सुशील कोइरालालाई सन्न्यास लिन सुझाव ‘प्रधानमन्त्रीमा उम्मेदवारीले अपूरणीय क्षति’
520 पटक पढिएको
राजनीतिक जीवनको उत्कर्षमा पुगेका सुशील कोइराला एउटा गलत निर्णयले सधैंभरि पछुताउनुपर्ने अवस्थामा पुगेका छन् । अत्यन्त रहस्यपूर्ण ढंगले पुनः प्रधानमन्त्री पदको उम्मेदवार बन्दा एकातिर उनको कथित त्यागी नेताको छवि धुलिसात भयो भने अर्कोतिर उनी कहाँबाट परिचालित छन् भन्ने शंसयसमेत पैदा भएको छ ।
सुशील कोइराला प्रधानमन्त्री पदका लागि गलत व्यक्ति थिए । यदि हामी ०४६ सालयताका प्रधानमन्त्रीको कुरा गर्छौं भने उनीजति कमजोर र अकर्मण्य प्रधानमन्त्री सायदै अर्को भेट्नेछौं । ०४६ सालअघि पनि नगेन्द्रप्रसाद रिजाल मात्रै उनको तुलनामा आउँछन् ।
कोइरालाको व्यक्तित्वमा कुनै पनि त्यस्तो खुबी भेटिँदैन, जसले देशको नेतृत्व गर्न योग्य बनाओस । देशको मात्रै होइन, कुनै सानोतिनो संगठनको नेतृत्व गर्ने क्षमता पनि उनको देखिँदैन ।
भविश्यको आँकलन गरेर हिँड्न सक्ने दुरदृष्टि भएको, धेरै मान्छेलाई समेट्न सक्ने, स्वविवेकमा निर्णय लिन सक्ने क्षमता कोइरालामा पहिलेदेखि नै थिएन । पार्टी सभापति र त्यसपछि प्रधानमन्त्री नबन्दासम्म आफैंले गुण-दोष छुट्याएर निर्णय लिनुपर्ने ठाउँमा उनी कहिल्यै थिएनन् ।
सुशीलका पिताजी वन विभागका रेन्जर थिए । टाठाबाठा पिताजीको छत्रछायाँमा हुर्के । पढाइतर्फ खासै अगाडि बढ्न सकेनन् । मलाई थाहा भएसम्म उनले आइए ज्वाइनसम्म गरेका हुन् । औपचारिक पढाइ एसएलसी नै हो । ०१६ सालमा तुल्सी गिरी मन्त्री हुँदा उनको पीए भएर काम गरेका हुन् कोइरालाले । सायद उनको व्यक्तित्वका लागि उपयुक्त जिम्मेवारी त्यही थियो ।
पहिले वीपीको र पछि गिरिजा एवं नोनाको सेवा गरेर उनले पार्टीमा हैसियत बनाएका हुन् । गिरिजाले उनलाई केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालयमा बसेर षडयन्त्र गर्ने अवसर दिएका थिए । केन्द्रीय सदस्य हुँदा गिरिजाको सेवा गर्नेभन्दा उनको दोस्रो काम थिएन ।
कोइरालाका सवलता र दुर्वलता
कोइरालाका सवल पक्षहरु असाध्यै थोरै छन् । उनी जानी-जानीकन अनैतिक काम गर्नेखालका मान्छे होइनन् । उनलाई आर्थिक प्रलोभनमा पार्न कठिन छ । त्यसैले अहिलेसम्म उनको स्वच्छतामा प्रश्न उठाउने ठाउँ देखिँदैन । नेपालको सन्दर्भमा यो ठूलै प्लस प्वाइन्ट हो, किनकि यहाँका नेताहरुको मुख्य रोग भनेकै भ्रष्टाचार मानिन्छ ।
आफूले भ्रष्टाचार नगरे पनि आफू मातहतकालाई भ्रष्टाचार गर्नबाट रोक्न भने सकेनन् कोइरालाले । आफ्नो मन्त्रिमण्डलका धेरै सदस्यहरु भ्रष्टाचारमा लिप्त रहँदा उनले रोक्न सकेनन् ।
जहाँसम्म सुशीलको त्यागी छविको कुरा छ, यसमा चाहिँ म विश्वास गर्दिँन । केका आधारमा उनलाई त्यागी भन्ने गरिएको हो, मलाई थाहा छैन । नेपालगञ्जमा रहेको पुख्र्यौली जग्गा मलाई चाहिँदैन भनेर भाइहरुलाई दिएको आधारमा हो भने बेग्लै कुरा । तर, राजनीतिमा लागेको व्यक्तिले मन्त्री बन्दिँन भन्यो भने त्यसलाई त्याग भन्न मिल्दैन । त्यो आत्मविश्वासको कमीले हो ।
कोइरालाका पालामा संविधान घोषणा भयो, यो उनको अहोभाग्य हो । यद्यपि संविधान निर्माण उनको कार्यकालमा हुनु एउटा संयोग मात्रै हो । उनले संविधान निर्माणको नेतृत्व गरेको भन्न मिल्दैन । अन्तिम समयमा पनि उनले खुट्टा कमाइरहेका थिए ।
संविधान निर्माण प्रक्रिया स्थगत गरेर आफू अमेरिकाबाट फर्केपछि मात्रै अघि बढाउने उनको सोच थियो । यदि उनको सोचअनुसार गएको भए संविधान निर्माण तुहिन्थ्यो ।
कोइरालाको दुर्वलताको चर्चा गर्दा लामै फेहरिस्त तयार हुन्छ । यसलाई चारवटा बुँदामा चर्चा गर्न चाहन्छु :
१. आत्मविश्वासको अभावः माथि नै चर्चा गरियो कि सुशीलले सभापति र प्रधानमन्त्री बन्नुपूर्व कहिल्यै निर्णायक भूमिकामा बस्नु परेन ।
अथवा बस्न चाहेनन् । यसले गर्दा उनमा लघुताभास पैदा भयो । यो लघुताभास कस्तो खालको भने, जसलाई पनि शंकाको दृष्टिले हेर्ने ।
आफूलाई घेरिरहेको जमातभन्दा बाहिर कसैलाई विश्वास नगर्ने । उदाहरणका लागि कुनै मन्त्रीले राम्रै खालको प्रस्ताव ल्याएको छ भने पनि यसले पैसा खानै खोज्यो भनेजस्तो गर्ने ।
२. राजनीतिक चातुर्य न्यूनः राजनीतिक चातुर्य कत्ति पनि नभएको सबैभन्दा बलियो उदाहरण केपी ओलीविरुद्ध प्रधानमन्त्री पदका लागि दिएको उम्मेदवारी नै हो । केपी ओलीको पक्षमा बहुमत जुटिसकेको अवस्थामा प्रधानमन्त्री पदमा उम्मेदवारी दिनुले उनको अदूरदर्शिता देखाउँछ । । पौडी खेल्न नजान्नेले गहिरो पोखरीमा हाम्फालेजस्तै कुरा हो यो ।
३. निर्णय क्षमता नहुनुः उनी आफ्नो स्वविवेकले कहिल्यै निर्णय लिँदैनन् । सहयोगीहरुमा भर पर्छन् । यसको प्रमुख कारण भनेको विषयवस्तुको ज्ञान नहुनु हो । न कसैले सही प्रस्ताव ल्यायो भने तत्काल ‘एस’ भन्न सक्छन्, न गलत प्रस्ताव आउँदा ‘नो’ भन्न सक्छन् ।
४. साँघुरो घेराः साँघुरो घेरामा रमाउनु कोइरालाको पुरानै स्वाभाव हो । सबैलाई समेटेर हिँड्ने उनको रुची होइन । जस्तो, मन्त्रिमण्डकै कतिपय सदस्यहरुको पहुँचमा हुँदैनन् उनी ।
मलाई थाहा भएसम्म कांग्रेसका नरहरी आचार्य, दिलेन्द्रप्रसाद बडु, आनन्दप्रसाद ढुंगाना, दिलबहादुर घर्ती, सशांक कोइराला लगायतका सीमित नेताहरुको कुरा सुन्छन् उनी ।
प्रधानमन्त्रीमा उम्मेदवारीको पहेली
जहाँसम्म सुशीलको त्यागी छविको कुरा छ, यसमा चाहिँ म विश्वास गर्दिँन । केका आधारमा उनलाई त्यागी भन्ने गरिएको हो, मलाई थाहा छैन
सुशील कोइराला परम्परागतरुपमा भारतपरस्त नेता होइनन् । विगतका थुप्रै घटनाक्रमहरुमा भारतले उनलाई नरुचाएका संकेतहरु देखिन्छन् । तर, संविधान जारी भएपछि एकाएक कोइरालाप्रति भारतको सहानुभूति देखियो । अथवा, भारतले यस्तो भ्रम पैदा गरिदियो ।
सञ्चार माध्यममा त यस्तो किसिमले चर्चा भयो कि भारतले नै उनलाई केपी ओलीविरुद्ध खडा गरिदिएको हो ।
शीतलनिवासमा रामवरण, भारतीय राजदूत रणजीत राय, भारतीय गुप्तचर संस्थाका अवधेष विहारी माथुर, शेरबहादुर देउवा र कोइरालाबीच छलफल भएर उम्मेदवारी दिने तय गरिएको पनि पढियो । यो कति सत्य र कति अफवाह हो, म भन्न सक्दिनँ । तर, कोइरालाको उम्मेदवारी आफैंमा एक पहेलीको रुपमा देखिएको छ ।
नेपाली कांग्रेसको बिहीबारको बैठकमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिनुपर्ने कुरा उठेको थियो । रामचन्द्र पौडेलले पार्टीले आफूलाई उम्मेदवार बनाउनुपर्ने माग गरे । शेरबहादुर देउवाले संसदीय दल नेताको चुनाव गर्न माग गरे । सुशील कोइरालाले केही भनेनन् ।
शुक्रबार बेलुका भएको केन्द्रीय कार्यसमिति वैठकमा कोइरालाले रामचन्द्र पौडेललाई अगाडि बढ्न गि्रन सिग्नल दिएका हुन् । तर, भोलिपल्टै उनले पल्टी खाएर आफैं उम्मेदवार बन्न पुग्नु वास्तवमै आश्चर्यको घटना हो । मलाई लाग्छ, एमाओवादीका बाबुराम भट्टराई पक्षधर सभासदले आफूलाई समर्थन गर्ने, राप्रपा र राप्रपा नेपालका केही सभासद पनि आउन सक्ने र बाँकी मधेसी दलका सभासदका भोटले जित्न सक्ने लाटो हिसाब सुनाएर कोइरालालाई आश्वस्त बनाइएको थियो ।
उत्तम विकल्प सन्न्यास
यतिबेला सुशील कोइराला चरम हतोत्साही अवस्थामा छन् । भद्र सहमति अनुसार सरक्क प्रधानमन्त्री पद त्यागेर केपी ओलीलाई समर्थन गरेको भए उनको अर्कै छवि हुन्थ्यो । तर, फेरि लालच देखाउँदा कोइरालाको राजनीतिक जीवनमा अपूरणीय क्षति भएको छ ।
यो महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्दै उनले राजनीतिबाट सन्यास लिनुपर्छ । स्वास्थ्यका कारण पनि कोइराला राजनीतिमा लामो समय निरन्तरता दिन सक्दैनन्
यहाँबाट उठेर फेरि कोइरालाले फेरि राजनीतिमा आफ्नो हैसियत स्थापित गर्ने सम्भावना अब म देख्दिँन । उनलाई फेरि राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्न उक्साइएको सुनेको छु । यदि यो उक्साहटमा लागे भने यो कोइरालाको अर्को आत्मघाती निर्णय हुनेछ । उनी ठट्टाको पात्र बन्नेछन् । प्रधानमन्त्रीमा हारेको व्यक्ति लगत्तै फेरि राष्ट्रपतिमा उठ्नु जस्तो हास्यास्पद कुरा केही हुँदैन ।
यतिबेला कोइरालाका लागि सबैभन्दा उत्तम विकल्प भनेको राजनीतिबाट सन्यास हो । उनले अझै राजनीति गरिरहनुपर्ने कुनै औचित्यपूर्ण कारण छैन । कांग्रेसको आगामी महाधिवेशनमा फेरि सभापति लड्न सक्छन् । तर, यसपालि जित्न सक्दैनन् ।
आम जनमानसमा नै धुमिल भएको उनको छवि पार्टीभित्र पनि सङ्लो छैन । आफ्नो सभापतित्वमा उनले पार्टी भताभुंग पारेका छन् । त्यसैले यो महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्दै उनले राजनीतिबाट सन्यास लिनुपर्छ । स्वास्थ्यका कारण पनि कोइराला राजनीतिमा लामो समय निरन्तरता दिन सक्दैनन् ।अनलाईनखबर डटकमबाट