फिरफिरेको बिद्युत लाईन धमाधम काटिंदै

1015 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Firfire 1धादिङ,१० साउन – घरायसी प्रयोजनका लागि भन्दै जडान गरेको बिद्युत्त लाईनबाट उद्योग व्यवसाय संचालन गरेको आरोपमा बिद्युत्त प्राधिकरणले धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा संचालित बालुवा धुने फिरफिरेको बिद्युत्त लाईन काट्न शुरु गरेको छ ।
जिल्लाको गोगनपानी,बैरेनी, पिडा र गजुरी गाविसमा गरी १ सय भन्दा बढी वालुवा प्रशोधन गर्ने उद्योग (फिरफिरे) हरु संचालनमा रहेका छन । केही बर्ष अघि सम्म कुनै पनि सरकारी निकायमा दर्ता समेत नगरी चलाईएका उद्योग विस्तारै कानूनी दायरामा आएपनि अधिकांश वालुवा धुने फिरफिरेमा जडान गरिएको बिद्युत्त लाईनभने गलत ढंगबाट प्रयोग गरिएको भन्दै नेपाल बिद्युत्त प्राधिकरण गजुरी प्रशाखाले आईतबार ५० वटा भन्दा बढीको लाईन काटेर सचेत गराएको छ ।
उद्योगको रुपमा दर्ता भएको व्यवसायले औद्योगिक लाईन जडान नगरी कतिपयले घरायसी प्रयोजनकाृ लाईन, कतिले कुटानी पिसानी मिल चलाउनका लागि भन्दै लाइन लिएर वालुवा धुने मेशिन चलाउंदै आईरहेको प्राधिकरणले जनाएको छ । जिल्लामा संचालित अधिकांश फिरफिरे उद्योगका रुपमा स्थानीय गाविस, जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालय,कम्पनी रजिष्टाररको कार्यालयमा दर्ता भएपनि व्यवसाय संचालन गर्नका लागि भने बिद्युत्त लाइन जडान गर्नेको संख्या २० पनि नभएको प्राधिकरणका एक कर्मचारीले वताए ।
आईतबार बैरेनी गाविस भित्रका ४० वठा उद्योगमा जोडिएको लाइनको अनुगमन गर्दा जम्मा पांच वटाले मात्र सम्वन्धित व्यवसायका लागि भनेर लाईन जडान गरेको पाईएपछि बांकी सबैको लाइन काटिदिएको प्राधिकरणले जनाएको छ ।
महिनामा लाखौं रुपैयाको कारोवार गर्ने उद्योगले झुक्याएर बिद्युत्त लाईन जडान गरी प्रयोग गर्दै राजस्वको ठगि गरेको प्राधिकरणको ठहर छ । लाईन काटिएका उद्योगहरुमा नयाँ लाइन जडानका लागि आवश्यक प्रकृया पुरा गरी माग गरेमा तोकिएको राजस्व लिएर नयाँ लाइन जडान गरिने वताईएको छ । राजमार्ग, नदी, मठ मन्दिर, विद्यालय तथा स्वास्थ्य संस्थाको ५०० मिटर पर राखेर मात्र वालुवा प्रशोधन गर्ने फिरफिरे सञ्चालन गर्नुपर्ने नियम रहेको छ । औद्योगिक मान्यता पुरा गर्दा बढी कर तिर्नुपर्ने भएपछि कतिपयले कुटानी पिसानी मिल दर्ता गरी सोही नाममा विद्युत्त सुविधा लिएर फिरफिरे संचालन गर्दै आइरहेका छन ।