कांग्रेस महाधिवेशनमा कोइराला परिवारको किचलो
754 पटक पढिएको
काठमाडौं, – आगामी भदौमा हुन गइरहेको नेपाली काँग्रेसको १३ औं महाधिवेशनका लागि झण्डै आधा दर्जनले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन । यसपटकको महाधिवेशनबाट नेपाली काँग्रेसमा कोइराला परिवार विस्थापित हुुने तर्क टिप्पणी हुन थालेको छ । गिरिजाप्रसाद कोईरालाको निधनसँगै नेपाली काँग्रेसमा कोइराला परिवारको विरासत खस्किदै गएको मानिन्छ । केन्द्रीय कार्यसमितिको फागुन ६ गते बसेको बैठकले भदौमा काठमाडौंमा १३ औं महाधिवेशन गर्ने निर्णय गरेसंगै काँग्रेस नेताहरु महाधिवेशनमा केन्द्रीत भएका छन एभरेष्ट दैनिकले खबर लेखेको छ ।
कोइराला परिवारभित्रै किचलो
कोईराला परिवारका उत्तराधिकारी अहिले कमजोर मात्र होईन गुटगत विभाजनमा छ । नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा पनि कोइराला परिवारबाट सभापतिको उम्मेदवारी आउने पक्का भएको भएपनि परिवारभित्रै आपसी तिक्तताका कारण अहिले तीन चार जनाको उम्मेदवारीको चर्चा छ ।
गिरिजाप्रसादपछि कोईराला परिवारले सुशील कोईरालालाई पार्टीको सभापति बनाउनु भने ठूलो उपलब्धी हो । तर १२ औं महाधिवेशनपछि महामन्त्री बनाउने आश्वासन दिएपनि सुशील कोईराला गिरिजा पुत्री सुजाता कोईरालालाई महामन्त्री बनाउन उनी असफल भए । भतिजा शेखरलाई सुशीलले राम्रो मान्दैनन् भने शशांकप्रति भने उनको आडभरोसा छ । अहिले सु्शीलको सबै व्यवस्थापनको काम शशांकले गर्छन । त्यसैले सकभर आफै उठ्ने नभए शशांकलाई सभापति बनाउने योजना सुशीलको छ । परिवारको विरासत धान्न कस्सिएका सुजाता कोईराला, शशांक कोईराला र शेखर कोईरालाबीचमा अहिले सामान्य बोलचालभन्दा राम्रो सम्बन्ध छैन । त्यसैले कोइराला परिवारमा आफ्नैलाई चित्त बुुझाउनु पहिलो चुनौती बनेको देखिन्छ ।
कोइराला परिवारबाट सकभर सुशील नै आउँदो महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नेछन । यो सम्भावना निकै बलियो छ । आपसमा विवाद जस्तो देखिएपनि पारिवारिक विरासत धान्नका लागि कोइराला परिवार एक ठाउँमा उभिने गरेको छ । यसपटक शंशाक कोइरालाले सभापतिको उम्मेदवारीको घोषणा गरिसकेका छन भने सुजाता र शेखर कोइरालाले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन । पूर्वी नेपाल पुगेर शंकाकले भने ‘ म सभापतिका लागि योग्य छु । देउवा र सुशील दाले पार्टीलाई गुटगत बनाउनु भयो । त्यसैले अब पार्टी चलाउन सक्ने क्षमता म संग छ ।’
कस्सिए प्रकाशमान सिंह
सुशील निकट स्रोतका अनुसार सुशील सभापति बन्ने अवस्था आएमा सुुजाता, शशांक र शेखर उपसभापति तथा महामन्त्री बन्नेछन । सभापतिका लागि महामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेर चुनावी अभियान समेत थालेका छन् । उनले भने, ‘पार्टीको नेतृत्व अब अर्को पुस्तामा सर्ने भएपछि म सब ैहिसाबले योग्य उम्मेदवार हो ।’ महाधिवेशनमा नयाँ नेतृत्वका लागि पहल गर्ने उनले बताए । गणेशमान सिंहका छोरा प्रकाशमानले कोइराला परिवार विरोधीलाई समेत आफ्नो मोर्चामा राखेर उम्मेदवारी दिने घोषणा गरेका छन । गणेशमानसिंह प्रतिष्ठान मार्फत सरकारको सहयोग समेत उनले चुनावी अभियानमा प्रयोग गरेको चर्चा पनि चल्न थालेको छ ।
देउबा झन के कम ?
सुशील कोइरालासंग थोरै मतको अन्तरले पराजित शेरबहादुर देउवा पनि सभापतिका उम्मेदवार बन्ने भएका छन । उनले कोइरालाका असफलताका कथा सुनाएरै मात्र जित्न सकिने उनको दाउ छ । कोइरालाको चार वर्षे कार्यकालका असफलताका बारेमा देउवाले विभिन्न जिल्लामा भाषण गरिरहेका छन । देउवालाई सबैभन्दा सजिलो के छ भने उनको गुटबाट अरु कोहीपनि सभापतिका आकांक्षी छैनन् । त्यसैले देउवाले यसपटकदेखि पारिवारिक विरासत तोडिने भन्दै गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण लगायतबाट प्रचार गर्न लगाएका छन । खाँणले भने, ‘पार्टीलाई हरेक हिसाबले पिछलग्गु बनाउने काम भयो । नयाँ नेतृत्व आवश्यक छ । यस पटक त्यो कुरा पुरा हुन्छ । ’ उपसभापति रामचन्द्र पौडेलले पनि सभापतिका लागि छुट्टै समूह बनाएरै १३ औं महाधिवेशनमा केन्द्रीत भएका छन ।
पौडेलदेखि आचार्यसम्म सभापतिका आकांक्षी
सुशीलबाट कार्यवाहक सभापति पाउने आश्वासन पाएर पनि धोका खाएका पौडेलले यसपटक महाधिवेशनबाटै कोइरालालाई हराउने तयारी गरिरहेका छन् । ११ औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाका प्रतिस्पर्धी रहेका कानुनमन्त्री नरहरि आचार्य पनि सभापतिको आकांक्षी छन् । आचार्य आफै अहिले कोईरालाका निकटवर्ती मानिन्छन् ।
शक्तिको चलखेल
काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री कोइरालाले महाधिवेशनलाई लक्षित गर्दै मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी समेत गरेका छन । अर्थमन्त्री रामशरण महत, शिक्षामन्त्री चित्रलेखा यादव, संचारमन्त्री मिनेन्द्र रिजाललगायतलाई हटाएर नयाँ अनुहार पठाउने कोईरालाको तयारी रहेको स्रोत बताउँछ । महत, रिजाल लगायतलाई फिर्ता बोलाउँदा पार्टीमा समस्या पर्ने अवस्था आए जतिसक्दो बढीलाई मन्त्रीपरिषद्मा थप्ने पनि तयारी कोइरालाले गरिरहेका छन । बालुवाटार स्रोतका अनुसार दिलेन्द्रप्रसाद बडुु, फरमुुल्लाह मन्सुर, दिलबहादुुर घर्ती, आनन्द ढुुंगाना लगायतलाई मन्त्री बनाउने कोईरालाको तयारी छ ।
इतिहासतिर फर्केर हेर्दा
नेपाली काँग्रेसभित्र मात्र होईन संसारमै एउटा उदाहरणीय राजनीतिक परिवारभित्र नेपालको कोईराला परिवार पर्छ । कृष्णप्रसाद कोइरालाका छोरा मध्ये मातृका प्रसाद कोईराला, विश्वेश्वर प्रसाद कोईराला र गिरिजाप्रसाद कोईराला नेपालको प्रधानमन्त्री बन्न सफल भए । स्थापनादेखि नै नेपाली काँग्रेसमा कोईराला परिवारको प्रभाव छ । २००८ सालमा मातृकाप्रसाद कोईराला र ०१६ सालमा पहिलो जननिर्वाचित सरकारको नेतृत्व गर्दै वीपी कोईराला प्रधानमन्त्री भए । ०४७ सालको राजनीतिक व्यवस्था परिवर्तनपछि पटक पटक गिरिजाप्रसाद कोईराला नेपालको प्रधानमन्त्री बने । नेपालका सबैजसो राजनीतिक आन्दोलनको नेतृत्व गर्दै आएको काँग्रेसमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोईरालाको निधनपछि कोईराला परिवार कमजोर मात्र बनेको छैन गुटगत राजनीतिमा समेत होमिएको छ । यसको असर १३ औं महाधिवेशनमा पर्ने देखिन्छ ।
वीपी कोईरालाले सन १९४६ साल अक्टुबर २ मा भारतको पटनाबाट प्रकाशित हुने द सर्च लाईट पत्रिका मार्फत भारतमा रहेका नेपालीलाई संगठित गर्ने उद्देश्यले नेपालीको अखिल भारतीय संगठन निर्माणका क्रममा नेपाली काँग्रेसको स्थापना भएको होे । विक्रम संवत २००३ कात्र्तिक १५ गते वीपी कोईरालाको सक्रियतामा वनारसमा बस्ने नेपाली संगठीत भएर देवीप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसकोस्थापना भयो । त्यही वर्षको माघमा प्रथम महाधिवेशनले यसको नाम नेपाली राष्ट्रिय काँग्रेस राखेको थियो । महाधिवेशनले वीपी कोईरालालाई कार्यकारी सभापति र नेपालको जेलमा रहेका टंकप्रसाद आचार्यलाई मानार्थ सभापति चयन गर्यो । त्यही वर्षको फागुन २० गते विराटनगरमा पहिलो पल्ट गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा मजदुर आन्दोलन भयो । २००४ सालमा देवीप्रसाद सापकोटाको सभापतित्वमा नेपाली राष्टिय काँग्रेसको प्रथम अधिवेशन काशीमा भएको थियो । त्यसले डिल्लीरमण रेग्मीलाई एक वर्षका लागि अध्यक्ष छनोट गर्यो । २००५ देखिनै कोइराला परिवार र अरुबीचको झै झगडा शुरु भएको मानिन्छ । फलस्वरुप २००५ साउनमा कोलकातामा नेपाली प्रजातन्त्र काँग्रेस स्थापना भयो । त्यतिबेला मातृका गुट नेपाली प्रजातन्त्र काँग्रेसमा विलय भयो । नेपाली प्रजातन्त्र काँग्रेसको मन्त्रीमा महेन्द्रविक्रम शाह थिए । पछि महाधिवेशनले साहलाई सभापति चयन गरेको थियो । त्यसपछि २००६ साल चैत १४ गते नेपाली प्रजातन्त्र काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेस कोईराला समूहबीच पार्टी एकता भयो । चैत २७ मा कोलकातामा भएको सम्मेलनले पार्टीको नाम नेपाली काँग्रेस राखेको थियो । नेपाली काँग्रेस गठन लगत्तै पार्टीमा कोइराला परिवार हावी हुन थालेको थियो । छिटफुट बाहेक सबैजसो नेतृत्व कोइराला परिवारमा र शक्तिशाली संघर्षको नेतृत्वपनि कोइराला परिवारले लिएको छ । खासगरी सशस्त्र संघर्ष, शान्तिपूूर्ण तथा निर्णायक आन्दोलन यी सबैमा कोइराला परिवारले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । विक्रम संवत २०२९ साल भदौं ९ गते वीपी कोइरालाको नेतृत्वमा नेपालमा सशस्त्र संघर्ष भएको थियो । त्यसो त ३० सालको आसपास कोइरालाबाट नेतृत्व अरुले लिने प्रयास समेत भएको थियो । त्यतिबेलादेखीनै गणेशमान सिंहसंग कोइराला परिवार निकै डराउँथ्यो । गणेशमानलाई पार्टी नेतृत्वमा आउन नदिने त्यतिबेला वीपी उपचारका लागि अमेरिका जाँदा कृष्णप्रसाद भट्टराइलाई पार्टीको कार्यवाहक अध्यक्ष घोषणा गरिएको थियो । वीपी फर्किएपछि फेरि उनलेनै काँग्रेसलाई हाँकेका थिए । त्यतिबेलानै भाई गिरिजाप्रसाद कोइरालालाई पार्टीको महामन्त्रीको रुपमा अगाडी सारिएको थियो ।
विक्रम संवत २००८ सालमा नेपालमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार समेत गठन भयो । सरकार गठनसंगै मातृकाप्रसाद कोईराला र वीपी कोईरालाबीचको विवादले उग्ररुप लिएपछि फागुनमा हुने भनिएको महाधिवेशन स्थगित भयो । पछि २००९ मा वीपी कोईराला नेपाली काँग्रेसको सभापति भए । विवाद बढेपछि मातृकाले २०१० मा राष्टिय प्रजा पार्टी गठन गरे। २०१२ सालमा सुवर्णसमशेर पार्टी सभापतिमा छानिए । त्यस्तै १७ सालमा फेरी वीपी सभापति बने भने ०३४ सालमा कृष्णप्रसाद भट्टराई सभापति बने । ०३९ सालमा वीपीको निधन भयो । ०४८ सालमा कृष्णप्रसाद भट्टराई फेरि सभापति बने भने त्यस लगत्तै वीपीका भाई गिरिजाप्रसादले पार्टीको लगातार नेतृत्व गरे । गिरिजाप्रसादको २०६६ साल चैत ७ मा निधन भएपछि फेरि सुशील कोईरालाले काँग्रेसको नेतृत्व गरे । १२ औं महाधिवेशनले सुशीललाइनै काँग्रेसको सभापति चयन गर्यो । अहिले पनि कोइराला परिवारबाटै सभापतिको दावी गरिएको छ ।