राष्ट्रपति, प्रधानमन्त्री, ओली र दाहालद्वारा नेपाल संवत्को शुभकामना

601 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडाँै, ६ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले नेपाल संवत् ११३५ को अवसरमा सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीको सुख, शान्ति र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

यस पर्वले सबै नेपालीमा सहिष्णुता, सामाजिक एकता, सद्भाव, समझदारी र भाइचाराको भावना अभिवृद्धि गर्न सफल हुने आशा आफूले लिएको उहाँले उल्लेख गर्नुभएको छ ।

मुलुकको स्वतन्त्र इतिहासप्रति गौरवान्वित रही राष्ट्र, राष्ट्रिय, एकता र अस्मिताको संरक्षण गर्न हरेक नेपालीको परम कर्तव्य हो भन्दै उहाँले तोकिएको समयमा नै संविधानसभाले नयाँ संविधान दिन सकोस्, मुलुकवासीलाई शान्ति र समृद्धिको पथमा अगाडि बढाई समाजमा स्थायित्व र प्रगति हासिल गर्न प्ररणा मिलोस भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानको स्मरण ः प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले नेपाल संवत् ११३५ आरम्भ भएको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना गर्नुभएको छ ।

नेपालीको मौलिक संवत्को रुपमा रहेको नेपाल संवत्को नयाँ वर्षको अवसरमा यसका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानको स्मरण गर्दै कोइरालाले साख्वाःको योगदानको राष्ट्रिय महत्वलाई मनन् नेपाली काँग्रेसको सरकारले २०५६ सालमा उहाँलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरेको यथार्थलाई समेत सम्झाउनुभएको छ ।

दोस्रो संविधानसभाको निर्वाचन अत्याधिक जनसहभागितामा निर्भय र शान्तिपूर्ण वातावरणमा निष्पक्षतापूर्वक सम्पन्न भई यसैको परिणामस्वरुप लोकतान्त्रिक प्रक्रृयाअनुरुप नयाँ सरकार गठन हुन सकेको र राजनीतिक दलबीच सहमति, सहकार्य, एकता र मेलमिलाप कायम गरी संविधान निर्माणको कार्यसँगै मुलुकमा शान्ति, स्थिरता, लोकतन्त्रको संस्थागत विकास र आर्थिक सामाजिक विकासको गतिलाई एकसाथ बढाउने सफलता हासिल हुनसकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

‘नेपाली नागरिकले गरेका सङ्घर्ष र आन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपब्धिलाई संस्थागत गर्ने सङ्घीयता, गणतन्त्र, समावेशितासहितको लोकतान्त्रिक संविधान निर्माण गरी निर्धारित समयमा नै जारी गर्दै छौ ।’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘त्यसपछि कायम हुने शान्तिपूर्ण वातावरणमा नेपालमा आन्तरिक बाह्य लगानी जुटाएर विकासको गतिलाई तीब्रता दिनेछाँै ।’

नेपाल संवत्को नयाँ वर्षले सबै पदीय जिम्मेवारीमा रहेका सबैलाई मुुलुकको हित र नागरिकको हितसहित सुख समृद्धिमा समर्पित रहेर काम गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ ।

नेपाल सम्वत्को आफ्नै मौलिकता र विशिष्टताः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११३५ को नयाँ वर्ष आगमनले नेपाली जनताको समृद्धिको सपना साकार पार्न प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले काठमाडाँै उपत्यकाका किसानलाई ऋणमुक्त गरेको जनविश्वासमा आरम्भ भएको नेपाल सम्वत्को आफ्नै मौलिकता र विशिष्टता रहिआएको उल्लेख गर्नुभएको छ ।

मुलुकलाई राजनीतिक स्थायित्व, दिगो शान्ति, सुदृढ लोकतन्त्र र सामाजिक–आर्थिक समृद्धिको दिशामा अगाडि लैजान आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने साझा सङ्कल्प पूरा गर्न यी पर्वले सबैलाई राजनीतिक सहमति, एकता र पारस्परिक विश्वासको बाटोमा अगाडि बढ्न प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना अध्यक्ष ओलीको छ ।

जनस्तरबाट सुरू गरिएको संवत्ः अध्यक्ष दाहाल

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल संवत्् जनस्तरबाट सुरु गरिएको नेपालको पहिलो मौलिक संवत् भएको बताउँदै मुलुक नयाँ संविधान निर्माणको तयारीमा रहेको बेला मनाउन लागिएको यस संवत््ले नयाँ युगमा प्रवेश गर्ने ढोका खोल्ने विश्वास आफूले लिएको जनाउनुभएको छ ।

नेपालको संस्कृति, सहिष्णुता तथा भाइचारा सम्बन्धको प्रतिक भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ११३५ वर्षअघि समाज सेवामार्फत् सुरु गर्नुभएको यो संवत््लाई नेपालको मौलिक संवत््का रुपमा स्थापित गर्न पनि जनस्तरबाटै भूमिका खेलिएकामा खुसी प्रकट गर्नुभएको छ ।