क्यान्सरका चार हजार छ सय नयाँ रोगी थपिए

529 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चितवन, – चितवनको भरतपुरमा रहेको क्यान्सर अस्पतालमा एक वर्षमा चार हजार ६०० नयाँ क्यान्सरका रोगी फेला परेका छन् ।

गएको एक वर्षमा उपचारका लागि आएका करिब २५ हजार बिरामीमध्ये चार हजार ६०० जनालाई क्यान्सर लागेको अस्पतालका सहायक प्रमुख जनस्वास्थ्य अधिकृत भोला शिवाकोटीले जानकारी दिनुभयो ।

सीमित स्रोत साधनका बाबजुद पनि अघिल्लो वर्षको भन्दा क्यान्सरका रोगीको सङ्ख्या पनि बढेको र उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि वृद्धि भएको शिवाकोटीले बताउनुभयो ।

“यहाँ अझै क्यान्सरका रोगीहरू बढ्ने थिए तर सीमित शैय्या र शल्यक्रिया कक्ष सीमित हुँदा सबैले सेवा पाउन सकेनन्”, शिवाकोटीले भन्नुभयो । अहिले अस्पतालमा १८२ बेडमात्रै रहेको छ तर बिरामीको चाप भने बढ्दो छ ।
–ः १३ ः–

अस्पतालमा हाल २०० बेड निर्माणाधीन रहेको भए पनि आर्थिक अभावले समस्या परिरहेको अस्पतालले जनाएको छ । अस्पतालले दिएको तथ्याङ्कअनुसार गएको वर्ष बहिरङग सेवामा ९५ हजार ३०० जना बिरामीले सेवा पाएका छन् । जसमा २५ हजार नयाँ बिरामी आएका थिए ।

दुई वर्षको तथ्याङ्क विष्लेषण गर्दा एक वर्षमा यो अस्पतालमा करिब तीन हजार बढी सर्वसाधारणले सेवा लिएकामा ३०० नयाँ बिरामी अस्पतालमा बढेको देखिएको छ ।

तथ्याङ्कअनुसार सबैभन्दा बढी फोक्सोको क्यान्सर फेला परेको छ । यस्तै दोस्रो नम्बरमा महिलाको पाठेघरको क्यान्सर र तेस्रोमा स्तन क्यान्सरका रोगी फेला परेको क्यान्सर अस्पतालले जनाएको छ ।

मुख्यगरी ढिला गरी अस्पताल आउने गरेकाले उपचारमा समस्या परेको अस्पतालका अधिकृत शिवाकोटीले बताउनुभयो ।

सन् २०१२ मा विश्वमा एक करोड ४१ लाख मानिसमा क्यान्सर भएको थाहा भएको र त्यसमध्ये ८२ लाखको ज्यान गएको उल्लेख छ । पछिल्ला चार वर्षको तथ्याङ्कले बर्सेनि क्यान्सर रोगका बिरामीको सङ्ख्या ११ प्रतिशतले बढ्दै गएको र यही दरमा बढ्दै गए सन् २०२० सम्ममा एकै वर्षमा क्यान्सरका कारण एक करोड मानिसले ज्यान गुमाउनु पर्ने अध्ययनले देखाएको छ ।

मृत्यु हुनेमध्ये ७० प्रतिशत मानिस नेपाल जस्ता कम विकसित र कम आय भएका मुलुकका नागरिक हुने गरेको पनि तथ्याङ्कमा उल्लेख छ ।