सडकमा फोहोर फाल्ने १८० लाई कारबाही

462 पटक पढिएको

सम्पादक: Dhading News

सार्क सम्मेलनका लागि सफा गरिएका सडकमा फोहोर फाल्ने १ सय ८० व्यक्ति तथा संघसंस्थालाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। घरअगाडि फोहोर फाल्नेलाई रोक्न महानगरपालिकाले स्थलगत कारबाही थालेको हो।
कात्तिक २४ गतेदेखि सुरु भएको कारबाहीमा आइतबारसम्म कारबाहीमा डेढ लाख रुपैयाँभन्दा बढी जरिवाना संकलन गरिएको महानगरपालिकाले जनाएको छ। सोमबार पत्रकार सम्मेलनमार्फत कुल स्थलगत कारबाहीमा १ लाख ५९ हजार ५ सय रुपैयाँ रकम संकलन गरिएको महानगरपालिका प्रवक्ता शान्ताराम पोखरेलले बताए।
‘अभियान महानगरले सार्क शिखर सम्मेलनका अवसरमा सुरु गरेको नियमित कार्यक्रम हो,’ उनले भने, ‘पसलअगाडि वा आफ्नो घरअगाडि सडकमा फोहोर फाल्नेलाई बिहान र बेलुकी धमाधम कारबाही भइरहेको छ।’ फोहोरमैला व्यवस्थापन ऐनले फोहोर उत्पादकलाई व्यवस्थापनको प्रमुख जिम्मेवार पक्ष भनेकाले फोहोर सार्वजनिक स्थल वा अन्य अनधिकृत स्थानमा ननिकाल्न तीन वर्षअघिदेखि महानगरवासीलाई आग्रह गरिरहेको उनले बताए। ‘अटेर गरी फोहोर फाल्नेहरू जरिवानामा परेका हुन्,’ उनले भने, ‘बिहान, बेलुका र रातको समयमा नियमित अनुगमन गरिरहेका छौं। कतिपय स्थानमा फालिएको फोहोरमा भेटिएका प्रमाणका आधारमा कारबाही गरिएको छ।’