सुन बन्दै सुन्तला
767 पटक पढिएको
एक पटक लगाएपछि वर्षौंसम्म आम्दानी दिन्छ सुन्तलाले। सिजनमा एकै जनाले १०-१२ लाख रुपैयाँसम्म हात पार्ने गरेका छन्। यस्ता गाउँहरू छन्, जहाँको मुख्य आम्दानी नै सुन्तला हो। बस्तीहरूमा करोडौं रुपैयाँ भित्रिने गरेको छ सुन्तलाबाट। वैदेशिक रोजगारभन्दा पनि यो खेती आकर्षक बन्दै छ। सुन्तलाले ग्रामीण क्षेत्रमा फेरिएको जीवनशैलीबारे तनहुँबाट पूर्ण बीके, पाल्पाबाट माधव अर्याल, गुल्मीबाट घनश्याम गौतम, अर्घाखाँचीबाट वीरेन्द्र केसी र कास्कीबाट शिव शर्मा लेख्छन् :
सुन्तलाबाट गाउँगाउँमा करोडौं रुपैयाँ भित्रिन्छ
वैदेशिक रोजगार छाडेर सुन्तलामा
अमलाबासको नामै फेरिएर सुन्तलाबास
‘सिट्रस ग्रिनिङ’ बाट नजोगाए हराउँछ सुन्तला
तनहुँको जामुने ७ का विष्णुबहादुर अधिकारी जिविस पूर्वसभापति हुन्। राजनीति छाडेर सुन्तला खेतीमा लागेका उनले यो सिजनमा १२ लाख रुपैयाँ हात पारे। उनले फलाएका मात्र हुन् घरमै आएर उनको बगैंचामै रकम गन्दिए व्यापारीले। अधिकारीले यही वर्ष उत्कृष्ट सुन्तला कृषकको उपाधि पनि थापे।
तनहुँसुर ५ राजारामछापका ३६ वर्षीय कल्याण अधिकारीले पनि १२ लाख रुपैयाँमा बगैंचामै ठेकेदारलाई बिक्री गरे। गत वर्ष ११ लाख २५ हजार रुपैयाँ हात पारे थिए। उनको आम्दानी केही बढ्यो यसपालि। उनको मासिक कमाइ लाख रुपैयाँभन्दा बढी पर्न गयो।
यी दुई त उदाहरण मात्र हुन्। गाउँ गाउँमा यस्ता किसान सयौं छन्। जसको मुख्य आम्दानीको स्रोत सुन्तला हो। तनहुँमा मात्र हैन पाल्पा, गुल्मी, अर्घाखाँची, कास्कीमा सुन्तलामा आश्रित किसानको संख्या निकै छ।
कोही परम्परागत रूपमै वर्षौंदेखि सुन्तला बगैंचा स्याहार्दै आएका छन् भने नयाँ पुस्ता पनि यसमा आकषिर्त हुँदै छन्। वैदेशिक रोजगारीमा गएका युवा पनि फर्केर यसैमा लागेका छन्। उनीहरू उताभन्दा सन्तुष्ट रहेको बताउँछन्।
पाल्पा पालुङ्मैनादी ३ का ५५ वर्षीय गोपालबहादुर कुँवर कुनैबेला मलेसियाका लाहुरे थिए। अहिले भने उनको परिचय सफल सुन्तला किसान बनेको छ। उनले घरमै बसेर सिजनमा ४ लाख रुपैयाँ सुन्तलाबाटै आम्दानी गर्छन्। ‘बिदेसिन बेकार रहेछ,’ सदरमुकामबाट २२ किलोमिटर पश्चिम सुन्तला खेतीमा व्यस्त उनले भने, ‘घरपरिवारसँग बसेर विदेशमा भन्दा आधा समय मिहिनेत गरेर पनि त्यहाँभन्दा बढी कमाउन सकिन्छ।’ ३२ वर्षको हुँदा एसएलसी पास गरेर प्राविधिक सहायकको जागिर खाएका उनले १२ घन्टा विदेशमा काम गर्नुभन्दा आफ्नै ठाउँमा ६ घन्टा मिहिनेत गरे चार गुणा कमाइ हुने बताए।
अर्घाखाँचीस्थित पणेना सिम्लेका भोजराज पौडेलले सुन्तला खेतीबाटै राम्रो आम्दानी भएपछि विदेश जाने भिसा रद्द गरे। पाँच वर्षदेखि उनको ध्यान सुन्तलाका बोट हुर्काउने र फलाउनमै छ। बोटमा दाना कति लाग्यो र अझै ठूला दाना बनाउन कसरी सकिन्छ भनेर सुन्तला खेतीमा लागिरहेका छन्। ‘परिवारसँगै बसेर ६ सय सुन्तलाका बोटबाट वर्षमा ३ लाख रुपैयाँ बैंक बचत छ,’ उनले भने, ‘मलाई अमेरिका, जापान, कोरिया यहीँ छ, अब म कहिल्यै विदेश जान्नँ।’
उनीजस्तै गाउँका २३ जना ४० वर्ष ननाघेका पुरुष कतार, मलेसिया, दुबईलगायत देशमा काम गर्न जान छाडेर सुन्तला खेतीमा लागेका छन्। पाल्पा अमलाबासको युवा हत्तपत्त वैदेशिक रोजगारमा जान चाहँदैनन्। गएका युवा पनि फर्केर गाउँमै सुन्तला खेतीमा लागेका छन्।
घर वरिपरिको ५ देखि १२ रोपनीसम्म जमिनमा सुन्तला खेती गर्नेहरूको आम्दानीले सुविधा सम्पन्न जीवनयापन गर्न सकेका छन्। घरका छतमा डिस ऐन्टेना झुन्डिएका छन्। छोराछोरीलाई राम्रो स्कुलमा पढाएका छन्। पछिल्लो समय बुटवल, काठमाडौं लगेका छन्। ‘सुन्तलाको कमाइ हुन थालेपछि कहिल्यै अभाव झेल्नुपरेको छैन,’ अमलाबास गाउँको नामै सुन्तलाबास बनाएको छहराका नित्यानन्द पोखरेलले भने, ‘यस गाउँको परिवर्तनको वाहक भनेकै सुन्तला हो।’
२०४२ सालतिर किसानले दुई/चार बोट ल्याएर सुन्तला खेती सुरु गरेका हुन्। २०५५ सालदेखि व्यावसायिक खेती थालेका हुन्। ‘पहिले एक दुई घरमा मात्र व्यावसायिक खेती थियो,’ अमलावासकी विष्णुमाया भण्डारीले भनिन्, ‘आम्दानी राम्रो भएपछि सबैले मकै, कोदो र गहुँ नलगाई सुन्तला, जुनार लगाउन थाले।’ सुन्तला खेतीको तालिम तथा शिक्षा नलिए पनि यहाँका किसान अहिले पोख्त भइसकेका छन्। चुन र निलो तुथो छर्किएर घरेलु उपचार गर्ने गर्छन्। जसले गर्दा सेते रोग लाग्ने, बोट मर्ने समस्याबाट मुक्त भएको स्थानीय पालुङ्मैनादीकी तुलसी कुँवरले बताइन्।
जिल्ला कृषि विकास कार्यालयका अनुसार पाल्पाको जल्पा, नायरनमतलेस, पालुङ्मैनादी, मुझुङ, छहरा, बराङीबाट वाषिर्क १० करोडभन्दा बढीको सुन्तला बाहिरिन्छ।
तनहुँको आँबुखैरेनी ३ पतेनीगाउँका बासिन्दाले मात्र सुन्तलाबाट यो वर्ष १ करोड ६० लाख रुपैयाँ कमाए। गाउँमा रहेका ३५ घरका बासिन्दाले यो कमाइ गरेका हुन्। यो वर्ष असिना नपरेकाले सुन्तला राम्रो फलेको उनीहरू बताउँछन्।
जिल्लाको तनहुँसुर, जामुने, छाङ, छिपछिपे, वैदी, धरमपानी आँबुखैरेनी, बन्दिपुर र राईपुर लगायत गाविसमा सुन्तला पकेट क्षेत्र भएको कार्यालयकी योजना अधिकृत शशी अधिकारीले जानकारी दिइन्। यो वर्ष ९ सय ८० हेक्टर क्ष्ाेत्रफलमा करिब २८ करोड ५० लाख रुपैयाँको सुन्तला फलेको उनले बताइन्। गत वर्ष कृषकले सुन्तला बेचेर २४ करोड ५० लाख रुपैयाँ हात पारेका थिए। गत वर्षभन्दा यो वर्ष करिब ४ करोड रुपैयाँ हात पारेका छन्। साना ठूला गरेर जिल्लामा करिब ६ सय सक्रिय सुन्तला उत्पादक कृषक रहेको कार्यालयको तथ्यांक छ।
वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लले बगैंचा व्यवस्थापनका लागि यो वर्ष ३९ लाख ५० हजार रुपैयाँ बराबरको तालिम र औजार खरिदका लागि समूहलाई प्रदान गरिएको बताए। सुन्तला बगैंचामा प्राविधिकको सल्लाहअनुसार व्यवस्थापन, मलजल र काँटछाँट गरे विभिन्न रोगहरूबाट सुन्तलाको बोटलाई बचाई उत्पादन बढी लिन सकिने उनले बताए।
गुल्मीमा सुन्तला बेचेर मात्र वाषिर्क २ लाख रुपैयाँसम्म आम्दानी गर्ने कृषक झन्डै ४ सय रहेको वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए। गत वर्ष सुन्तलाबाट मात्र झन्डै ८ करोड रुपैयाँ जिल्ला भित्रिएको थियो। पछिल्ला वर्षहरूमा गाउँगाउँसम्म सडक विस्तार भएको र सहरका व्यवसायीहरू सुन्तला खरिदका लागि बारीमै पुग्न थालेपछि किसान थप उत्साहित छन्।
अर्घाखाँचीमा पुरुषसँगै गाउँका महिला पनि खेतीमा आबद्ध छन्। अघिल्लो वर्षभन्दा यस पटक ठूला दाना र लटरम्मै फलेकाले आम्दानी दोब्बर हुने तुलसा पौडेलले बताइन्। उनले सुन्तलाबाट वर्षमा २ लाख रुपैयाँ आम्दानी गर्छिन्। जिल्लाकै सबैभन्दा धेरै सुन्तला उत्पादन हुने सिम्लेमा ३ सय ५० कृषकले व्यावसायिक सुन्तला खेती गरेका छन्। वर्षमा ५० हजारदेखि ५ लाख रुपैयाँ सुन्तलाबाट आम्दानी भएको कृषकको भनाइ छ। यस वर्ष जिल्लाभर सुन्तला उत्पादन बढेको छ। जिल्लाको पणेना, पोखराथोक, खिदिम, हंसपुर, भगवती, अर्घातोष, खनदह, खन गाविसलाई कृषि कार्यालयको सुन्तलाको पकेट क्षेत्रअन्तर्गत पर्छन्। एक पटक लगाएको बोटबाट धेरै वर्ष आम्दानी हुने भएपछि घरमा खान दुई/चार बोट लगाएका कृषकले अहिले बिरुवा थपिरहेका छन्।
नाफाजती बिचौलियालाई
अन्य कृषि उपजमा झैं सुन्तला किसान पनि बिचौलियाको ठगीबाट जोगिन सकेका छैनन्। उचित मूल्य पाउनबाट वञ्चित छन्। सुन्तला काठमाडौं, नारायणगढ, पूर्वी तराई मात्र नभई भारतसम्म पुग्ने गरेको छ। किसानको बोटबाट ३५ देखि ४० रुपैयाँ किलोमा खरिद गरेर सहरमा ६० रुपैयाँ किलोमा बिक्री गर्ने गरेका छन्।
बगैंचा सुधार अभियानमा बजेट कटौती
‘सिट्रस गि्रनिङ’ बाट बचाएर उत्पादन बढाउन अघिल्लो वर्षदेखि सुरु भएको बगैंचा सुदृढीकरण कार्यक्रमका लागी बजेट कटौती भएको छ। यो वर्ष कृषि मन्त्रालयले बजेट कटौती गरेपछि सुन्तलाको संकट बढेको छ।
‘अघिल्लो वर्ष ५० हेक्टर जमिनका १५ हजार बिरुवा सुधारका लागि ४० लाख रुपैयाँ बजेट आएको थियो,’ कास्की जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत मनोहर कडरियाले भने, ‘यो वर्ष घटेर २० हेक्टरका लागि जम्मा १८ लाख रुपैयाँ मात्रै आएको छ।’
यो वर्ष बगैंचा सुधार कार्यक्रमका लागि ७५ प्रतिशत बजेट बढ्नुपर्ने अधिकारीको अनुमान थियो। तर घटेकाले बगैंचा संरक्षणमा समस्या भएको उनीहरूको भनाइ छ। ‘रोग निदान गरेर सुधार गरिएन भने केही वर्षमा बगैंचा नै सखाप हुने अवस्था आउनेछ,’ उनले भने।
कार्यक्रमअन्तर्गत बगैंचा काँटछाँट, खाद्य तत्त्व दिने, रोग किरा नियन्त्रण, स्प्रे दिनेलगायत क्रियाकलाप गरेर बगैंचा सुधार गरिनेछ। एक हेक्टरका लागि ७६ हजार रुपैयाँसम्म किसानलाई अनुदान दिइएको थियो।
पाँच वर्षअघि आउनुपर्ने यो कार्यक्रम ढिलो आएको किसानहरूको गुनासो छ। ‘पहिल्यै आएको भए बगैंचा सुधार अभियान सुन्तला किसानहरूले अहिलेको अवस्था भोग्नुपर्ने थिएन,’ उत्पादक चन्द्रप्रसाद पौडेलले भने, ‘सुन्तला बगैंचामा आएको ह्रासले किसानहरू मर्कामा परेका छन्।’ बगैंचा सुधार अभियानले सुन्तलाका बोट हरियो र कोमल हुनुका साथै फलसमेत गोलो हुँदै गएकाले केही आशाको सञ्चार भएको बताए।