६१ नगरपालिका सिफारिस हुँदै

656 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

govt

काठमाडौं, श्रावण ११ – सरकारले थप ६१ वटा नगरपालिका घोषणाको तयारी गरेको छ । ७२ वटा नगरपालिका घोषणा गरेको तीन महिना नबित्दै नगरक्षेत्र निर्धारण समितिले ६१ वटा नगरपालिकाको खाका तयार गरेको हो ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले गठन गरेको समितितले ७ उपमहानगरपालिकासहितको सिफारिस प्रतिवेदन तयार गरेको छ ।  सिफारिस कार्यान्वयन भए नगरपालिकाको संख्या १ सय ९१ पुग्नेछ । समितीका सदस्य एवं नेपाल नगरपालिका संघका अध्यक्ष डोरमणी पौडेलले सबै जिल्लाबाट सिफारिस संकलन गरेर त्यसलाई अन्तिम रुप दिने काम भइरहेको बताए ।

‘हामीले बनाएको मापदण्डका आधारमा सिफारिस परे/नपरेको हेरेर निर्णय हुनेछ,’ पौडेलले भने । आन्तरिक आम्दानी, जनसंख्या, विभिन्न पूर्वाधार, व्यापारिक क्षेत्र, फोहोरमैला व्यवस्थापनलगायतका क्षमतालाई नगरपालिका बन्ने आधार मानिएको छ ।

समितीले हाल नगरपालिका रहेका धरान, इटहरी, जनकपुर, हेटौडा, भरतपुर, बुटबल र नेपालगञ्जलाई उपमहानगरपालिकाका लागि सिफारिस गर्ने तयारी गरेको सचिवालयका एक अधिकृतले कान्तिपुरलाई बताए । समितिले आगामी मंगलबारसम्मको म्यादभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

समितीले इलाममा देउमाई, मोरङमा लेटाङ-भोगटेनी, सुनसरीमा रामधुनी, भोजपुरमा षडानन्द, सप्तरीमा सप्तकोशी, सिराहामा गोलबजार, सोलुखुम्बुमा दुधकुण्ड नगरपालिकाको प्रस्ताव गरेको छ । धनुषामा गणेशमान-चारनाथ, मिथिला र सबैला सिफारिसमा परेका छन् ।

बारामा महागढीमाई, चरवन्त र सिम्रौनगढ, रौतहटमा गरुडा, महोत्तरीमा बर्दिबास, पर्सामा पोखरिया सिफारिसमा परेका छन् । दोलखामा जिरी, रामेछापमा रामेछाप र मन्थली, सिन्धुलीमा दुधौली, काभ्रेमा कोशीखण्ड, सिन्धुपाल्चोकमा मेलम्ची, तनहुँमा भानु र भिमाद तथा गोरखामा पालुङटारलाई नगरपालिकाका लागि प्रस्ताव गरिएको छ ।

चितवनमा थप दुईवढा माडी र नारायणी प्रस्ताव गरिएको छ । लमजुङमा सुन्दरबजार, स्याङजामा गल्याङ र कपिलबस्तुमा बाणगंगा परेका छन् । दाङमा लमही र त्रिपुर, रुकुममा मुसिकोट, रोल्पामा लिवाङ सिफारिसमा परेका छन् । बर्दियामा सानोश्री र बाँसगढी, बाजुरामा बडीमालिका, कैलालीमा भजनी, सुर्खेतमा भेरीगंगा छन् । कञ्चनपुरमा घोडाघोडी, दोधारा-चादनी र झलारीपिपलाडी, डडेलधुरामा परशुराम र बैतीडीको पाटन पनि नगरपालिकाको सिफारिसमा परेको छ ।

गरपालिका सिफारिसका लागि सरकारले भूगोलका प्राध्यापक केशवानन्द गिरीको संयोजकत्वमा नगरक्षेत्र निर्धारण तथा सिफारिस समिती गठन गरेको थियो । समितीमा मन्त्रालयको नगरपालिका महाशाखा हेर्ने सहसचिव, शहरी विकास मन्त्रालयका सहसचिव, नापी विभागका उपमहानिर्देशक, नगरपालिका संघका अध्यक्ष तथा मन्त्रालयको नगरपालिका शाखाका उपसचिव सदस्य सचिव थिए ।

गाविसरहित उपत्यका

राजधानी रहेको काठमाडौं उपत्यकाको एकिकृत विकासका लागि स्वायत्त मेट्रोसिटीको सिफारिस गरेको समितीले सबै गाविसलाई नगरपालिका बनाउन सिफारिस गरेको छ । सिफारिस अनुसार भौगोलिक रुपमा उपत्यका बाहिर पर्ने ललितपुरका २२ बाहेक अरु गाविस समेटेर १७ वटा थप नगरपालिका बन्नेछ ।

काठमाडौंमा १० नगरपालिकामा गोकर्णेश्वर, दक्षिणकाली, तारकेश्वर, शंखरापुर, चन्द्रागिरी, कागेश्वरी, टोखा र नागार्जुन परेका छन् । ललितपुरमा ४ वटा थपिएकामा बज्रबाराही, कार्यविनायक, गोदावरी र महालक्ष्मी छन् । भक्तपुरमा सुर्यविनायक, चागुनारायण र महामञ्जुश्री-नगरकोट गरी चारवटै नगरपालिका थपिएका छन् ।

काठमाडौंमा ९, भक्तपुर र ललितपुरमा थप ४/४ नगरपालिकाको सिफारिस गरेको हो । दुई महिनाअघिको घोषणामा उपत्यकाका कुनैपनि गाविस नगरपालिका बनेका थिएनन । नयाँ ऐनले दिशानिर्देश गर्ने मेट्रोसिटीमा एकिकृत विकास योजना कार्यान्वयनमा आउनेछ ।

गतवर्षसम्म देशभर ५८ वटा नगरपालिका रहेकोमा गत वैशाखमा ७२ वटा थप घोषणा गरी नगरपालिकाको संख्या १ सय ३० बनाइएको थियो । ६१ थपिएमा नगरपालिकाको कुल संख्या १९१ पुग्नेछ इकान्तिपुर डट कमले खबर लेखेको छ ।  ।