भदौ १८ मा नयाँ संविधान ! यस्तो छ सम्भावित ‘फास्ट ट्रयाक’ –

634 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

श्रावण ३० । संविधानसभाले संविधानको मस्यौदा विद्येयक तयार पार्नका लागि संविधानसभाको मस्यौदा समितिलाई ५ दिनको समय दिएको छ । ५ दिनको समय श्रावण ३२ गते सकिँदैछ ।

योबीचमा मस्यौदा समितिले संविधानको मस्यौदा विद्येयकलाई अन्तिम रुप दिनुपर्नेछ । अझै पनि केही विषयमा मस्यौदा समितिले शीर्ष नेताहरुको निर्णय कुर्नुपरको छ । शीर्ष नेता सम्मिलित विशेष समितिले केही विवादित विषयलाई टुंग्याउन बाँकी नै रहेको छ ।

सीमाकंन, धर्म, नागरिकता, ‘थ्रेस होल्ड’लगायतका विषयमा मस्यौदा समितिले शीर्ष नेताहरुको निर्णय पर्खेर बसेको छ । जबसम्म यी विषयमा सहमति जुट्दैन, मस्यौदा समितिले काम सम्पन्न गर्न सक्दैन ।

राजनीतिक दलहरुले जसरी पनि संविधान जारी गर्ने इच्छाशक्ति देखाएकाले अन्तिम समयसम्म जसरी पनि सहमति हुने देखिएको छ । मस्यौदा समितिले ५ दिनमा आफ्नो काम सक्यो भने त्यसपछिको कार्यतालिका यस्तो हुनेछ ।

संविधानसभाको सम्भावित ‘फास्ट ट्रयाक’ तालिका
श्रावण १ गते संविधानसभामा संविधानको मस्यौदा विद्येयक पेश हुन्छ । सभसादलाई वितरण गर्ने र अध्ययनका लागि एक दिनको समय दिइनेछ । मस्यौदा विद्येयक पेश भएपछि ३ गतेदेखि सैद्धान्तिक छलफल हुन्छ । सैद्धान्तिक छलफलका लागि कम्तीमा दुई दिन लाग्छ ।

सैद्धान्तिक छलफलपछि सभासदहरुले मस्यौदा विद्येयकमा संसोधन प्रस्ताव राख्न पाउछन् । संशोधन प्रस्तावका लागि संविधानसभा नियमावलीमा ७ दिन छुट्टाइएको छ । त्यसका लागि तीन दिनसम्म भने पनि चाहिने पक्षमा दलहरु छन । तर, अन्त्यमा संशोधन प्रस्तावका लागि दुई दिनको समय दिइने बताइएको छ ।

संशोधन प्रस्तावलाई एकीकृत बनाउन दुई दिनको समय लाग्नेछ । संशोधनमा पनि विरोधको सूचना राख्नेलगायतका कामका लागि पनि कम्तिमा एक दिन समय लाग्छ । स्वीकार गरिएका संशोधनसहितका प्रस्तावहरुलाई मिलान गर्नुपर्छ । त्यसपछि मात्रै संविधानको विद्येयक तयार हुन्छ । त्यसका लागि पनि अर्को दुई दिन लाग्छ ।

त्यसपछि संविधानका प्रत्येक धाराहरुमा दफाबार छलफल हुन्छ र त्यसलाई पारित गरिन्छ त्यसका लागि पनि कम्तीमा दुई दिन लाग्छ ।

त्यसपछि संविधानको एकीकृत मस्यौदालाई मतदानबाट पारित गरिन्छ । त्यसका लागि कम्तीमा दुई तिहाइ मत जरुरी छ । यो कामका लागि पनि कम्तिमा एक दिनको समय लाग्छ ।

संविधानको विद्येयक एकीकृत रुपमा पास भइसकेपछि त्यसमा सबै सभासदहरुको हस्ताक्षर जरुरी पर्छ । त्यसका लागि पनि एक दिन समय लाग्छ ।

सबै सभासदहरुले हस्ताक्षर गरिसकेपछि संविधानलाई संविधानसभाका अध्यक्षले प्रमाणीकरण गर्ने र राष्ट्रपतिले हस्ताक्षर गर्ने काम हुन्छ । त्यसका लागि पनि एक दिन लाग्छ । यसरी हिसाब गर्दा संविधानसभामा पेश भएर जारी हुने प्रक्रियासम्म कम्तिमा १५ दिन लाग्छ । यो समय निकै छोट्टाउँदा हुने समय हो । योभन्दा कम समय लगाउन मिल्ने अवस्था छैन ।

यो अवधिमा शनिबारसहित तीन दिन सार्वजनिक बिदा परको छ । श्रावण ३२ गतेसम्म संविधानको मस्यौदा समितिले संविधानको मस्यौदा विद्येयक तयार पार्‍यो भने र त्यसपछि सरासर काम भयो भने भदौ १८ गतेसम्म संविधान जारी हुन सक्छ । –