सार्क सम्मेलनका लागि धुलिखेलमा रिट्रिटको सबै तयारी पूरा

780 पटक पढिएको

सम्पादक: Dhading News

1358764935_0!!-!!dhulikhel_mountain_resort_backdropधुलिखेल-   दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को धुलिखेलमा हुने भनिएको रिट्रिटको सबै तयारी पूरा भएको छ ।

हवाई आवागमनका लागि हेलिप्याड निर्माणका साथै रिट्रिटस्थल जाने स्थलमार्गका लागि धुलिखेलको बसपार्कदेखि स्थानीय गौखरेश्वर मन्दिरसम्म सडक मर्मत सम्हारको काम सकिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

रिट्रिटस्थल धुलिखेल नगरपालिका वडा नं १ स्थित भट्टेडाँडामा हेलिकप्टर अवतरणका लागि झन्डै तीन साता लगाएर नेपाली सेनाको नेतृत्वमा दुई वटा हेलिप्याड निर्माणको काम सकिएको छ । सो हेलिप्याडबाट हेलिकप्टरको परीक्षण उडानसमेत गरिएको छ ।

काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराईले हेलिप्याड निर्माणका लागि जिल्ला विकास समितिबाट सापटीका रुपमा रु १० लाख प्रदान गरिएको उल्लेख गर्नु भयो ।

सार्कका सरकार प्रमुख तथा राष्ट्राध्यक्षको धुलिखेल रिट्रिट हुने भएपछि नगरलाई व्यवस्थित बनाउन पार्किङको अव्यवस्था हटाइएको छ भने सर्वपक्षीयरुपमा सरसफाइसमेत गरिएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले रिट्रिटको आवश्यक सबै तयारी पूरा भएको जानकारी दिँदै जिल्लाका लागि यो गौरबको विषय भएकाले सबै नागरिकको उत्तिकै दायित्व हुने बताउनुभयो ।

शिखर सम्मेलन उद्घाटन पछि राष्ट्र एवम् सरकार प्रमुखलाई रिट्रिटमा लैजाने र सम्भव भएसम्म दुई पक्षीय वार्ताको वातावरण तय गरिदिने प्रचलन छ ।

सन् २००२ को ११ औँ शिखर सम्मेलनमा नगरकोटमा रिट्रिट दिने भनिए पनि सफल भएको थिएन ।