कम्पनबीच स्कुल बनाइरह्यौँ

764 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– राधिका खतिवडा

Radhika

तपाईंहरूको कल्याण होस् !
धादिङ, मुरलीभन्ज्याङका विष्णुहरि सापकोटाले काँपेको आवाजमा हाम्रो कल्याणको कामना गर्दा मेरा आँखा झन्डै रसाएका थिए । हामीले उनको घर बनाइदिएका थियौँ । लाखौँ नेपालीको जस्तै उनको पनि घर भत्काइदिएको थियो भुइँचालोले । बस्ने घर थिएन, खाने अन्न थिएन । घर खण्डहर भएको थियो । घर लड्दा विष्णुहरिको जग्गाजमिनको लालपुर्जा पनि पुरिएको थियो ।

हामीले भग्नावशेष हटायौं । लालपुर्जा भेटियो । केही उपयोगी सामग्री पनि झिकिदियौँ । त्यतिबेला उनले हामीसँग साटेको खुसीलाई बयान गर्न मसँग शब्द छैनन् । आज पनि उनका शब्द मेरा कानमा गुञ्जिरहन्छन्, ‘भूकम्पले मेरो दुनियाँ तहसनहस भएको थियो । तपाईंहरू आएर बस्ने बास बनाइदिनुभयो । तपाईंहरूको कल्याण होस् !’

radhika
स्कुल बनाउँदै लेखक खतिवडा ।


ठेला फुटेर रक्ताम्मे हुन्थे । त्यतिबेला हामीसँग कुनै औषधि थिएन । बोकेका केही औषधि सुरुकै दिनहरूमा सकिए । गाउँमा घर निर्माण गर्ने, कटेरो बनाउने, काठ काट्ने, हातेआरी चलाउनेलगायत काम गर्ने मान्छे छुट्टाछुट्टै हुन्थे । विपत्को बेलामा हामी सबै काम गरिरहेका थियौँ ।

विनाशकारी भूकम्पपछि अनुभव नै नभएका र कहिल्यै नगरेका काम गर्ने अवसर पाइयो । धेरै जिल्ला तहसनहस भएका थिए । त्यस्तो बेला हाम्रो संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले पीडितहरूको उद्धार र राहतको काम सुरु गर्‍यो । पहिलो चरणमा रक्तदानको मेसो मिलाउने र भग्नावशेष हटाउने काम थालियो । भुइँचालोका कारण गम्भीर घाइते भएकालाई रगत अभाव हुन नदिने घोषणा गरेरै हामीले रक्तदान अभियान थालेका थियौं । अनेरास्ववियुका साथीहरूले १७ जिल्लामा रगत संकलन गर्नुभयो । उद्धारपछि हामी राहत वितरणमा सक्रिय भयौँ ।

सँगसँगै सरसफाइ अभियान पनि चलायौँ । तेस्रो चरणमा हामी पुनर्निर्माणमा जुट्यौँ । विद्यालय पुनर्निर्माण हाम्रो पहिलो प्राथमिकतामा थियो । अनेरास्ववियुले देशैभरि भूकम्पले भत्किएका विद्यालय निर्माणका लागि १३ टोली गठन गरेको थियो । मलाई धादिङका विद्यालय निर्माणको जिम्मा दिइएको दियो । २५ वैशाखमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै टोलीलाई काठमाडौँबाट बिदाइ गर्नुभयो ।

भोलिपल्ट मेरो नेतृत्वको टोली धादिङ पुग्यो । हामीले थाक्रे–४ को बाराही प्राथमिक विद्यालयबाट अभियान सुरु गर्‍यौ । पहिलो स्कुल निर्माणकै क्रममा हामीलाई २९ वैशाखको अर्काे शक्तिशाली भुइँचालाले अत्यायो । त्यो दिन हामी स्कुल बनाइसक्न लागेका थियौँ । त्यतिखेर मलाई आफ्नो घर परिवार, नातागोता कसैको याद आएन । मात्र हामीले बनाउँदै गरेको स्कुल नभत्किए हुन्थ्यो भन्ने मात्र लाग्यो ।

२९ वैशाखको यो भुइँचालोले त्रंग्रिदै गरेको नेपाली मनोविज्ञानलाई फेरि थला बसाइदियो । अनेरास्ववियुका केन्द्रीय साथीहरूले काम छाडेर काठमाडौँ फर्कन आग्रह गर्नुभयो । तर, हामी पुनर्निर्माण कार्यमा जुटिरह्यौं । किनभने, आफ्नो सुरक्षाका पर्वाह गरेर काठमाडौँ फर्किनुभन्दा धादिङका स–साना भाइबहिनी स्कुल गएको हेर्न चाहन्थ्यौँ हामी । भूकम्पले स्वाभाविक रूपमा हाम्रो टिममा पनि उतारचढाव आयो । वैशाख २९ को भूकम्पपछि धेरै साथीले धादिङ छाड्नुभयो । तर, हामीले हरेस खाएनौँ । बाँकी साथीहरूको साथ र उत्साहले हाम्रो अभियान चलिरह्यो ।

२९ वैशाखको यो भुइँचालोले त्रंग्रिदै गरेको नेपाली मनोविज्ञानलाई फेरि थला बसाइदियो । अनेरास्ववियुका केन्द्रीय साथीहरूले काम छाडेर काठमाडौँ फर्कन आग्रह गर्नुभयो । तर, हामी पुनर्निर्माण कार्यमा जुटिरह्यौं । किनभने, आफ्नो सुरक्षाका पर्वाह गरेर काठमाडौँ फर्किनुभन्दा धादिङका स–साना भाइबहिनी स्कुल गएको हेर्न चाहन्थ्यौँ हामी ।

एक महिनाको निरन्तर खटाइका क्रममा धादिङका विभिन्न ठाउँमा १५ विद्यालय भवन र एउटा घर निर्माण गर्‍यौँ । हाम्रो टोलीले निर्माण गरेका सामुदायिक विद्यालयहरू यसप्रकार छन्ः

१) बाराही प्राथमिक विद्यालय, थाक्रे–४
२) उडुवादेवी प्राथमिक विद्यालय, थाक्रे–३
३) गायत्रीदेवी प्राथमिक विद्यालय, नीलकण्ठ नगरपालिका–८
४) चुनीदेवी माध्यमिक विद्यालय, आरुघाट–४
५) सल्यानटार उच्च माध्यमिक विद्यालय, सल्यानटार–७
६) भीमोदय माध्यमिक विद्यालय, सल्यानटार–२
७) पाल्पा सामरी भन्ज्याङ माध्यमिक विद्यालय, नीलकण्ड नपा–९
८) देउराली माध्यमिक विद्यालय, नीलकण्ठ नपा–८
९) चण्डेश्वरी उच्च माध्यमिक विद्यालय, नीलकण्ठ नपा–१०
१०) जलदेवी प्राथमिक विद्यालय, नीलकण्ठ नपा–१०
११) बछलादेवी माध्यमिक विद्यालय, सत्यदेवी–९
१२) चन्द्रोदय माध्यमिक विद्यालय, विशालटार–८
१३) कालिकादेवी प्राथमिक विद्यालय, मुरलीभन्ज्याङ–८
१४) ग्लोबल युनाइटेड स्कुल, आरुघाट–४
१५) किबु बोर्डिङ स्कुल, नीलकण्ठ नपा–८

यीमध्ये जलदेवी प्राथमिक विद्यालय हामीले ‘सुपर फास्ट’ बनाएका थियौँ । पाँच घण्टामै विद्यालय भवन ठडिएको थियो । स्थानीय सहभागिता पनि साह्रै राम्रो थियो ।  पुनर्निर्माणका क्रममा हामी जुन विद्यालय बनाइरहेका हुन्थ्यौँ, त्यहीँ पाल टाँगेर सुत्थ्यौँ । दालचामल हामीले बोकेका थियौँ । तरकारी गाउँलेहरूले दिन्थे । साँझ–बिहान दुई छाक खोजीमेलो गरेर खान्थ्यौँ । तालु पगाल्ने गर्मीले पनि सताउँथ्यो । निरन्तरको श्रमले शिरदेखि पाउसम्म फतक्क गल्नेगरी थकान हुन्थ्यो । जस्तो भए पनि ठूलो डब्बीमा पकाएको खाना महीसँग मुछेर खान्थ्यौँ । त्यसको स्वाद दिव्य हुन्थ्यो ।

दिनभरि काममा व्यस्त हुन्थ्यौँ । स्कुल बनेपछिको खुशीमा रमाउँदै चर्को घाममा श्रम गरिरहन्थ्यौँ । नानीहरूले भविष्यमा प्राप्त गर्ने शिक्षाको ज्योतिको तुलनामा हामीले खेपेको चर्काे घामले कुनै अर्थ राख्दैनथ्यो ।  हाम्रो टोलीमा ताप्लेजुङदेखि बैतडीसम्मका साथीहरू हुनुहुन्थ्यो । श्रम गर्दा छिनछिनमा कोही साथीको हातमा, कसैको खुट्टामा चोट लाग्थ्यो । कसैलाई जस्ताले काट्थ्यो । काम गर्ने अभ्यास नभएको हुँदा काँटी ठोक्दाठोक्दै औँलामा ठोकिन्थ्यो । धेरै साथीहरूका नङ उक्किए । हातमा ठेला नउठ्ने त कोही पनि थिएन ।

ठेला फुटेर रक्ताम्मे हुन्थे । त्यतिबेला हामीसँग कुनै औषधि थिएन । बोकेका केही औषधि सुरुकै दिनहरूमा सकिए । गाउँमा घर निर्माण गर्ने, कटेरो बनाउने, काठ काट्ने, हातेआरी चलाउनेलगायत काम गर्ने मान्छे छुट्टाछुट्टै हुन्थे । विपत्को बेलामा हामी सबै काम गरिरहेका थियौँ । कुनै अनुभव र सीप नभएका काममा पनि हात हालिरहेका थियौँ । कामको प्रकृति र विशिष्टतासँग हामीलाई मतलब थिएन । बस्, कामको ध्येयसँग मतलब थियो ।

केही गाउँलेलाई सम्झाउनै गाह्रो पथ्र्याे । हामी गाउँमा पुग्दा गाउँलेहरूको बुझाइ फरक थियो । हामीलाई कतैबाट पैसा लिएर ठेक्कामा काम गर्न आएको बुझ्थे । गाउँलेहरू फुर्सदिलो शैलीमा हाम्रो कामको रमिते बने । उनीहरू अग्लो डिलमा उभिएर कम्मरमा हात राखेर हामीले गरेको काम टुलुटुलु हेर्थे । कुनै ठाउँमा त शिक्षक–शिक्षिका समेत रमिते बने । पछि हामीले गाउँलेका बीचमा गएर कुरा ग¥यौँ । उनीहरूलाई सम्झायौँ, ‘हामी धेरै टाढादेखि तपाईंको गाउँमा भत्किएका स्कुल निर्माण गर्न आएका छौँ । यो तपाईंहरूकै सम्पत्ति हो । यो निर्माणमा तपाईंहरूको सहभागिता आवश्यक छ ।

तपाईका छोराछोरी पढ्ने स्कुल, तपाईंले जागिर खाने ठाउँ निर्माण गर्न तपाईं किन नजुट्ने ?’ कुरा बुझेपछि गाउँलेहरू पनि पुनर्निर्माणमा सहभागी हुन थाले । तर, केही व्यक्ति भने फेरि पनि चौतारीमा बसेर मस्तसँग तास फिटिरहेका हुन्थे । हामी पसिना काढेर श्रमदान गर्न जुन गाउँमा पुगेका थियौँ, त्यहीँका गाउँले मग्न मस्तसँग पलेटी मारेर तास खेलेको देख्दा हामीलाई लाग्नुसम्म नमज्जा लाग्थ्यो । रिस पनि उठ्थ्यो । तर, हाम्रो एउटै उद्देश्य भूकम्पले भत्किएका संरचना पुनर्निर्माण गर्नु थियो । त्यसैले तास खेल्नेहरूलाई पनि सम्झाउने कोसिसमा लाग्थ्यौँ । ‘हामी तपाईंहरूको गाउँ बनाउन आएका छौँ, तपाईंहरू यसरी समय खेर फाल्दै हुनुहुन्छ । यसले हामीलाई निराश बनाएको छ ।

तास खेल्ने समयमा तपाईंहरू सबै निर्माणमा जुट्नुभयो भने एक दिनमै एउटा विद्यालय बन्छ । भोलि तपाईंहरूकै छोराछोरी विद्यालय जान पाउँछन् ।’ हामीले यसरी सम्झाउँदा पनि गाउँलेहरू चुप लागेर बसे । जवाफ दिएनन् । गाउँले तास खेलेर बसेको र विद्यार्थीले विद्यालय निर्माण गरेको समाचार भोलिपल्ट रेडियो धादिङमा बजेछ । भोलिपल्ट बिहानै केही साथी उठेका थियौँ, केही साथी उठ्नु भएको थिएन । गाउँका केही बूढापाका आएर ‘गाउँलेले स्कुल निर्माणमा कस्तो सहयोग गर्नुपर्छ ?’ भन्नुभयो । खानेकुरा हामीसँगै थियो । श्रम गर्न हामी तयार थियौँ । ‘गाउँलेले श्रममा साथ दिए पुग्छ’ भन्यौँ । त्यस दिनदेखि तास खेल्ने गाउँलेहरू पनि हामीसँगै भत्किएका विद्यालय निर्माणमा जुटे ।

कतिपय ठाउँमा गाउँलेले हाम्रो स्वागत पनि गरे । दिदीबहिनीहरूले खाना बनाइदिए । दाजुभाइहरूले बाँस काटेर ल्याइदिए । बूढापाका आएर काम गर्न सिकाए र सघाए पनि । ‘टाढाबाट आउनुभएको छ, हामी के गरौँ, कस्तो सहयोग गरौँ ?’ भन्ने पनि थुप्रै भेटिए । एमालेका स्थानीय नेता र कार्यकर्ताको त साथ हुने नै भयो । अरू पार्टीका मान्छेले समेत विभिन्न सहयोग गरे । केही नेपाली कांग्रेसका स्थानीय नेता-कार्यकर्ताले हामीलाई एक छाक खुवाउनेदेखि जस्तापातासम्म किनेर ल्याइदिए । माओवादीका स्थानीय नेताले पनि सक्दो सहयोग गरे ।

राजनीतिक हिसाबले जुन–जुन पार्टीमा भए पनि विपत्तिपछिको पुनर्निर्माणमा हामी एकजुट भएर लाग्यौँ । पुनर्निर्माणपछि पीडितहरूको मुहारमा छाउने खुशीले हामी आनन्दित हुन्थ्यौँ । कतिपयले भने हामीलाई कामदार देखेँ । पैसा खाएर विद्यालय निर्माण गर्न आएको भन्ने बुझे । धेरैले हाम्रो स्वयंसेवाको भाव बुझे पनि कतिपयले बुझेनन् । बुझ्नेहरूले दिएका प्रतिक्रियाले हामीलाई काम गर्ने ऊर्जा मिल्थ्यो ।

हामीले पाँच कोठे विद्यालय भवन निर्माण गरिदिएपछि पाल्पा सामरी भन्ज्याङ माध्यमिक विद्यालयकी प्रधानाध्यापक ज्ञानु थापाले साटेको खुशी मेरो मोबाइलमा रेकर्ड गरेकी थिएँ । जुन म अहिले पनि पटक–पटक सुन्छु । ‘हामी विपत् र दुःखमा थियौँ । स्कुल कसरी चलाउने भन्ने अन्योल थियो । केही सोच्नै सकेकी थिइनँ ।

अभिभावकले स्कुल सञ्चालनको विषयमा प्रश्न गर्दा मसँग कुनै उत्तर थिएन । तर, आज अनेरास्ववीयुका साथीहरूले विद्यालय बनाइदिनुभयो । अब हामी विद्यालय सञ्चालनमा ल्याउन सक्षम भएका छौँ । तपाईंहरूलाई धेरै–धेरै धन्यवाद !’ उहाँले भन्नुभएको थियो । यस्ता प्रतिक्रिया र हौसलाले हामीलाई थप काम गर्न ऊर्जा मिल्थ्यो ।  १५ ओटा विद्यालय बनाएपछि हामीले एउटा घरसमेत निर्माण ग¥यौँ । त्यो घर, मुरलीभन्ज्याङका उनै विष्णुहरिको थियो, जसले अतिशय आभारी भएर भनेका थिए– तपाईंहरूको कल्याण होस् !
उनीजस्ता विपद्मा परेका लाखौँ नेपालीको कल्याण होस् !

(खतिवडा अनेरास्ववियुका केन्द्रिय सचिव हुनुहुन्छ । )

अभियानका केही तस्बीरहरु :-

nepali

Nepal Youth


Radhika khatiwada

Radhika

– नयाँ पेज डट कमवाट