‘दुखेको देश’ सार्वजनिक

700 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, -गीतकार शिव सुवेदीको शब्द सङ्गीतमा तयार पारिएको गीत ‘दुखेको देश’ सार्वजनिक भएको छ ।

गीतकार सङ्घ नेपालद्वारा आईतवार यहाँ आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी, नेकपा (एमाले)का नेता रवीन्द्र अधिकारी र एनेकपा माओवादीका नेता खिमलाल देवकोटाले संयुक्तरुपमा सो कृति सार्वजनिक गर्नु भएको हो ।

मुलुकले संविधान नपाउने अवस्था नजिक आइरहेको बेलामा दोस्रो संविधानसभाबाट करोडौँ खर्च गरेर देशको अवस्था अक्रान्त बनाइएको यथार्थ घटनाक्रमलाई चित्रण गरी गीतकार सुवेदीले दुखेको देशमार्फत नेताहरुलाई खबरदारी गर्नुभएको छ ।

कार्यक्रममा एमालेका नेता अधिकारीले राजनीतिक दलहरु देशप्रति चिन्तित हुनुपर्ने बताउनुभयो । एमाओवादीका नेता खिमलाल देवकोटाले दीर्घरोगी नेताका कारण जनताले देशको नीति नियम स्पष्ट बोल्न नसकेका कारण देशले दुःख बेहोर्नु परेको बताउनुभयो ।

काँग्रेसका नेता भण्डारीले मुलुकमा भएका नेताको स्पष्ट नीति नियम बन्न नसकेको कारण सम्पूर्ण नेपाली र नेपालका सीमाहरु आक्रान्त बनिरहेको छ भन्नुभयो ।

सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहालले कलाकार, गायक, गायिका एवम् सम्पूर्ण नेपाली आज सचेत बन्दै अघि बढ्नुपर्ने औंल्याउनुभयो ।

गायक बद्री पङ्गेनीले मुलुक जोगाउन सच्चा नेताहरुको नयाँ पार्टी बन्नुपर्ने अवस्था आएको बताउनुभयो । गायक पङ्गेनी, पशुपति शर्मा र जुना श्रीषले दुखेको देशमा रहेको गीत गाएर सुनाउनुभएको थियो ।