राष्ट्रिय प्राध्यापकको एकाइ भेला सम्पन्न

623 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 पोखरा -नेपाल राष्ट्रिय प्राध्यापक संगठन, पृथ्वीनारायण क्याम्पसको तेस्रो एकाइ भेला शनिबार पोखरामा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भेलाले यादवराज उपाध्यायको अध्यक्षतामा १३ सदस्यीय एकाइ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा ताराराज खनाल, सचिव चन्द्रमणि आचार्य, सह–सचिव नविन अधिकारी, कोषाध्यक्ष राममाया राना र सदस्यहरुमा विपिन अधिकारी, ठाकुरप्रसाद आचार्य, भुपेन्द्र पौडेल, सुवास अधिकारी, राजेन्द्रमणि पौडेल, टिकाराम अर्याल, विष्णुप्रसाद भट्टराई र यामबहादुर राना रहनुभएको छ ।
भेलाले भदौंमा हुने राष्ट्रिय सम्मेलनका लागि १४ जना प्रतिनिधि÷पर्यवेक्षक समेत छनोट गरेको छ । राष्ट्रिय सम्मेलनका प्रतिनिधि÷पर्यवेक्षकहरुमा अर्जुन भण्डारी, ताराराज खनाल, राजेन्द्र तिवारी, चन्द्रमणि आचार्य, यामबहादुर राना, बाबुराम शर्मा, मित्रमणि सुवेदी, विपिन अधिकारी, नविन अधिकारी, यामबहादुर पौडेल क्षेत्री, प्रेम शर्मा, चेतनारायण सुवेदी, उदयराज घिमिरे, टिकाराम अर्याल र विष्णुप्रसाद भट्टराई रहनुभएको छ ।
भेलालाई सम्बोधन गर्दै एकीकृत ने.क.पा. (माओवादी) का केन्द्रीय सल्लाहकार कोमलनाथ बरालले प्राध्यापकहरुको मुल जिम्मेवारी समाज रुपान्तरणमा जनसमुदायलाई दिशानिर्देश गर्ने भएको बताउनुभयो । भेलामा नेता बरालले भन्नुभयो, ‘प्राध्यापक संगठन विशुद्ध पेशागत संगठन मात्र होइन, यसको वैचारिक भूमिका छ, क्रान्तिकारी प्राध्यापकहरुले समाज र जनतालाई दिशानिर्देश गर्न सक्नुपर्छ ।’ पृथ्वीनारायण क्याम्पस पश्चिम क्षेत्रको प्राज्ञिक थलो भएको भन्दै नेता बरालले ‘पोखरालाई लाहुरे र पर्यटकको शहर होइन, अग्रगामी चेत बोक्ने प्राज्ञिकहरुको थलो’ बनाउन जोड गर्नुपर्ने बताउनुभयो । अर्को एक प्रसङ्गमा नेता बरालले राजनीतिले नै समाज र राष्ट्रको समग्र क्षेत्रको नेतृत्व गर्ने भएकाले शान्ति, संविधान र समृद्धिका लागि अग्रगामी राजनीतिक विचार र व्यवस्थाको विजय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एकीकृत माओवादी कास्कीका उपाध्यक्ष गंगाप्रसाद पोखरेलले समाज परिवर्तनको आन्दोलनमा बुद्धिजीवीहरुको भूमिकालाई सही अर्थमा परिचालन गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, बुद्धिजीवी वर्गले नै आन्दोलनको निर्णायक प्रारम्भ गर्दैन, तर कुनै पनि आन्दोलनको विजयका लागि बुद्धिजीवी वर्गको भूमिका निर्णायक नै हुन्छ ।’ कार्यक्रममा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सचिवालय सदस्य हुतराज शर्माले राजनीतिमा विश्वदृष्टिकोणको सवाल निर्णायक हुने भन्दै प्राध्यापकहरुले क्रान्तिकारी विश्वदृष्टिकोण निर्माणका लागि पार्टी र नेताहरुलाई खवरदारी गर्नुपर्नेमा जोड दिनुभयो । शर्माले ‘सर्वहारावर्गीय विश्वदृष्टिकोण, आचरण र नैतिकताले मात्र जनताको सेवा गर्न सम्भव हुने भन्दै वर्गीय पक्षधरता महत्वपूर्ण हुने’मा जोड दिनुभयो । भेलामा कमल ढकाल, नेत्रप्रसाद चापागाइँ, क्षितिज सापकोटा, यादवराज उपाध्याय लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।
एकाइ अध्यक्ष हुतराज शर्माको अध्यक्षतामा सम्पन्न भेलामा एकीकृत माओवादीका जिल्ला समिति सदस्य मनहरि तिमिल्सिना, पोखरा विश्वविद्यालयका रजिष्टार प्रा.डा. मानबहादुर केसी, प्रा.डा. विश्व श्रेष्ठ, सहायक क्याम्पस प्रमुख डा. यामबहादुर पौडेल क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।