भारतीय प्रमबाट नेपाली सेनालाई हेलिकोप्टर हस्तान्तरण

558 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

14112517milalalaकाठमाडौँ, ९ मङ्सिर । प्रधानमन्त्री सुशील कोइरालालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली सेनाका लागि अत्याधुनिक एक हेलिकोप्टर आज एक समारोहमा हस्तान्तरण गर्नुभएको छ ।

पाँच हजार पाँच सय किलोग्राम क्षमताको सो हेलिकोप्टर आज साँझ सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री कोइरालालाई भारतीय प्रधानमन्त्रीले हस्तान्तरण गर्नुभयो ।

दुई देशबीचको सहयोग आदानप्रदान गर्ने सन्दर्भमा भारत सरकारबाट नेपाली सेनालाई उक्त हेलिकोप्टर सहयोगस्वरुप उपलब्ध भएको हो ।

चालक दलका दुई जनासहित कुल १६ सिट क्षमताको उक्त हेलिकोप्टरले मुलुकका पहाडी तथा हिमाली जिल्लामा सहजै रूपमा उडान भर्न सक्छ । एक हजार ५०० किलोग्राम बराबरको तौलको सरसामान भारबहन गर्न सक्ने यो हेलिकप्टरले समुद्र सतहदेखि २२ हजार ९६० फिटसम्म उडान लिन सक्छ । यसमा चार स्ट्रेचर र दुई चिकित्साकर्मी रहन सक्ने छन् । यसले प्रतिघन्टा ३२० लि इन्धन उपभोग गर्ने यो हेलिकप्टर हिन्दूस्तान एरोनोटिकल लिबाट निर्माण भएको हो ।

भारतीय सेना र नेपाली सेनाबीच लामो समयदेखि अत्यन्तै मित्रवत् सम्बन्ध रहँदै आएको छ । नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाध्यक्षलाई एकार्का मुलुकले मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा पनि रहँदै आएको छ । सो अवसरमा भारतीय विदेशमन्त्री सुषमा स्वराज र प्रधानसेनापति गौरवशम्शेर जबरालगायतको उपस्थिति थियो ।