सुरु भयो गभर्नर बन्ने दौड, कस्ले मार्ला बाजी ?

737 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गभर्नर डा. यूवराज खतिवडाको पदावधि चैत्र ६ गते सकिने भएपछि नेपाल राष्ट्र बैंकको नेतृत्वमा पुग्न अहिलेदेखि नै दौडधुप सुरु भएको छ । यद्यपी अर्थ मन्त्रालयले गभर्नर चयनका लागि कुनै औपचारिक प्रक्रिया सुरु गरेको छैन।

बहालवालाको पदावधि सकिन पाँच महिना पुरै बांकी रहंदा नै शक्ति केन्द्रहरुमा धाएर गभर्नर पद पक्का गर्ने होडमा छन् –दुई डेपुटी गभर्नर सहित आधा दर्जन व्यक्तिहरु ।

 

स्रोतका अनुसार राष्ट्र बैंक भित्रैबाट गर्भनरको दौडमा दुई डेपुटी गर्भनर गोपाल काफ्ले र महाप्रसाद अधिकारी अगाडि आउने सुरमा छन् भने पूर्व डेपुटी गर्भनर बीरबिक्रम रायमाझी समेत तीब्र ईच्छा गरिरहेका छन् मेरो लगानी डट कमले खबर लेखेको छ ।

यो दौडमा राष्ट्र वैंकका पूर्व कर्मचारी तथा बैंकर पृथ्वीबहादुर पाँडे र पूर्व निर्देशक राजनसिंह भण्डारीले पनि चाहना गरिरहेका बुझिएको छ । यो सँगै प्रतिष्पर्धामा प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपाल समेत अगाडि आउने तयारीमा छन् ।

राष्ट्र बैंकको डेपुटी गर्भनर हुंदै युनाईटेड ईन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृतसम्म भएर हालै मात्र राजीनामा दिएका बीरबिक्रम रायमाझी गर्भनरका बलिया उम्मेदार मानिन्छन । यस अगाडि गर्भनर यूवराज खतिवडासँग प्रतिष्पर्धी थिए उनी । तर, राजनीतिक प्रभावले बढी काम गरेमा पाँडे, नेपाल र भण्डारीको स्थिति पनि कमजोर नहुने विश्लेषकहरु बताउँछन् ।

अर्थ मन्त्रालयले गर्भनर छनोट गर्नका लागि पूर्व गर्भनरको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्ने गर्दछ । त्यही समितिले एक डेपुटी गर्भनर सहित तीन उम्मेदारको नाम  पठाए पछि मन्त्रीपरिषद्ले गर्भनरको नियुक्ति गर्दछ । अर्थ मन्त्रालय स्रोतका अनुसार यो समिति गठन गर्ने बारे खासै गृहकार्य भएको छैन् तर प्रतिस्पर्धीहरु मैदानमा आउने तरखर गरिसकेका छन् ।

गभर्नर नियुक्तिमा राजनीतिक शक्ति सन्तुलन र दलहरुवीचको खिंचातानीको प्रभाव पर्दै आएको छ । खतिवडालाई नियुक्त गर्ने समयमा  रायमाझी र रामेश्वर खनालको नाम पनि अर्थ मन्त्रालयले पठाएको थियो । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहेका खतिवडालाई गभर्नर बनाउनेमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको निर्णायक भुमिका थियो।

यसपटक कांग्रेस नेतृत्वमा एमालेसहितको संयुक्त सरकार भए पनि अर्थमन्त्रीमा कांग्रेसका डा. रामशरण महत रहेकाले उनकै बढी सदासयताले काम गर्ने आंकलन गरिएको छ । जसले कांग्रेस अर्थात महतको चित्त बुझाउनसक्छ, उसैले गभर्नरको पद हत्याउन सक्ने संभावना छ – जानकारहरु बताउँछन् ।