छठ पर्वका अवसरमा राष्ट्रपति यादववाट शुभकामना सन्देश

569 पटक पढिएको

सम्पादक: Dhading News

rambaranकाठमाडौँ, १२ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले सूर्य देवता र छठ माताको आराधना गरी मनाइने पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

उहाँले विभिन्न जातजातिका विभिन्न पर्व नै समग्र मुलुकको सांस्कृतिक पहिचान बनेका र यस्ता पर्वले विभिन्न जात, धर्म तथा सम्रप्रदायबीच आपसी मेलमिलाप र भाइचारा अभिवृद्धि गर्दै धार्मिक सहिष्णुता र सामाजिक एकता मजबुत पार्न सहयोग पुगेको बताउनुभएको छ ।

“देशमा तोकिएको समयमा नयाँ संविधान निर्माण भई देशको सार्वभौमिकता, अक्षुणता कायम रहोस्, देशले शान्ति तथा आर्थिक समृद्धि हासिल गरोस्, छठ पर्व सांस्कृतिक रूपमा नेपालको परिचय बन्न सकोस् र यसबाट आपसी समझदारी, भाइचारा, सामाजिक सदभाव अभिवृद्धि गर्न सफलता मिलोस्”–सन्देशमा भनिएको छ ।

लोकतान्त्रिक संविधानबाट नै लोकतान्त्रिक परिपाटी बलियो हुन्छःउपराष्ट्रपति
उपराष्ट्रपति परमानन्द झाले यसै अवसरमा देशविदेशमा बसोवास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश दिँदै उहाँले आवश्यकता र नेपालीको चाहनाको प्राथमिकतामा संविधान नै बहुप्रतीक्षित विषय भएकाले जनचाहनाबमोजिमको लोकतान्त्रिक संविधानको निर्माणबाट नै नेपालमा जनप्रतिनिधिमूलक लोकतान्त्रिक परिपाटी बलियो एवम् स्थायी हुने उल्लेख गर्नुभएको छ ।

सन्देशमा भनिएको छ– “दलहरूबीच सहमति र सहकार्यको विकल्प छैन, जनचाहनाअनुरूपको लोकतान्त्रिक संविधान जारी गर्दै स्थिरता र समृद्धिका मार्गमा अघि बढ्न यो पर्वले प्रेरणा मिलोस् ।”