मिस वल्र्डमा ढाकाको पहिरनमा सजिने भइन् मिस नेपाल

809 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाली ढाका बाट बनेको पहिरनमा मिस इन्डिया २०१३ रूहानी शर्मा
नेपाली ढाका बाट बनेको पहिरनमा मिस इन्डिया २०१३ रूहानी शर्मा

 काठमाडौँ, १ मङ्सिर । विश्वका सुन्दरीको जमघट र प्रतिस्पर्धा हुने प्रतियोगिता मिस वल्र्डमा नेपालका तर्फबाट सहभागी हुन लागेकी मिस नेपाल–२०१४ सुविन लिम्बूले ढाकाको पहिरनमा आफूलाई प्रस्तुत गर्ने भएकी छिन् ।

आगामी मङ्सिर २८ गते बेलायतमा हुने मिस वल्र्डमा उनले लिम्बू जातिका महिलाको महत्वपूर्ण पोसाकका रुपमा रहेको ‘म्यख्ली’ लाई आधुनिक डिजाइन दिई तयार पारिएको पहिरन लगाउने भएकी हुन् ।

द हाइलाइनर आर्टको प्रमुख कल्पना योङहाङ लिम्बूले तयार पारेको सो ड्रेसलाई आज एक कार्यक्रममा मिस नेपाल लिम्बूलाई हस्तान्तरण गरिएको थियो ।

अन्तर्राष्ट्रियस्तरको सो प्रतियोगितामा मिस नेपाल लिम्बूले आफूले लगाउने ड्रेसमार्फत नेपाली उत्पादन ढाकालाई परिचित गराउँदै छिन् । उनले सो ड्रेस प्रतियोगिताको नेसनल कल्चर राउन्डमा देखाउने छिन् ।

नेपाललाई नेपाली उत्पादनले पनि चिनाउन सकिन्छ भन्ने सन्देश दिन आधुनिक डिजाइनमा सो ड्रेस तयार पारिएको बताइयो । चौरासी मिटर कपडामा तयार पारिएको सो गाउनमा लालीगुँरास, शान्ति र समृद्धि झल्कने चिह्नको प्रयोग गरिएको छ भने लिम्बू जातिको परम्परागत संस्कृतिसमेत झल्किएको देखिन्छ ।

गाउन हस्तान्तरणपछि मिस नेपाल लिम्बूले नेपालको पहिचानलाई झल्काउदै मिस वल्र्डको टाइटल नै जित्ने सपना लिएर त्यसतर्फ प्रस्थान गर्न लागेका् बताइन् ।

उनले भनिन्– “मिस वल्र्डमा धेरै चरण हुने भएकाले कतिपय चरणमा आफ्नो क्षमता देखाउन महिनौँदेखि प्रशिक्षण लिइरहेकी छु ।

मिस वल्र्ड प्रतियोगितामा भाग लिन उनी बुधबार त्यसतर्फ प्रस्थान गर्ने छिन् ।