विमला तामाङ पुरस्कृत

571 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । १७ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालकोतर्फबाट कास्य पदक विजेता धादिङकी विमला तामाङलाई दामन पाख्रिन स्मृति प्रतिष्ठानले ३५ हजार नगदसहित पुरस्कृत गरेको छ ।

बुधबार आयोजित कार्यक्रममा तामाङलाई नगद तथा सम्मानपत्र प्रदान गरिएको हो । प्रतिष्ठानका संरक्षक एवम् सभासद दिलमान पाख्रिनले सो पुरस्कार प्रदान गर्दै तामाङले प्राप्त गरेको सफलताले सम्पूर्ण देश र जनताको गौरव बढाएको धारणा राख्नुभयो ।

सभासद् बहादुरसिंह लामाले खेलकुद क्षेत्रमा क्रियाशील खेलाडीले खेल्ने अन्तर्राष्ट्रिय खेल र त्यसमा प्राप्त गर्ने सफलताले विश्व परिवेशमा मुलुकको पहिचान बन्ने भन्दै राष्ट्रले त्यस क्षेत्रमा आवश्यक लगानी बढाउनपर्नेमा जोड दिनुभयो ।

अर्का सभासद तीर्थ लामा र नेपाली काँग्रेस धादिङका क्षेत्रीय सभापति राजु पाख्रिनले धादिङकी चेली तामाङले प्राप्त गरेको पदकले नेपालको मात्र नभएर दक्षिण एसियाकै प्रतिष्ठा उचो बनाएकामा खुसी व्यक्त गर्नुभयो ।

खेलाडी तामाङले नेपाल ओलम्पिक कमिटी र आफ्नो गुरु ध्रुवबिक्रम मल्लको सहयोगले सो प्रतिस्पर्धामा सहभागी भई देशको लागि केही गर्न सकेकामा आफू गौरवान्वित भएको बताउनुभयो ।