कांग्रेसमा भारतनिटक बन्नेको होडबाजी

659 पटक पढिएको

सम्पादक: Dhading News

Nepali-congress-1060x400 हुन त प्रमुख सत्तारुढ नेपाली कांग्रेसमा भारतको एजेन्डामा नेताहरू हिँड्ने र कार्यान्वयन गराउन लागि पर्ने परम्परा नौलो होइन । ०४६ सालको जनआन्दोलन सफल भएपछि भएको निर्वाचनमा कांग्रेसले बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले मन्त्रिपरिषदमा छलफल गर्न लागेका गोप्य सूचना भारतलाई चुहाएको भन्दै दुई मन्त्रीलाई बर्खास्त गरेका थिए । तर, उनीहरूलाई हटाउनुको कारण भने अर्कै देखाइएको थियो । त्यसरी बर्खास्तीमा पर्नेमा तत्कालीन सरकारका कानुनमन्त्री तारानाथ रानाभाट र वाणिज्यमन्त्री गोपालमान श्रेष्ठ थिए ।

विशेषगरी यहाँबाट सुरु भएको कांग्रेसको भारतपरस्त रोग अहिले खुलमखुला चलिरहेको पार्टीभित्रै चर्चा हुन थालेको छ । एकपछि अर्को नेता भारतीयसँगको विषयमा जोडिएका समाचार आउन थाले ।

वर्तमान कांग्रेस नेतृत्वको कोलिसन सरकारमा मन्त्रिपरिषद्को सूचना भारतलाई जानकारी गराएको विषयमा दुई मन्त्रीबीच विवाद नै सतहमा आयो । ती मन्त्री थिए, एकजना उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र अर्का सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल ।

जनआस्था साप्ताहिकले लेखेअनुसार मन्त्रिपरिषद् बैठकमा नै उनीहरूको गोप्य सूचना चुहिएको विषयमा भनाभन समेत भएको थियो । एकले अर्कालाई दोषारोपण गर्ने काम भयो । त्यही विषयलाई लिएर मन्त्री गौतमका तत्कालीन प्रेस सहयोगी विश्वमणि सुवेदीले एक अनलाइनमा एउटा लेख नै लेखेका थिए । सोही विषयमा गृहमन्त्री गौतमले स्पष्टीकरण दिएर सुवेदी आफ्नो प्रेस सहयोगी नभएको विज्ञप्ति निकाले ।

वामदेव गौतमले भारतको वकालत गरेको विषय यो हो भनेर केही सार्वजनिक भएको छैन । तर, सूचना तथा सञ्चारमन्त्री रहेका कांग्रेस केन्द्रीय सदस्य डा. रिजालले भने भारतको चासोमा विशेष ध्यान दिए । भारतले नौ दिनदेखि लगाएको नाकाबन्दीको विरोधमा नेपालमा रहेका केवल टिभीका सञ्चालकले भारतीय च्यानलको प्रसारण बन्द गरे । भारतीय च्यानल बन्द गर्ने नेपालका केबुल टिभी अपरेटरलाई मन्त्रालयमार्फत २४ घन्टे स्पष्टीकरण सोध्न लगाए मन्त्री रिजालले । उनको त्यो कार्यपछि प्रधानमन्त्री सुशील कोइराला रुष्ट बन्दै मलाई सोध्दै नसोधी के गरेको भनेर रिजाललाई हप्काएको बालुवाटार स्रोत बताउँछ ।

यसअघि पनि मन्त्री रिजाल विवादमा तानिएका थिए । उनी मन्त्री बन्दा नै भारतको आशीर्वादले बनेको आरोप लाग्ने गरेको छ । पदमनारायण चौधरी र अर्जुननरसिंह केसीमध्ये एकजनालाई मन्त्री बनाउने तयारी थियो, प्रधानमन्त्री कोइरालाको । तर, भारतीयको तारन्तार दबाब र महामन्त्री कृष्ण सिटौलालाई रिझाउन कोइरालाले रिजाललाई मन्त्री बनाउन बाध्य भएको कोइराला निकट रहेका कांग्रेस नेता बताउँछन् । मन्त्री बनेपछि पनि उनी निजी जीवनका अरू विषयमा पनि विवादमा तानिए ।

यही सरकारमा रहेका अर्का मन्त्री तथा कांग्रेसको १२औं महाधिवेशनमा महामन्त्रीमा पराजित नेता विमलेन्द्र निधि पनि भारतसँग राम्रो सम्बन्ध भएको नेतामा नेतामा पर्छन् । उनका बुवा महेन्द्रनारायण निधिका पालादेखिको उनको भारतसँगको सम्बन्ध अहिले पनि कायम छ ।

मधेसमा संविधानका विषयमा आन्दोलन हुँदा आफूले पनि संविधान निर्माणको प्रक्रिया छोडेर बाहिरिने धम्की निधिले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री कोइरालालाई दिएका थिए । मन्त्री निधिले आफू जाने बेला काठमाडौं तराई फास्ट ट्रयाक निर्माणको काम विवादित भारतीय कम्पनीलाई दिने फाइल मन्त्रिपरिषदबाट स्वीकृत गराउन लागिपरेको मन्त्रिपरिषद कार्यालय स्रोतले बतायो ।

नाकाबन्दीका कारण जनता मारमा परिरहेको अवस्थामा र देशमा भारतविरोधी भावना बढिरहेका बेला मन्त्री निधि नै भारतकै पक्षमा महत्त्वपूर्ण निर्णय गराउन लागिपरेका छन् । चीनसँगको तातोपानी नाका र रसुवागढी नाका खोल्नका लागि आवश्यक बजेट नदिएको आरोप पनि मन्त्री निधिमाथि लागेको छ । भूकम्पले बिगारेको सडक बनाउनका लागि बजेट रोकेको भौतिक पूर्वाधार मन्त्रालय स्रोतले बतायो । उनले बजेट रोकेपछि अन्य दलले विरोध गरिरहेका छन् ।

भारतको नाकाबन्दीले नेपाली जनताले सास्ती भोग्नुपरिरहेको अवस्थामा नेपालका मन्त्री भने अझ पनि भारतको पक्षमै खुलेरै वकालत गरेपछि कांग्रेसमा विरोधको स्वर चर्को मात्रामा उठेको छ ।

कांग्रेसमा अहिले सरकार बाहिर रहेका वरिष्ठ नेता पनि भारतसँग सम्बन्ध रहेकाहरू त्यसलाई बचाइराख्न र नभएकाले सुधार गर्न लागिरहेका छन् । उपसभापति रामचन्द्र पौडेलले सम्बन्ध सुधारका लागि पटकपटक गरेको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन । भारतले नचाहेकै कारण १७ पटकसम्म चुनाव लड्दा पनि प्रधानमन्त्री जित्न नसकेपछि उनी भारतसँग सम्बन्ध सुधारका लागि प्रयास गरिरहेको निकट स्रोत बताउँछ ।

महामन्त्री कृष्ण सिटौला भारतसँग अनावश्यक निकटता बनाउने नेताका रुपमा कांग्रेसभित्र आलोचित छन् । १२औँ महाधिवेशनमा २५ खुला केन्द्रीय सदस्यमध्ये १५औं नम्बरमा चुनाव जितेका थिए उनले । तर, सिनियर नेतालाई पन्छाउँदै मनोनित महामन्त्री बन्न सफल भए । यसमा भारतीय चासोले नै काम गरेको कांग्रेसका केही नेताको दाबी छ ।

सभापति कोइरालाले बिहानसम्म मनोनित महामन्त्रीका लागि प्रस्ताव गर्न भनेर डा. रामशरण महतको नाम ठिक्क पारेका थिए । एकजना ‘भारतीय प्रतिनिधि’ आएपछि एकाएक उनको नाम काटिएर सिटौलाको नाम प्रस्ताव भएको स्रोतको दाबी छ । त्यति मात्र होइन, सिटौलाले भारतसँग आफ्नो सम्बन्ध राम्रो भएको भन्दै कांग्रेसका नेतालाई पनि थर्काउँदै आफ्नो पक्षमा काम गराउँदै आएको कांग्रेसकै नेताको गुनासो रहने गरेको छ ।

वर्तमान सरकारमा शिक्षामन्त्री रहेकी कांग्रेस कोषाध्यक्ष चित्रलेखा यादव पनि भारतसँग निकट सम्बन्ध राख्ने नेतामा पर्छिन् । तर, उनी पदाधिकारी भए पनि पार्टीमा त्यति नचल्ने भएकाले देखिन्नन् । मन्त्री भएपछि भने भारतसँग सम्बन्ध रहेका शैक्षिक संस्थाको काम हेर्दै नहेरी गर्ने गरेको आरोप लाग्दै आएको छ ।

यीबाहेक कांग्रेसका सभासद् अमरेशकुमार सिंह भारतकै लालनपालनमा हुर्केको आरोप लाग्ने गरेको छ । युवा नेता गगन थापाको सम्बन्ध पनि भारतसँग राम्रो रहेको छ ।

‘नेपालको संविधान– ०७२’ पारित हुने दिन ३० भदौ र जारी भएको दिन असोज ३ गते उनी कम खुसी देखिन्थे । उनले मिडियामा पनि प्रतिक्रिया दिएका थिएनन् ।

उनलाई जनआन्दोलन ०६२÷६३ मा राजाको विरुद्धमा अभिव्यक्ति दिँदा प्रहरीले गिरफ्तार गरेको थियो । पछि भारतीय राजदूतावासको सक्रियतामा छुटाइएको आरोप लाग्ने गरेको छ । त्यसबेलादेखि नै उनलाई भारत परस्तको आरोप लाग्दै आएको छ । १२औं महाधिवेशनअघि पार्टीको प्रवक्ता हुने बेलासम्म नेता अर्जुननरसिंह केसी पनि भारतसँग निकट रहेका नेता मानिन्थे । तर, अहिले भारतसँग सम्बन्ध बिग्रिएको बताइन्छ ।

पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र प्रभावशाली नेता खुमबहादुर खड्का पनि भारत निकटका नेतामा गनिन्छन् । खड्काले नयाँ संविधान निर्माणका बेला सञ्चालन गरेको हिन्दुराज्य महाअभियानमा कांग्रेस नेता लक्ष्मण घिमिरे, हरिबोल भट्टराई, शंकर भण्डारी, पुष्पा भुसाल, अजय चौरासिया पनि लागेका थिए । उनको त्यो अभियानलाई भारतले सपोर्ट गरेको नेताहरूले खुलमखुला बताउँदै आएका छन् ।

अर्का केन्द्रीय सदस्य महेन्द्र यादवले भारतसँग निकट बन्नका लागि अन्य पार्टीका पनि युवा संगठनका नेतालाई समेटेर नेपाल–भारतमैत्री युवा संघ नामक संस्था खोलेका छन् । अहिले अड्कोपड्को परेका बेला धान्ने माध्यम बनेको छ ।

कोइराला परिवार पनि भारतविरोधी बन्न नसक्ने कांग्रेस नेता बताउँछन् । गिरिजापुत्री सुजाता कोइराला, बिपी पुत्र डा. शशांक कोइराला र डा. शेखर कोइराला पनि भारतसँग नजिककै मानिन्छन् । त्यसमध्ये धेरै इन्टोमेसी डा. शेखरको रहेको बताइन्छ । माओवादी जनयुद्धमा रहेका बेला उसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका शेखरलाई त्यतिबेलादेखि नै भारतले मन पराउँदै आएको छ ।

यीबाहेक मधेसबाट राजनीति गर्ने कांग्रेसका प्रायः नेता बेटी र रोटीको सम्बन्ध भएकाले पनि प्रायः सबै निकट नै रहेको देखिन्छ । साभार ः रातोपाटीबाट