सुन्दरी उमावि आगिन्चोकको पुस्तकालयलाई पुस्तक सहयोग

906 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हरी पन्त

आगिन्चोक-,३१ असोज -धादिङ जिल्लाको उत्तरी क्षेत्र आगिन्चोक गाविस वडा नं. ६ छाप्थोकमा रहेको श्री सुन्दरी उच्च माविको पुस्तकालयलाई करिब ५७ हजार बराबरको पुस्तक हालै प्रदान गरिएको छ ।

1625471_682753735154804_7185843279125700798_n विद्यालयका पूर्व विद्यार्थी समाजले उक्त पुस्तक प्रदान गरेको हो । समाजका अध्यक्ष सरोज शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बुर्लाकोटी र प्रधानाध्यापक होमप्रसाद सिटौलालाई संयुक्त रुपमा उक्त पुस्तक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुर्लाकोटीले शिक्षाको विकासका लागि पूर्व विद्यार्थी समाजले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्नुभयो । विद्यालयका प्रधानाध्यापक होमप्रसाद सिटौलाले पुस्तकालयका लागि पुस्तक सहयोग गरेर पूर्व विद्यार्थी समाजले विद्यालय तथा यस क्षेत्रकै शैक्षिक विकासमा महत्वपूर्ण टेवा पर्याएको भन्दै खुसी व्यक्त गर्नुभयो । पूर्व विद्यार्थी समाजका अध्यक्ष सरोज शर्माले आफूहरुले अध्ययन गरेको विद्यालय र त्यसमा स्थापित पुस्तकालयका लागि केही सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको र विद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि सबैले सहयोगी हात अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद वुर्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व विद्यार्थी समाजका पदाधिकारीहरु, विद्यालयका शिक्षक–शिक्षिकाहरु, विद्यार्थीहरु, राजनीतिक नेता एवं सामाजिक व्यक्तित्वको सहभागिता रहेको विद्यालयका प्र.अ. होमप्रसाद सिटौलाले जानकारी दिनुभयो ।
वि.सं.२०१९ सालमा स्थापित विद्यालयमा हाल करिब चारसय विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयमा वि.सं.२०६५ देखि उच्च मावि संचालनमा आएको हो र विद्यालयमा शिक्षा र व्यवस्थापन संकयमा पढाइ हुँदै आइरहेको छ । विद्यालयमा रुम टु रिड र प्रयास नेपालको सहयोगमा वि.सं. २०७० देखि स्थापना भएको पुस्ताकालयमा करिब एकहजार पाँचसय पुस्तकहरु छन् । उक्त पुस्तकालयबाट विद्यालयमा अध्ययनरत विद्यार्थी र स्थानीय लाभान्वित भएको विद्यालयका प्रअ सिटौला बताउनुहुन्छ ।