रोजगारीका लागि यूएई जान चाहनेले जान्नै पर्ने कुरा

615 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

UAE

आवश्यक योग्यता र पूर्व तयारी 

  • रोजगारीका लागि यूएई जान चाहने व्यक्तिको उमेर १८ वर्ष पुगेको हुनुपर्दछ ।
  • वैदेशिक रोजगारमा कामदार पठाउने इजाजत लिएको मान्यता प्राप्त म्यानपावर कम्पनीबाट मात्र प्रकृया अघि बढाउनु पर्दछ । अलपत्र पर्नेगरी हतारमा कहिल्यै पनि वैदेशिक रोजगारीमा जानु हुन्न ।
  • आम्दानी र लागत खर्चका बारेमा थाहा पाउनुहोस् । कतिपय अवस्थामा आम्दानी भन्दा धेरै लागत पर्न सक्छ । यसमा सचेत रहनुहोस् ।
  • कुनै न कुनै सीप सिकेर सोही अनुसारको काममा मात्र यूएई जानु पर्दछ । नत्र त्यहाँ धेरै गाह्रो र थोरै कमाई हुने काम मात्र पाइन्छ । सीप सिकेर सोही अनुसारको काममा जाँदा कमाई राम्रो हुन्छ ।

लाग्ने लागत खर्च

  • रोजगारीका लागि यूएई जाने व्यक्तिले बढीमा रु ७० हजार रकम तिर्नुपर्दछ । यो अधिकतम लागत खर्च हो । यसमा भिसा शुल्क र हवाई टिकट वापतको रकम समावेश गरिएको हुन्छ ।
  • कतिपय कम्पनिले निःशुल्क भिसा र हवाई टिकट दिएका हुन्छन् । त्यस्तो भएमा लागत खर्च थोरै मात्र लाग्दछ ।
  • लागत खर्च भन्दा धेरै रकम कसैले मागेमा बैदेशिक रोजगार विभागमा उजुरी दिनुपर्दछ ।

विदेश उड्नु अघि

  • काम गर्न विदेश जानु अघि अनिवार्य रुपमा दुई दिनको अभिमुखिकरण तालिम लिनु पर्दछ । यस्तो तालिम लिन रु ७ सय लाग्दछ । यो तालिमको प्रमाणपत्र बनाएर ल्याइदिने तर तालिम लिनु नपर्ने भनेर तपाईलाई कतिपय म्यानपावर कम्पनी वा एजेण्टले भन्न सक्छन् । तालिम लिएर मात्र विदेश जानु पर्दछ ।
  • वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा रु १ हजार तिर्नुपर्दछ । कथम्कदाचित् विदेशमा कुनै भवितव्यमा परेमा यहि कोेषबाट क्षतीपूर्ती तथा राहत पाउन सकिन्छ ।
  • वैदेशिक रोजगारीमा जाने व्यक्तिले अनिवार्य रुपमा जीवन बिमा गर्नुपर्दछ । सम्झौता अवधिमा कामदारको मृत्यु भएमा वा अङ्गभङ्ग भएमा नेपालमा बिमा गरिएको कम्पनिमा ५ लाख सम्मको बिमा दावी गर्न सकिन्छ ।
  • सरकारद्धारा मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य जाँच गराउनु पर्दछ ।
  • वैदेशिक रोजगारीमा यूएई जाँदा सम्झौता गरेर जानु पर्दछ । त्यस्तो सम्झौता म्यानपावर कम्पनीहरुले दिन्छन् । त्यस्तो सम्झौता पत्रको एक प्रति घरमा राखेर मात्र विदेश जानु पर्दछ । यसले विदेशमा सो अनुसार काम र तलव नपाइएमा उजुरी गर्न र क्षतीपूर्ती भराउन ठूलो मद्धत पुग्दछ ।
  • म्यानपावर कम्पनीले बढीमा तीन महिना भित्रमा विदेश उडाइसक्नु पर्दछ ।

विदेश जाने क्रममा

  • विदेश जाँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मात्र उड्नु पर्दछ । कुनै कारणवस विदेशका कुनै विमानस्थलबाट जानु पर्ने भएमा वैदेशिक रोजगार विभागबाट त्यसको स्वीकृति लिएको हुनु पर्दछ ।
  • चुरोट, खैनी, मर्चा, भाङको दाना जस्ता कुरा साथमा लिएर जानु हुँदैन । यस्ता कुरा साथमा फेला परेमा कानूनी झमेलामा पर्न तथा जेलमा पर्न सकिन्छ । त्यसैले होसियार रहनुहोस् ।
  • जाँदा साथमा यूएईको मुद्रा दिरहाम केहि बोकेर जानुहोस् । यसले तपाईलाई त्यहाँ पुगेपछि केहि समय चलाउन आवश्यक पर्ने रकम हुन्छ ।

यूएईमा बस्दा ध्यान दिनुपर्ने कुरा

  • यूएईमा धर्ना जुुलुस गर्न र मजदुर संगठन निर्माण गर्न बन्देज लगाइएको छ । तसर्थ सो काम गरेमा त्यसलाई गैरकानूनी मानिन्छ र कडा कारवाहीमा पर्न सकिन्छ ।
  • यूएई मुस्लिम देश हो । त्यसैले त्यहाँको कानून सोही अनुसारको हुन्छ । रोजगारीका लागि यूएई जानुपूर्व त्यहाँको कानूनका बारेमा राम्रोसँग जानकारी लिएर मात्र जानु पर्दछ ।
  • यूएईमा सडकहरु निक्कै फराकिला र तिव्र गतिमा गाडी गुड्ने भएका कारण सडक पार गर्दा विशेष ध्यान दिनुपर्दछ ।
  • यूएई निक्कै गर्मी मुलुक हो । त्यसैले त्यहाँ बस्दा प्रसस्त मात्रामा पानी पिउने गर्नुपर्दछ । चर्को घाममा बाहिर काम गरेर फर्केपछि राती सुत्दा धेरै चिसो बनाएर सुत्नु हुन्न ।

तलव तथा अन्य सुविधा

  • यूएईमा काम गर्न जाने कामदारका लागि न्यूनत तलव निम्नानुसार तोकिएको छः
  • अदक्ष कामदारः कम्तिमा मासिक तलव ८ सय दिरहाम (नेरु लगभग १८ हजार)
  • अर्धदक्ष कामदारः कम्तिमा मासिक तलव १ हजार दिरहाम(नेरु लगभग २३ हजार ५ सय)
  • दक्ष कामदारः कम्तिमा मासिक तलव १२ सय दिरहाम(नेरु लगभग २८ हजार हजार १ सय)
  • अति दक्ष कामदारः ५ हजार दिरहाम(नेरु लगभग १ लाख १७ हजार)
    यसमा सवै कामदारलाई खाना भत्ता थप ३ सय दिरहाम रोजगारदाताले दिनुपर्दछ । अति दक्ष कामदारका लागि भनें खाना भत्ता ५ सय दिरहाम हुने व्यवस्था छ ।
  • यूएईको श्रम कानून अनुसार दैनिक ८ घण्टाका दरले हप्तामा बढीमा ४८ घण्टा भन्दा धेरै समय काममा लगाउन पाईंदैन ।
  • साप्ताहीक रुपमा एक दिन तलवी विदा दिनु अनिवार्य छ ।
  • अतिरिक्त समय काम गरेको ओभरटाइम भत्ता पाइन्छ ।
    एक वर्ष पूरा गरी नेपाल फर्किदा कम्पनीले उपादान दिनु पर्दछ ।

सम्झौता अवधि सकिएर नेपाल फर्किंदा

  • नेपाल फर्किन रोजगारदाताको अनुमति चाहिन्छ । यूएईमा आफुखुशी कम्पनी फेर्न पाइन्न । त्यसरी कम्पनी छोडेमा गैरकानूनी भइन्छ र धेरै झण्झटमा फस्नु पर्दछ । घर फर्किंदा रकम मात्र खर्च हुन्न, दुःख पनि धेरै पाइन्छ ।
  • रोजगारदाताले सम्झौता विपरितको काममा लगाएमा, अत्याचार गरेमा, तलव नदिएमा वा अन्य कुनै समस्या उत्पन्न गरी विवाद भएमा कामदारले यूएईको श्रम विभागमा उजुरी गर्न पाउँछन् ।
  • यूएईको अबुधावीमा नेपाली दुतावास रहेको छ । समस्यामा परेमा मद्धत माग्न दुतावासमा जानु पर्दछ ।
    यूएई स्थीत नेपाली दुतावासको ठेगानाः
    अबुधावी
    फोन नम्वरः ९७१ २ ६३४ ४७ ६७
  • सम्झौता सकिएर नेपाल फर्किदा रोजगारदाता कम्पनीले हवाई टिकट दिनु पर्दछ ।
  • कुनै समस्यामा परेर नेपाल फर्किनु परेमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन वोर्डले क्षतीपूर्ती भराउने काममा मद्धत गर्दछन् । यसमा पिपुल्स फोरम, प्रवासी नेपाली समन्वय समिति, पौरखी, ओरेक नेपाल जस्ता संघसंस्थाबाट सहयोग लिन सकिन्छ ।
  • तपाई वैदेशिक रोजगारीमा जाने विचार गर्दै हुनुहुन्छ भनें तपाईको नजिकै कुनै सुचना केन्द्र छन् भनें त्यहाँ गएर सम्पूर्ण जानकारी लिनुहोस् । जिल्ला प्रशासन कार्यालयमा राहदानी(पासपोर्ट) बनाउन गएको ठाउँमा पनि त्यस्तो सुचना दिने विभिन्न सरकारी, गैरसरकारी संघसंस्थाका प्रतिनिधि हुनसक्छन् । उनीहरुको खोजि गर्नुहोस् र राम्रोसँग जानकारी लिएर मात्र वैदेशिक रोजगारीमा जाने प्रकृया अघि बढाउनुहोस् । यसले सम्भावित जोखिमबाट बच्न सकिन्छ ।

तपाईलाई थप जानकारी आवश्यक परेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, काठमाडौंको टोल फ्रि नम्वर १६६०१ ५०००५ मा अथवा वैदेशिक रोजगार विभागको हटलाइन ०१४११२३५०(हटलाइन)मा सम्पर्क गर्न सक्नुहुन्छ ।
(यो जानकारी सेण्टर फर द स्टडि अफ लेवर एण्ड मोविलिटी, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग, पीएनसीसी, जिफण्ट तथा ओरेक नेपालका प्रकाशनहरुबाट तयार पारिएको हो ।)

-देश परदेश डट कमवाट