अफगानिस्तानमा एकताको सरकार गठनबारे भएको सम्झौताका प्रमुख बुँदा

623 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काबुल, -अफगानिस्तानमा राष्ट्रपति पदको निर्वाचनका प्रमुख उम्मेदवार अस्रफ घानी तथा अब्दुल्लाह अब्दुल्लाहबीच राष्ट्रिय एकताको सरकार गठन गर्ने विषयमा एक सम्झौतामा हस्ताक्षर भएपछि उक्त निर्वाचनका विषयमा भएका विवादका कारण देखिएको तीन महिनासम्मको अवरुद्धपना आइतबार अन्त्य भएको छ ।

कसरी शक्ति साझेदारी गर्ने भन्ने विषयमा धेरै प्रश्न उठाइए पनि अमेरिकी विदेशमन्त्री जन केरीको नेतृत्वमा भएको आपत्कालीन वार्तामा उक्त सम्झौता देखा परेको हो । यी दुई नेताबीचको विवादले मुलुक सन् १९९० को दशकको गृहयुद्धको अवस्थामा फर्कने जोखिम देखापरेको थियो ।

उक्त सम्झौताअनुसार घानी आउँदो राष्ट्रपति हुनुहुनेछ भने अब्दुल्लाहले नयाँ प्रमुख कारीकारी अधिकृतको पदमा मनोनयन गर्नुहुनेछ ।

एएफपीलाई प्राप्त सम्झौताको प्रतिअनुसार दुई वर्षको समयमा संविधान संशोधन गर्न तथा राष्ट्रपति अन्तर्गत रहने प्रधानमन्त्रीको नयाँ भूमिका तय गर्न बहृत्सभा – लोया जिर्गाको बैठक बस्नेछ र त्यसमा छलफल हुनेछ ।

लोया जिर्गाले संविधान संशोधन नगरेसम्म प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनेछन् र निजले कार्यवाहक प्रधानमन्त्रीको काम गर्नेछन् ।

निर्वाचनको नतिजामा दोस्रो स्थान प्राप्त गर्ने उम्मेदवारले प्रमुख कार्यकारी अधिकृतको मनोनयन गरी नियुक्त गरिनेछ र त्यसमा राष्ट्रपतिले समर्थन जनाउनेछन् ।

मन्त्रिपरिषद्को बैठकको नेतृत्व राष्ट्रपतिले गर्नेछन् र प्रमुख कार्यकारी अधिकृतले मन्त्रिपरिषद्को साप्ताहिक बैठकको अध्यक्षता गर्नेछन् ।

राष्ट्रपति तथा प्रमुख कार्यकारी अधिकृतले सुरक्षा, अर्थतन्त्र, स्वतन्त्र संस्था तथा राष्ट्रिय सुरक्षा परिषद्मा समान भाग पाउनेछन् ।

आउँदो वर्ष संसदीय निर्वाचनपूर्व निर्वाचन प्रणालीमा सुधार हुनेछ । हालको निर्वाचनमा देखिएका धाँधली हटाउन विद्युतीय परिचयपत्र उपयोगमा ल्याइनेछ ।