सहयोग खोजेर गाउँका स्कुलमा कम्प्युटर

855 पटक पढिएको

सम्पादक: Dhading News

Computer Help (1)धादिङ  – रोजगारीका लागि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका धादिङ ज्यमरुङका भुवन गुरुङले कम्प्युटर नजान्दा त्यहाँ पाएका राम्रा अवसरहरु गुमाउनुपर्‍यो । धेरै तलब पाइने काम छाडेर थोरै तलब आउने काम गर्नुपर्‍यो ।

‘१४ वर्षअघि दुबई आएको म यहाँ सुपरभाइजर र म्यानेजर लेभलको काम पाउँथे होला, तर कम्प्युटर नजानेकै कारण पाएका धेरै अवसर छोड्नुपर्‍यो’ हाल ड्राइभर पेशा गर्ने भुवनले भन्नुभयो । भुवनको जस्तै समस्या काठमाडौमा इन्जिनियरिङ पढ्ने कुमार धमलाले पनि भोग्नुपर्‍यो । स्नातकोत्तर तहमा शिक्षकले दिएका असाइनमेन्टहरु हातले लेखेर बुझाउँदा गाली खाएको सम्झना छ उहाँलाई । ‘कम्प्युटर नजानेका कारण हस्तलिखित असाइनमेन्ट बुझाउँदा सरले बुझ्न मान्नुभएन, त्यसपछि गाउँका भाइबहिनीकले यस्तो समस्या भोग्नु नपरोस् भनेर केही गरौं भन्ने सोँच आयो’ कुमारले भन्नुभयो ।

यस्ता समस्या भोग्ने उनीहरुजस्तै अरु धेरै थिए । भेट हुँदा यस विषयमा छलफल गरे र आफुले पढेको स्कुलमा कम्प्युटर सहयोग गर्ने योजना बनाए । उनीहरुले दुई वर्षअघि सुरु गरेको यो काम अहिले ‘गाउँमा कम्प्युटर शिक्षा अभियान’को नामले संस्थागत छ । उनीहरुले आफैले पढेको र छिमेकी गाउँका स्कुल गरी ६ वटामा कम्प्युटर सहयोग गरेका छन् ।

दुई वर्षअघि उनीहरुले ज्यामरुङ ८ को शंखादेवी उच्च माविमा ५ लाख रुपैयाँमा २४ वटा कम्प्युटर सहयोग गरे । कम्प्युटर कक्षाको भवन निर्माणका लागि पनि सहयोग जुटाइदिए । अहिले त्यहाँ ६ र ७ कक्षाका विद्यार्थीले ऐच्छिक कम्प्युटर विषय पढ्छन् । ‘हामीले कम्प्युटर सिक्न नपाएर धेरै दुख पायौं गाउँका भाईबहिनीले त्यस्तो दुख नपाउन् भनेर सहयोग गर्‍यौं, छिमेकका अरु स्कुलहरुले पनि सहयोग गरिदिनुपर्‍यो  भन्ने कुरा गरेपछि यसलाई अभियानकै रुपमा अघि बढाएका हौं’ संस्थाका सहसचिव कुमार धमलाले भन्नुभयो ।

श्रो वर्ष भने उनीहरुले वरपरका अरु ५ वटामा १५ लाख रुपैयाँ बरावरको कम्प्युटर सहयोग गरे । त्यहाँ यसवर्ष शिक्षक र विद्यार्थीले कम्प्युटर सिक्दैछन् । ‘अर्को वर्षदेखि त्यहाँ पनि कम्प्युटर विषय नै पढाइ हुन्छ’ धमलाले भन्नुभयो । उनीहरुले विद्यालयमा कम्प्युटरसँगै प्रिन्टर, फोटोकपी र प्रोजेक्टर पनि सहयोग गरेका छन् । सुरुमा आफ्नो विद्यालयलाई मात्र सहयोग गर्ने योजना बनाएका ज्यामरुङ गाउँका युवाहरुले छिमेकका विद्यालयबाट पनि माग भएपछि सहयोग जुटाउन थालेका हुन् । कम्प्युटर सहयोग गर्न काठमाडौ र विदेशमा बस्नेहरुले आर्थिक सहयोग गर्छन् । ‘विदेशमा रोजगारी गर्नेहरुले पढाईको महत्व राम्ररी बुझेका छन्, त्यसैले सहयोग गर्न तयार हुन्छन्’ धमला भन्नुहुन्छ । यो अभियानमा धमला सहितका ४ जना काठमाडौमा सक्रिय छन् भने ६/७ जना देश बाहिर सक्रिय छन् । सहयोग गर्नेहरु त धेरै छन् ।

कुन वर्ष कति सहयोग गर्ने भन्ने उनीहरुको बनिबनाउ योजना छैन । ‘कतैबाट माग भयो भने त्यसको लागत अनुमान गरेर सहयोगी खोज्नतिर लाग्छौं, चाहिनेजति सहयोग जुट्ने देखिएमा काम अघि बढाउँछौं’ धमलाले भन्नुभयो । आफुहरुले गरेको सहयोग दिगो हुन्छ हुन्न भन्ने विषयमा उनीहरु सचेत छन् । कुनै विद्यालयले सहयोग मागेमा उनीहरुले त्यसको उपयोग गर्छन् कि गर्दैनन् भनेर खोजी गरेर मात्र दिन्छन् । ‘कोही कम्प्युटरको सट्टा बिलमात्र माग्ने, कोही नगद माग्ने पनि गर्छन्, हामी वास्तविक आवश्यकता भएका र त्यसको सदुपयोग गर्न सक्नेलाई मात्र सहयोग गर्छौ’ उहाँले भन्नुभयो ।

कुनै दातालाई प्रपोजल पेश गरेर प्रोजेक्ट ल्याउने उनीहरुको योजना छैन । अहिलेसम्म उनीहरुले कार्यालय पनि राखेका छैनन् । ‘हामी सबै कुनै न कुनै पेशामा आवद्ध छौं,  त्यहीँबाट केही समय फुर्सद निकालेर काम गर्छौ, यसैलाई पेशा बनाउँदैनौं’ कुमारले भन्नुभयो ।

शुरुमा कम्प्युटर शिक्षामा सहयोग गरेर शुरु भएको उनीहरुको योजना अहिले शैक्षिक गुणस्तर बढाउने अरु गतिविधिहरुतिर पनि अघि बढेको छ । यसवर्ष धादिङका बिभिन्न ५ विद्यालयका गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षकलाई काठमाडौको बुढानिलकण्ठ स्कुलमा तालिम दिइएको छ । राम्रो नतिजा ल्याएका निजी विद्यालयबाट धेरै सिक्न सकिने भएकाले तालिमको गराइएको धमलाले बताउनुभयो । गाउँकै विद्यालयहरुको अनुभव आदान प्रदान गर्न शिक्षक साटासाट गर्ने, ई लाइब्रेरी सञ्चालन गर्ने, विद्यालयमा स्मार्ट बोर्डहरु सहयोग गर्ने उनीहरुको योजना छ चक्रपथ डट कम अनलाईनले खबर लेखेको छ ।