सार्कबाट विदेशिने कामदारको समान सुविधा बनाउनुपर्ने 

600 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

migrant-labour-employmentललितपुर,-दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा आबद्ध राष्ट्रहरुले वैदेशिक रोजगारीमा जाने आफ्ना कामदारले पाउने सेवा, सुविधाका बारेमा साझा मापदण्ड बनाउनुर्नेमा जोड दिइएको छ ।

जनसार्क कार्यक्रमअन्तर्गत आप्रवासनका विषयमा आज आयोजित कार्यक्रममा आसन्न सार्क सम्मेलनको अवसरमा सार्कका राष्ट्रहरुको साझा अवधारणा बनाउने प्रस्ताव पारित गरिनुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका हुन् ।

वैदेशिक रोजगारीमा जाने कामदारका लागि न्यूनतम ज्याला निर्धारण गरिनुपर्ने, कामदारको मानवअधिकार र श्रम अधिकार, घरेलु कामदारका लागि पनि श्रम कानुन लागू गरिनुपर्ने, सुरक्षित बास र खानका व्यवस्था हुनुपर्नेलगायतका मापदण्ड बनाई लागू गरिनुपर्ने उनीहरुको भनाइ हो ।

कामदार पठाउने मुलुकहरु एकभई सौदाबाजी गर्नसके यहाँबाट वैदेशिक रोजगारीमा जाने कामदारले धेरै सुविधा पाउने उनीहरुले बताए ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले सार्कबाट वैदेशिक रोजगारीमा जाने कामदारका लागि साझा मापदण्ड बनाउने प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयले तयार पारी परराष्ट्र मन्त्रालयमार्फत सार्क सम्मेलनमा समावेश गर्ने तयारी भइसकेको जानकारी दिनुभयो ।

उहाँले सो प्रस्तावमा सार्कका सबै राष्ट्र सकारात्मक भएकाले प्रस्ताव पारित हुने आशा व्यक्त गर्नुभयो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वनाथ ढकालले सार्क राष्ट्रबाट विदेशिने कामदारको प्रमुख साझा समस्या अदक्ष कामदार रहेको बताउँदै त्यसलाई सुधार गर्न सार्क राष्ट्रले कार्ययोजना तयार गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।