कामदारलाई समयमा तलव नदिने कम्पनीले थप कामदार ल्याउन नपाउने

749 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

दोहा- कतार सरकारले समयमा कामदारलाई तलव नदिने कम्पनीले थप कामदार ल्याउन नपाउने नियम प्रस्ताव गरेको छ । त्यसरी कामदार ल्याउन नपाउने व्यवस्था भनें अस्थायी हुनेछ । यो नियम कहिले देखि लागु हुने भन्ने टुँगो लाग्न बाँकी नै छ ।

घोषित नियम लागु भएमा त्यसरी समयमा कामदारलाई तलव नदिने कम्पनीहरुलाई कतारको श्रम तथा सामाजिक विषय हेर्ने मन्त्रालयले जरिवाना सहितको कारवाही गर्न सक्नेछ । सो मन्त्रालयले त्यस्ता कम्पनीले कामदारहरुको रकम चुक्ता नगरेसम्म काम गर्न नपाउने गरी बन्देज समेत लगाउन सक्नेछ ।

workers-heady

कतारको मन्त्रीपरिषदले त्यस्ता कम्पनीलाई कतिसम्म जरिवाना गर्न सक्ने भन्ने व्यवस्था सहितको कानूनलाई यसअघि नै पास गरिसकेको छ । नयाँ व्यवस्था अनुसार कामदारको तलव सिधै बैंक खातामा जम्मा गर्नुपर्ने छ ।

कानूनमा गरिने सुधारको पहिलो घोषणा कतार सरकारले गत अप्रिल महिनामा नै गरिसकेको थियो । कतारको मन्त्रीपरिषदले यस अघि नै कतारको श्रम ऐन, २००४ को दफा १४ संशोधनलाई पास गरिसकेको छ ।

त्यसयता कतारको मन्त्रीपरिषदमा पटक पटक सुधार सम्वन्धि छलफल भइरहेको छ । त्यसमा सुहाराले समेत आफ्नो राय सुझाव दिइसकेको छ । तर यति भइसक्दा पनि कतारको श्रम ऐन कहिले देखि संशोधन हुन्छ भन्ने यकिन गरिएको छैन ।

प्रस्तावित संशोधनले अहिले देखिएको तलब नदिने वा समयमा नदिने समस्यालाई सम्वोधन गर्ने अपेक्षा गरिएको छ । यो कतारमा देखिएको ठूलो समस्या हो जसका कारण कतार विश्व मञ्चमा आलोचित भइरहेको छ । त्यसैले यसलाई रोक्न कतार सरकारले बैंक खाता मार्फत तलब भुक्तानीको व्यवस्था गर्ने बाचा गरेको हो ।House maid Qatar

प्रस्तावित कानून लागु भएपछि कामदारको तलब हरेक महिना सिधै कामदारको नाममा बैंकमा खोलिएको खातामा जम्मा गर्नुपर्नेछ । हरेक घण्टाको हिसावले काम गर्ने कामदारको भुक्तानी भनें बढीमा दुई हप्ता भित्रमा बैंक मार्फत नै गरिसक्नु पर्नेछ ।

कतारका उपप्रधानमन्त्री अहमद विन अव्दुल्लाह अल मोहम्मदले हरेक कामदारको तलव महिना सकिएको पहिलो हप्ता भित्र बैंकमा जम्मा भइसक्नु पर्ने व्यवस्था गरिएको छ । कानून पालना नगर्ने कम्पनीहरुले नयाँ कानून अनुसार धेरै चरण पार गरेर मात्र फेरी काम गर्न पाउने व्यवस्था  गर्न लागिएको उनले बताए ।

त्यसरी कामदारको तलब नदिएर कालोसूचीमा परेका कम्पनीहरुलाई मन्त्री वा उनका प्रतिनिधिले फुकुवा गरिदिन सक्ने भएपनि त्यसका लागि धेरैवटा अनुमति लिनु पर्ने उनले बताए ।

Qatar 2

गतबर्ष बैंक मार्फत कामदारको तलव भुक्तानीको घोषणा गरिएपछि त्यसका लागि कतारको केन्द्रीय बैंकले पनि यसका लागि तयारी गरिरहेको छ ।

नयाँ व्यवस्था तीन चरणमा लागु गर्ने तयारी गरिएको छ ।

पहिलो चरणमा ५ सय भन्दा धेरै कामदार काम गर्ने ठूला कम्पनीहरुमा यो नियम लागु हुनेछ ।

त्यसपछि दोश्रो चरणमा १ सय देखि ५ सय कामदार काम गर्ने कम्पनीमा यो नियम लागु हुनेछ भनें तेश्रो चरणमा १ सय भन्दा थोरै कामदार काम गर्ने कम्पनीमा यो नियम लागु हुनेछ ।

-देश परदेश डट कमबाट