औद्योगिक करिडोरको विकास संगै जोखिमपूर्ण बन्दै धादिङको राजमार्ग
945 पटक पढिएको
केशव अधिकारी
धादिङ, – केही बर्ष अघि सम्म धादिङको खानीखोला देखि जोगिमारा सम्मको यात्रामा तपाईले पक्कै पनि सडक छेउमा मौसम अनुसारको खेतीवाली पक्कै देख्नु भएको थियो होला । तपाईको मनै लोभ्याउने त्यो मनमोहक दृष्यमा अहिले निकै कमी आउन थालेको छ । सडक छेउका खेतमा तरकारीको हरीयाली होइन उद्योग धन्दाको धुंवा र फोहोर देखिन थालेको छ । सडक छेउका अधिकांश खेतीयोग्य जमिनमा वजार विस्तार संगै विभिन्न किसिमका उद्योग कारखाना स्थापना हुनेक्रम बढेको छ । राजधानीको नजिकै रहेका कारण धादिङ जिल्लाको राजमार्ग क्षेत्रलाई औद्योगिक करिडोरको रुपमा विकास गर्न थालिएको छ । धादिङको खानीखोला देखि जोगिमारा सम्मको सडक छेउमा उद्योग व्यवसाय खुल्ने क्रमसंगै धादिङमा विकास र रोजगारीको अवसर संगै चुनौतीहरु पनि बढ्न थालेको छ ।
प्रचलित कानुन र सामाजिक संरचनाको समेत ख्याल नगरी स्थापना भएका कतिपय उद्योग वातावरण मैत्री नभएका कारण राजमार्ग र नदी प्रदुषित हुनुका साथै समुदायमा समेत असर देखिन थालेको छ ।
भएका उद्योगलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र नयाँ आउने उद्योगलाई उपयुक्त स्थान र वातावरण तयार गर्न सरकारी तथा अन्य सरोकारवाला निकायको ध्यान जान नसक्दा औद्योगिक विकासले वाताबरण तथा मानव स्वास्थ्यमा असर पार्न थालेको हो । पछिल्लो समय धादिङको राजमार्ग क्षेत्रमा तिब्र रुपमा उद्योग स्थापना भएका छन् । हाल धादिङमा खाना पकाउन प्रयोग गरिने एलपी ग्यास, सिमेन्ट, औषधी, पोलीफर्म, ईटा,बधशाला,बालुवा धुने उद्योग, ढुंगाखानी ठुला लगानीका उद्योगहरु स्थापना हुनेक्रम बढ्दै गएको छ । बिशेष गरी राजमार्ग आसपासमा स्थापना भएका यस्ता उद्योगहरुमा ठुला घरानियाँका व्यवसायीहरुले लगानी गर्दै उद्योग स्थापना गरिरहेका छन । खेतान समुह एचपी ग्यास, अग्रवाल समुह मेडिसिन, दुगड युनाईटेड सिमेन्ट र गोल्छा व्यवसायिक फुल खेतीबाट धादिङमा प्रवेश गरिसकेका छन ।
राजधानमिा बढ्दै गएको जनसंख्या र सांघुरो वन्दै शहरका कारण ठुला लगानीका उद्योग व्यवसायको लागि राजधानी प्रवेश गर्ने धादिङको राजमार्ग पहिलो रोजाईमा परेको हो । अहिले सम्म ठुला लगानीका दुई दर्जन ठुला उद्योग धादिङको बिशेष गरी स्थापना भई सकेको नेपाल ट्रेड युनियन महासंघ धादिङका पुर्व अध्यक्ष विमल थापा बताउनुहुन्छ । । २०६३ साल अघिसम्म धादिङमा उद्योगको नाममा निर्माण सामाग्रीका लागि चाहिने ढुंगा प्रशोधन गर्नका लागि स्थापना गएिका क्रसरहरुनै ठुला उद्योगको रुपमा रहेको पनि थापाले वताउनु भयो ।
देशका ६७ जिल्ला र भारतीय भुमिबाट स्थलमार्ग हुंदै आउने विदेशीहरु राजधानी प्रवेश गर्ने धादिङको राजमार्ग क्षेत्रमा उद्योग स्थापना हुनु आर्थिक दृष्टिकोणवाट महत्वपूर्ण भएपनि कृषिका लागि उर्वर भुमीहरु औद्योगिक प्लटमा रुपान्तरण हुंदै जांदा भोलीका दिनमा खेतीयोग्य जमिनको अभाव बढ्ने बाताबरणवीदहरुको भनाई छ । ठुला उद्योगहरुले स्थानीय स्तरमा रोजगारीको सृजना गरेर विदेश जाने जनशक्तीलाई गाउंघरमै रोजगारी दिनु राम्रो पक्ष भएपनि उद्योगका कारण बढ्दै गएको बाताबरण प्रदुषण नियन्त्रण मुख्य चुनौती भएको वाताबरण संरक्षण कर्मी उत्तम कंडेल वताउनुहुन्छ ।
उद्योग संगै भित्रिएको प्रदुषण र खेतियोग्य जमिनको क्षयिकरणले कालान्तरमा जिल्लाको पहिचाननै मेटिन सक्ने कंडेलको चिन्ता छ । ठुला उद्योगहरु भित्रिनु राज्य र निजिक्षेत्रका लागि फाइदा हो । यसले समग्र जिल्लाको विकासमा सहयोग पुगेपनि खेतियोग्य उर्वर भुमीलाई औद्योगिक क्षेत्रका रुपमा विस्तार गर्न नहुने कंडेलको सुझाव छ ।
राजधानीसंग जोडिएको जिल्ला भएकाले यहाँका फाँटहरुलाई जोगाएर कम खेतीहुने स्थानमा उद्योग व्यवसाय स्थापना गर्नुपर्ने घरेलु तता साना उद्योग विकास समिति सञ्चालक समितिका अध्यक्ष जगन्नाथ नेपाल बताउनुहुन्छ । उद्योग व्यवसायका लागि निश्चित औद्योगिक क्षेत्रको विकास हुनुपर्ने नेपालको भनाई रहेको छ । धादिङ जिल्ला तरकारी ,फलफुल, अन्न उत्पादन, पशुपालनका लागि उपयोगी स्थान भएकाले औद्योगिक विकास संगै जिल्लाको उत्पादनलाई पनि प्राथमिकता दिन सके सबैको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने साना किसान कृषि सहकारी संघ धादिङका अध्यक्ष शिववहादुर भण्डारी बताउनुहुन्छ ।
राजमार्ग आसपासमा बढ्दै गरेका उद्योग धन्दा, जिल्लाको व्यवसायिक तरकारी फलफुल तथा पशुपालनको वजार राजधानी लगायत नजिकका शहर पोखरा, नारायणगढ, बुटवल, हेटौंडा सम्म सजिलै संग लैजान सकिने सम्भावना रहेको छ । यसैगरी राजधानी प्रवेश गर्ने मुख्य दुई सडक पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, चिन भारत जोड्ने रसुवा ठोरी सडकको मध्य भाग धादिङमा रहेकोले धादिङमा हरेक प्रकार उद्योगको उत्तिकै संभावना रहेको भण्डारी बताउनुहुन्छ ।
धादिङमा जलविद्युत, चुनढुंगा, रुवी तथा बहुमुल्य पत्थर, जस्ता खानी, जडिबुटीको प्रच्युर संभावना रहेको जिल्लामा यहाँको उत्पादन सुहाउँदो उद्योग स्थापनामा जोड दिनु पर्ने स्थानीयको माग छ । स्वतस्फुर्त रुपमा कृषि उत्पादनको लहर चलेको बेला ठुला लगानीको व्यवस्थापन संगै स्थानीय उत्पादनको पनि संरक्षण हुनुपर्ने धादिङ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रामशरण गौतमको सुझाव छ ।
ठुला लगानीका औद्योगिक प्रतिष्ठान स्थापना हुनेक्रम बढ्ेपनि देशको अस्थिर राजनीतिक अवस्थाले लगानीकर्ताहरु उत्साहित र ढुक्क हुननसकेको, उद्योग नीति र सुरक्षामा सरकारी अस्पष्टता, सरकारै पिच्छे नीति परिवर्तन जस्ता चुनौती उद्यमीले झेल्नु पर्ने समस्या रहेको गौतमको भनाई छ । धादिङमा कृषि, जलस्रोत, खनिज, पर्यटन उद्योगहरुको विकास गर्न सके आम जिल्ला बासीले प्रत्यक्ष लाभ लिन सक्ने गौतमले बताउनु भयो ।
धादिङको ८८ किलो मिटर राजमार्ग क्षेत्रमा वर्षमा सरदर तीनदेखि चार वटा ठुला उद्योग स्थापना हुने गरेको पाईएको छ । तिब्र गतिमा स्थापना भएका उद्योगहरुको सूचिमा आधा भन्दा बढी हिस्सा खाना पकाउन प्रयोग हुने एलपी ग्यास उद्योगले ओगटेको छ । सात वर्षको बीचमा धादिङको मझिमटारदेखी नौबिसे सम्म ग्यास उद्योग मात्रै १३ वटा स्थापना भएका छन् । सिमेन्ट २, औषाधी उत्पादन गर्ने २, फोम, चाइनिज ईटा, कंक्रिट पोल र ह्युमपाइप उद्योग १÷१ वटा छन् । पचासवटा क्रसर र वालुवा प्रशोधन गर्नेउद्योगहरु सञ्चालनमा छन् ।
पछिल्लो समय राजमार्ग क्षेत्रमा खुलेका ठुला उद्योग बाहेक धादिङमा गत असार सम्ममा ३६ सय १५ वटा उद्योग दर्ता भएका छन् । वाणिज्य तर्फ २१ सय चार वटा फर्म दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति धादिङको अभिलेखले देखाएको छ । इजाजत पत्र लिनु पर्ने बाहेक डेढ करोड लगानी सम्मका उद्योग जिल्लामा दर्ता हुने गर्दछन । इजाजत लिनु पर्ने र सो भन्दा माथि लगानी भएका उद्योगहरु सिधै उद्योग विभागमा दर्ता हुने भएकाले जिल्लामा कुनै जानकारी नहुने गरेको कार्यालयले जनाएको छ । कार्यालयको अभिलेखमा रहेका उद्योग व्यवसायहरु मध्येवबाट जिल्लामा अहिले संचालित उद्योग व्यवसायमा २६ करोड ९७ लाख, १३ हजार ५ सय रुपयाँ पुँजी लगानीबाट १५ सय सात जनाले प्रत्यक्ष रोजगारी पाएको कार्यालयले जनाएको छ ।