राष्ट्रिय मानवाधिकार आयोगको अध्यक्षमा शर्मा

682 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

anupraajकाठमाडौँ, – संवैधानिक परिषद्ले राष्ट्रिय मानवाधिकार आयोगको अध्यक्षमा पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षमा विहीवार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले लामो समयदेखि रिक्त मानवाधिकार आयोगको अध्यक्षमा शर्मासहित अन्य सदस्यहरुको नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले सदस्यमा प्रकाश वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौडेललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले बताउनुभयो ।

आयोगको अध्यक्षमा सिफारिस हुनुभएका निडर र हक्की स्वाभावका शर्मा २०६६ माघ २८ देखि चैत १२ सम्म प्रधानन्यायाधीश हुनुभएको थियो भने वकालत तथा प्राध्यापनमा संलग्न प्रकाश वस्तीसँग सर्वाेच्च अदालतमा अस्थायी न्यायाधीशका रुपमासमेत काम गरेको अनुभव छ ।

सुदीप पाठक यसअघि सोही आयोगको सदस्य र मोहना अन्सारी राष्ट्रिय महिला आयोगको अध्यक्ष रहिसक्नुभएको छ भने गोविन्द शर्मा पौडेल वरिष्ठ अधिवक्ताका रुपमा परिचित हुनुहुन्छ ।

रिक्त रहेका अन्य संवैधानिक निकायमा परिषद्को आगामी बैठकबाट नियुक्त गरिने उपप्रधानमन्त्री गौतमले जानकारी दिनुभयो ।

परिषद्को आगामी बैठक प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिई स्वदेश फर्केपछि यही असोज १९ गते बिहान ९ बजे बस्ने तय भएको छ ।