा उपचार केन्द्र रहेका छन । विनादर्ता सञ्चालन भएको भन्दै औषधि व्यवस्था विभागले आर्थिक बर्ष २०६९\०७० र २०७०\०७१ को दोश्रो चौमासिकसम्म बन्द गर्न निर्देशन दिईएको भएपनि सबै औषधि पसलहरु खुलेआम सञ्चालन भईरहेका छन । विभागले वन्द गर्न निर्देशन दिएका औषधि पसलहरुका वारेमा विभागवाट लिखित निर्देशन आएमा स्थानीय प्रशासन र जिल्ला स्वासथ्य कार्यालयले त्यस्ता पसलहरु विधिसम्मत नहुंदा सम्म वन्द गराउन सक्ने जिल्ला स्वास्थ्य कार्यालय धादिङका एक कर्मचारीले वताएका छन ।

तर कतिपय औषधि पसलले प्रमाणपत्रबिना पुरानै नाममा निर्धक्क व्यापार गरिरहेका छन्। कतिपयले भने सरकारलाई झुक्याउन नाम परिवर्तन गर्दै प्रमाणपत्र भाडामा लिएर पनि औषधि पसल चलाइरहेका छन्। औषधि पसलेले नियम मिचेर व्यापार गरिरहेको थाहा पाएर पनि औषधि व्यवस्था विभाग चुपचाप रमिते बनिरहेको छ।