एनसेलले सरकारलाई तिर्यो झण्डै १० अर्ब, बाँकी १५ अर्ब तिर्ने कहिले ?

737 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई तिर्नुपर्ने २५ अर्ब रुपैयाँ मध्ये झण्डै १० अर्ब बल्ल बल्ल तिरेको छ ।

635538973935312500नेपाल दुरसंचार प्राधिकरणले बारम्बार ताकेता गरेपछि एनसेलले बल्ल झण्डै १० अर्ब तिरे पनि १५ अर्ब कहिले तिर्ने भन्ने बारेमा केही खुलाएको छैन मेरो लगानी डट कमले खबर लेखेको छ ।

उक्त कम्पनीले आर्थिक २०७०/७१ मा सरकारलाई आयकर ६ अर्ब २५ करोड , नवीकरण शुल्क २ अर्ब ५० करोड, र ग्रामीण दूरसञ्चार शुल्क ९६ करोड ८२ लाख रुपैयाँ तिरेको छ ।
ठूला करदाता कार्यालयका अनुसार उक्त आर्थिक वर्षमा कारोबार रकम र नाफाका आधारमा एनसेल सबैभन्दा ठूलो कम्पनी हो । आर्थिक वर्ष २०६९/७० मा ४ अर्ब ४७ करोड ९२ लाख रुपैयाँ आयकर तिरेर सबैभन्दा ठूलो करदाता सम्मान पाएको  छ ।

प्रतिस्पर्धामा दोस्रो स्थानमा झरेको नेपाल टेलिकमले आर्थिक वर्ष २०७०/ मा ३९ अर्ब २६ करोड ८४ लाख रुपैयाँ कारोबार गरी करिब ३ अर्ब ९१ करोड रुपैयाँ आयकर बुझाउँदैछ ।
एनसेलको कारोबार वृद्धिदर उच्च रहेको छ । एनसेलले २०७०/७१ मा ४८ अर्ब ४१ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त वर्ष सञ्चालन खर्च १३ अर्ब १० करोड ७१ लाख रुपैयाँ भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले आम्दानी ९ अर्ब ९० करोड रुपैयाँ बढाएको छ भने खर्च ८४ करोड रुपैयाँ मात्र वृद्धि भएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा मात्र कर तिरेर खुद नाफा १७ अर्ब ८६ करोड ४० लाख कमाएको छ । असार मसान्तसम्ममा ३९ अर्ब ४५ करोड संचिन नाफा आर्जन गरेको छ ।
१० करोड रुपैयाँ मात्र चुक्ता पुँजी रहेको यो कम्पनीको स्थिर सम्पत्ति २८ अर्ब १५ करोड ६५ लाख रुपैयाँ भएको लेखापरीक्षण भएको आर्थिक प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदन अनुसार कम्पनी ऋणमुक्त छ ।

 गत दुई आर्थिक वर्षमा कम्पनीले ५ अर्ब रुपैयाँ रोयल्टी तिरेको छ । एनसेलले २०६४ सालमा लाइसेन्स लिँदा १० वर्षपछि नवीकरण गर्दा २० अर्ब रुपैयाँ राजस्व बुझाउने प्रतिबद्धता गरेको थियो । तर सरकारले २०७० चैतमा नयाँ निर्णय गरि कबुल गरेको २० अर्ब रुपैयाँ वार्षिक साढे दुई अर्ब रुपैयाँको दरले बुझाउन पाउने सुविधा दिएको छ । प्राधिकरणका प्रवक्ता कैलाश न्यौपानेका अनुसार एनसेलले २०७७ असार मसान्तसम्ममा १५ अर्ब रुपैयाँ सरकारलाई नवीकरण शुल्क  तिर्नुपर्ने छ तर त्यो कहिले बुझाउने भन्ने बारेमा एनसेलले केही बताएको छैन ।
यति धेरै रकम कारोबार र नाफा गर्ने कम्पनीको चुक्ता पूँजी १० करोड मात्रै देखाईनु स्वभाविक मानिएको छैन् ।

एनसेलले आफ्नो ब्यवसायमा ७० अर्ब लगानी भएको दावी गरे पनि त्यो बैधानिक बाटो र बैंकिङ प्रणालीबाट नआएको भेटिएपछि ११ अर्ब रुपैयाँ नाफा बिदेश फिर्ता लैजानै प्रक्रिया रोकिएको छ ।

अर्कोतर्फ एनसेलले चर्को र अपारदर्शी शुल्क नेपाली उपभोक्ताबाट असुलेर शोषण गरेको आवाज पनि उठ्न थालेको छ ।