मध्यमाञ्चल क्षेत्रीय महोत्सवको नारा तय

1092 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Logosss copyमंसिर ११, धादिङ । पहिलो पटक धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा सम्पन्न हुन गईरहेको मध्यमाञ्चल क्षेत्रीय महोत्सव २०७१ को नारा ‘ घरेलु उद्योग,कृषि, जलश्रोत,पर्यटन प्रवद्र्धन–आर्थिक समृद्धि हाम्रो अभियान ’ हुने भएको छ । आगामी पुस ७ गते देखि १७ गते सम्म धादिङबेसीको खुल्लामञ्चमा मध्यमाञ्चल क्षेत्रीय महोत्सव २०७१ सम्पन्न हुन गईरहेको छ ।
महोत्सव मुल आयोजक समितिका संयोजक एवम उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष कल्पना अधिकारीको अध्यक्षतामा विहीवार धादिङबेसीमा बसेको मध्यमाञ्चल क्षेत्रीय महोत्सव मुल आयोजक समितिको बैठकले उक्त नारा तय गरेको हो । महोत्सव मध्यमाञ्चल क्षेत्रीय स्तरको हुने भएकाले मध्य क्षेत्रको प्रतिनिधित्व गर्ने मुख्य बस्तुहरुमा घरेलु उद्योग,कृषि, जलश्रोत,पर्यटन प्रवद्र्धन रहेकाले महोत्सवको मुख्य नारा र आकर्षण पनि यसैलाई वनाईएको संयोजक अधिकारीले वताउनु भयो ।
मुल आयोजक समितिको बैठकले महोत्सवको तयारी र प्रचार प्रसारका लागि समेत विभिन्न संचारमाध्यमहरुसंग सहकार्य गरी अघि बढ्ने निर्णय समेत गरेको छ । महोत्सवको मुख्य आयोजकमा  उद्योग वाणिज्य संघ धादिङ रहेको छ भने घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालय त्रिपुरेश्वर काठमाण्डौं ,जिल्ला विकास समिति धादिङ,नीलकण्ठ नगरपालिका सह आयोजक रहेका छन । त्यसै गरी कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम,व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र,नेपाल टेलिकम महोत्सवको मुख्य प्रायोजकमा रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
मध्य नेपालका १९ जिल्लाको प्रतिनिधित्व हुने घरेलु उद्योग, कृषि, पशुउत्पादन,फलफूल,पर्यटकीय क्षेत्रको प्रचार प्रसार, औद्योगिक उत्पादनलाई महोत्सवमा समेटिने समितिले जनाएको छ । महोत्सवको मिति नजिकिंदै गएकाले तयारीको कार्यक्रमहरु पनि तिव्र गतिमा अघि बढिरहेको र जिल्ला स्थित घरेलु तथा साना उद्योग विकास समिति,जिल्ला शिक्षा कार्यालय,जिल्ला कृषि विकास कार्यालय,जिल्ला पशु सेवा कार्यालय,जिल्ला वन कार्यालय, महिला तथा वाल वालिका कार्यालय महोत्सवको सहयोगी निकायको रुपमा रहने मुल आयोजक समितिले जनाएको छ ।