कक्षा ११ र १२ को परीक्षा दिन छुटेका विद्यार्थीलाई अर्काे अवसर –

690 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 Student_exam-300x290धादिङ– असार २, प्रथम चरणको परीक्षामा सहभागी हुन नपाएका कक्षा ११ र १२ का विद्यार्थीलाई यही असार ७ गतेभित्र निवेदन दिन उच्च माध्यमिक शिक्षा परिषद्ले आग्रह गरेको छ ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लामा अध्ययनरत् परीक्षार्थीहरुलाई आउँदो ७ गतेभित्र निवेदन दिन परिषद्ले आग्रह गरेको हो ।

परिषद्ले निवेदनका साथमा आवश्यक प्रमाणसहित आफू अध्ययनरत विद्यालयको सिफारिस र आफ्नो प्रवेशपत्रको प्रतिलिपी दिन पनि विद्यार्थीलाई सूचित गरेको छ ।

उच्च माध्यमिक शिक्षा परिषद्को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर वा उच्च माध्यामिक शिक्षा परिषद्को काठमाडाँै कार्यालय भीमसेनगोलामा मात्रै निवेदन दिन सकिने परिषद्ले स्पष्ट पारेको छ ।

असार ७ गते भित्रमा निवेदन नदिएका परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन नसकिने परिषद्ले आज सूचना प्रकाशित गरेर जनाएको छ ।

परिषद्ले गोरखा, धादिङ नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडाँैं, भक्तपुर, ललितपुर, सिन्धुली, ओखलढुङ्गा र मकवानपुर गरी १४ जिल्लामा १४ असारदेखि कक्षा १२ को र असार २४ गतेदेखि कक्षा ११ को दोस्रो चरणको परीक्षा सञ्चालन गर्न लागेको हो ।

पहिलो चरणको परीक्षामा सहभागी भएका परिक्षार्थी दोस्रो चरणको परीक्षामा सहभागी हुन नपाउने परिषद्ले स्पष्ट पारेको छ । पहिलो चरणको परीक्षामा सहभागी भएको परीक्षार्थी दोस्रो चरणको परीक्षामा पनि सहभागी भएको पाइएमा दुवै परीक्षा रद्द गरिने परिषद्ले निर्णय गरेको छ ।

अन्य ६८ जिल्लामा परिषद्ले कक्षा ११ को पहिलो चरणको परीक्षा भने हिजोदेखि सुरु गरेको छ । त्यसैगरी कक्षा १२ को परीक्षा गएको ३० गते सकिएको थियो ।