फेवाताल किनारको रेष्टुरेन्ट पहिरोमा बग्दा धादिङका राम सहित तीनको ज्यान गयो

630 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रञ्जन अधिकारी
पोखरा,

आईतबार राति आएको पहिरोले कास्की पुम्दीभुम्दी– १, अनदु स्थित फेवातालको किनारमा रहेको रेष्टुरेण्ट बगाएपछि बेपत्ताको खोजी गर्दै नेपाल प्रहरी लगायत सुरक्षाकर्मी टोली
आईतबार राति आएको पहिरोले कास्की पुम्दीभुम्दी– १, अनदु स्थित फेवातालको किनारमा रहेको रेष्टुरेण्ट बगाएपछि बेपत्ताको खोजी गर्दै नेपाल प्रहरी लगायत सुरक्षाकर्मी टोली

पोखराको फेवाताल किनारमा रहेको रेष्टुरेण्टलाई पहिरोले बगाउँदा तीन युवाको ज्यान गएको छ । एक जना बेपत्ता छन् । कास्कीको पुम्दीभुम्दी– १, अनदु स्थित फेवातालको किनारमा सञ्चालित टिपिकल रेष्टुरेण्ट एण्ड लज आईतवार राति पहिरोसँगै बगेको हो । मृत्यु हुने तथा हराउने सबै त्यहाँ कार्यरत मजदुर हुन् ।

पहिरोमा पुरिएका धादिङ कल्लेरीका २२ बर्षिय राम मगर, ओखलढुङ्गा गामलाङटारका २८ बर्षिय प्रकाश मगर, र सिन्धुली आङसाङ–९ का १८ बर्षिय मोहन मगरको शब पहिरोले पुरेको अवस्थामा निकालिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्त कुमार लामाले जानकारी दिए । रेष्टुरेण्ट सञ्चालक रामेछाप सैवु ६ का गोकुल मगरका भाई १८ बर्षिय भुवन मगरको अवस्था भने अज्ञात रहेको छ । सोमबार दिनभर सुरक्षाकर्मी टोलीले खोजी गरेपनि राति अबेरसम्म उनको पत्ता लाग्न सकेन । मृतक तीन जनाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको अस्पतालका प्रहरी हवल्दार सुजन घिमिरेले जानकारी दिए । मृतकका परिवार पोखरा आईनसकेको उनले बताए ।

आईतबार रातभर मुसलधारे बर्षासँगै आएको पहिरोेबारे उज्यालो भएपछि मात्रै जानकारी पाएको स्थानीयबासीले बताए । पहिरोमा परेकाको उद्धारको लागि प्रहरी, शसस्त्र, नेपाली सेना तिन ओटै सुरक्षा फौजका सय भन्दा धेरै बिहानैदेखि खटिएका थिए । ताल पारी रहेकाले घटनास्थलसम्म उद्धार टोली आवातजावतको लागि शसस्त्र प्रहरी र नेपाली सेनाको मोटरबोट प्रयोग गरिएको थियो ।

होटल सञ्चालक गोकुल मगर भने राति तालवारी रहेकाले बाच्न सफल भएका छन् । तालको करिब ५ मिटर मात्रै दुरीमा स्थानीय बत्तीबहादुर गुरुङ्गको घरमा मगरले बिगत आठ बर्षदेखि रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । पहिरोबाट ३ कामदार सहित भाई गुमाएका उनले आफ्नो मात्रै झण्डै ७० लाख रुपैयाँको क्षति भएको बताएका छन् ।

यसैबीच, नजिकैबाट पहिरो गएपछि प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक विश्व शान्ति स्तुपा पनि खतरामा परेको छ । स्तुपा प्राङ्गणको पर्खाल भन्दा पाँच फिट नजिकै पहिरो गएकाले तत्काल संरक्षणको पहल नभए थप वर्षा भएमा पहिरोले पर्खालै भेट्ने स्थानीयबासीले बताएका छन् । बर्षाको समयमा पानी बग्ने खोल्सो अतिक्रमण गरी ताल किनारमै संभाबित जोखिमको ख्यालै नगरी संरचना बनाएकाले यति ठुलो क्षति भएको जानकारहरु बताउँछन् ।

यस्तै, आईतबार रातिको भिषण बर्षाको कारण पुम्दीभुम्दी गाविसको वडा नं. १ मै माथिबाट आएको पहिरोले घर पुर्दा तीन जना घाइते भएका छन् । पहिरोमा परी १४ वर्षका कवि गुरुङ , प्रणेश गुरुङ र १८ वर्षका सुर्य गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेहरुको पोखराको नमस्ते अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै पोखरा उपमहानगरपालिका – ६ बुलौदी स्थित स्थानिय बुलौदी खोला किनारको जमिन भाँसिदा दुई ओटा घर जोखिममा परेका छन् । आईतवार राति भएका यी सबै घटना पहिल्यै जोखिम क्षेत्र भित्र थिए । मुख्यतः गुप्तेश्वर महादेव गुफा माथिका संरचना सहित संकटग्रस्त क्षेत्र भनि पहिल्याएका पोखराका अन्य स्थानमा बसेका बस्तीबारे समयमै सोच्नु जरुरी छ ।