प्रहरी इन्काउन्टरमा मारिए भारतीय मोस्टवान्टेड

683 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

gun-killing-dead-diedभैरहवा, ७ मंसिर
नेपालका व्यापारीलाई धम्क्याउने र अपहरण गरी पैसा असुल्दै आएका एक भारतीय नागरिकको प्रहरीसँगको इन्काउन्टरमा मृत्यु भएको छ । नेपाल प्रहरीले मोस्टवान्टेड सूचीमा राखेका भारतीय नागरिक सर्फराज खानको शनिबार दिउँसो रूपन्देहीमा प्रहरीको गोलीबाट मृत्यु भएको हो ।

रूपन्देहीको विष्णुपुरा गाविसमा भएको मुठभेडमा खानको मृत्यु भएको हो । उनका अन्य तीन सहयोगीले भने प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । इन्काउन्टरमा मारिएका खान मेनपावर व्यवसायी आकाश गुरुङको अपहरण तथा हत्या घटनाका एक प्रमुख योजनाकारमध्येका एक हुन् । उनी नेपालमै रहेको सूचनाका आधारमा पछ्याउँदै गएको प्रहरी टोलीलाई फायर गरेपछि प्रतिकारमा उनको मृत्यु भएको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी गणेश केसीले बताए ।

‘उनलाई हामीले पछ्याउँदै गएका थियौँ, प्रहरीलाई देखेपछि मोटरसाइकलमा सवारहरू भाग्न खोजे,’ एसएसपी केसीले भने, ‘एउटा मोटरसाइकल लडेपछि प्रहरीमाथि फायर भयो, तर प्रहरीलाई लागेन, जवाफी फायरमा खानको मृत्यु भएको हो ।’ उनलाई एक गोली मात्र लागेको छ । खानलाई गोली लागेपछि सोही मोटरसाइकलमा रहेका अतिल अहमद मुसलमानले तत्कालै आत्मसमर्पण गरेका थिए । त्यसपछि प्रहरीले अर्काे मोटरसाइकलमा सवार दुईजनालाई पछ्याएर पक्राउ गरेको थियो । त्यसरी पक्राउ पर्नेमा अखिलेश यादव र हुफिस उल्लाह मुसलमान छन् । उनीहरू दुईजना नेपाली हुन् ।

प्रहरीका अनुसार कपिलवस्तु घर भएका अतिल अहमद तीन वर्षदेखि वान्टेड थिए । गोली हानेर डकैती गरेको घटनामा प्रहरीले उनको खोजी गरिरहेको थियो ।

प्रहरीले घटनास्थलबाट एकथान सिक्सर, दुईथान पेस्तोल र त्यसमा लाग्ने १५ थान गोलीसमेत बरामद गरेको छ । उनीहरूले प्रयोग गरेको युपी.५५सी ४३४३ र युपी.५पी ५८६३ नम्बरको भारतीय नम्बरका मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । सो समूहले पछिल्लो समय पनि व्यापारीलाई धम्क्याउँदै आएको प्रहरी अधिकारीहरूले बताएका छन् । हतियारसमेत बोकेर हिँडेकाले उनीहरू अपराधको योजनासहित कतै जान लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

यसरी भएको थियो आकाश गुरुङको अपहरण
वैदेशिक रोजगारबाट फर्किएका आकाश गुरुङले कृष्ण भट्टराईसँग मिलेर बुटवलमा मेनपावर व्यवसाय गरेका थिए । भट्टराईले ठगी गर्ने मनसायले मेनपावर खोलेका थिए । तर, गुरुङले उनीमाथि विश्वास गरी कार्यालय राख्नेदेखि मान्छेहरू खोज्ने काम सबै गरे । करिब ५० लाख उठाएर भट्टराई भागे । कतिपयले गुरुङमार्फत पैसा लिएकाले उनीसँग पनि केहीले पैसा फिर्ता माग्न थाले । त्यसरी पैसा फिर्ता माग्नेमध्ये बुटवलकै मोहम्मद सफिक थिए । उनको पाँच लाख रुपैयाँ फसेको थियो ।

सफिकको आपराधिक धन्दा चलाउने केदार सहनीसँग चिनजान थियो । सहनीले पैसा उठाइदिने आश्वासन दिए । सहनीले गुरुङलाई बुटवलबाट नियन्त्रणमा लिएर सफिकको आफन्तको घरमा बन्धक बनाए । उनलाई बन्धक बनाएर परिवारसँग फिरौती माग्न थालिएको थियो । त्यही क्रममा एक दिन गुरुङ बन्धक बनाएको घरबाट भागे । अपहरणकारीले उनलाई लखेटेर भेट्टाए । भाग्न खोजेको भन्दै ३ असोजमा उनलाई गोली हानी हत्या गरिएको थियो । नवलपरासीको जंगलमा उनको शव एक सातापछि प्रहरीले फेला पारेको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा अपहरणमा सहयोग गर्ने ६ जनालाई पक्राउ गर्‍यो । तर, अपहरण गरी फिरौती माग्ने समूहका नाइकेमध्ये केही फरार थिए । तिनैमध्ये एक शनिबार इन्काउन्टरमा मारिएका सर्फराज थिए । उनी सहनीका साथी हुन् । गुरुङ मारिएको घटनापछि पनि उनले नेपालका व्यवसायीलाई धम्क्याउँदै आएका थिए