सार्क सम्मेलनको तयारी युद्धस्तरमा गर्न प्रधानमन्त्रीको निर्देशन

506 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को १८ औं शिखर सम्मेलनको तयारी युद्धस्तरमा गर्न प्रधानमन्त्री सुशील कोइरालाले तयारी समितिका संयोजक एवम् पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको १८औं सार्क शिखर सम्मेलन तयारी मूल समितिको बैठकमा प्रधानमन्त्री कोइरालाले सो निर्देशन दिनुभएको हो ।

बैठकमा सम्मेलन तयारीको सम्बन्धमा हालसम्म भएका कार्यहरुको समीक्षा भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । सम्मेलन सफल बनाउन गठन गरिएका विभिन्न विषयगत समितिका संयोजकले आ–आफ्नो समितिले सम्बन्धित क्षेत्रमा गरेका कामको प्रगति विवरण पेस गर्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री कोइरालाले सार्क सम्मेलन तथा सार्क घोषणापत्रमा समावेश गर्नुपर्ने विषय र बुँदाका सम्बन्धमा पनि प्रकाश पार्नुभएको थियो । प्रधानमन्त्रीले सार्क सम्मेलन मुलुकको प्रतिष्ठासँग पनि गाँसिने भएकाले मुलुकको छविलाई ध्यानमा राखी हरेक काम चुस्त र दुरुस्त ढङ्गले सम्पन्न गर्न समितिका सदस्यलाई निर्देशन दिनुभएको थियो ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमलगायत मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखलगायत सार्क सम्मेलनसँग सम्बन्धित सरकारी निकायका पदाधिकारीको उपस्थिति थियो । सार्कको १८ औं शिखर सम्मेलन आगामी मङ्सिरमा काठमाडौँमा हुँदैछ ।