प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित, पक्षमा ३६३ र विपक्षमा २१० मत

769 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pm-prachanda-840x405
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री चयन भएका छन् । व्यवस्थापिका–संसद्मा बुधबार भएको मतदानमा प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । प्रचण्डको पक्षमा कांग्रेस, नेकपा माओवादी, राप्रपा, संघीय समाजवादी फोरम नेपाल लगायतका १६ बढी राजनीतिक दलका सांसद थिए ।

नेकपा एमाले, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायतका दलका सांसदले विपक्षमा मतदान गरेका थिए । प्रचण्डको पक्षमा ३६३ मत परेको थियो भने विपक्षमा २१० मत परेको थियो । ५९५ सदस्य रहेको संसद्मा ५७३ मत खसेको थियो । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता समेत हुन् । उनै प्रचण्डको बाल्यकाल, शिक्षा, राजनीतिक जीवन कस्तो छ त ?
बाल्यकाल
०११ साल मंसिर २६ गते बुबा मुक्तिराम र आमा भवानी दाहालको कोखबाट कास्कीको ढिकुरपोखरी गाविस वडा नम्बर २ मा जन्मिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिएका हुन् । उनको सानोको नाम छविलाल थियो ।गरिबीकै कारण उनका बुबा ०१५ सालमा कामको खोजीमा उत्तर पूर्वी भारतीय राज्य आसामको गुवाहाटी गएका थिए । ०१७ सालमा भारतबाट फर्किएका मुक्तिराम गरिबी छल्न ०१८ मा सदाका लागि कास्कीको लेवाडी छोडेर चितवन छिरेका बताइन्छ । कक्षा ३ मा अनुत्तीर्ण  भएका छविलाल ४ कक्षामा भने दोस्रो भएका थिए । त्यसपछि उनी पढाइमा कहिल्यै अनुत्तीर्ण भएनन् । कक्षा ९ मा पढ्दा उनका अंगेजी शिक्षक राजकृष्ण कँडेलले उनकोअर्काे नाम जुराए र पुष्पकमल दाहाल राखिदिए ।
शिक्षा
१५ वर्षको उमेरमै उनको ०२६ सालमा चितवनकी सीता पौडेलसँग विवाह भयो । सीता प्रचण्डभन्दा ६ महिना जेठी हुन् ।
पौडेल परिवार पनि कास्कीबाटै सरेको भएपनि सीता धनी परिवारमा जन्मिएकी थिइन् । सोही कारण पनि दाहाल परिवारले सीतासँग प्रचण्डको विवाह गराएका थिए ।
कास्कीबाट चितवन सरेपछि उनको विद्यालयको शिक्षाले त्यहीँ पूर्णता पाएको हो । ०२७ सालमा चितवनको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयबाट प्रचण्डले दोस्रो श्रेणीमा एसएलसी पास गरे । ०२९ सालमा ललितपुरको पाटन बहुमुखी क्याम्पसबाट आईएस्सी पूरा गरी उनले ०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बीएस्सी गरे ।
पढाइमा दाइभन्दा अब्बल उनका भाई गंगारामले वनविज्ञानमा चितवनको रामपुरस्थित कृषि तथा पशु विज्ञान प्रतिष्ठाबाट स्नातक र भारतको पञ्जाब विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । बेलायतको रिडिङ विश्वविद्यालयबाट विद्यावारिधि गंगाराम एसियाकै विशिष्ट अनुसन्धानकर्तामा पर्छन् ।
राजनीतिक जीवन
०२८ सालमा नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल समूह)मा पार्टीको सदस्यबाट प्रचण्डले आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका हुन् । ०३५ सालमा उनी पार्टीको पूर्णकालीन कार्यकर्ता बने । ०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका दाहाल ०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको महासचिव भएका थिए । ०४० मा उनी संघका अध्यक्ष भए ।
०४१ सालमा नेकपा (मशाल)को पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी ०४२ मा पोलिटब्युरो सदस्य, ०४६ सालमा महामन्त्री र ०४८ सालमा विभिन्न पार्टीहरूबीच एकता भई बनेको नेकपा (एकताकेन्द्र)को महामन्त्री बनेका थिए । ०५२ सालमा पार्टी विभाजन भएपछि नेकपा माओवादी नाम राखेर सो पार्टीको नेतृत्व गर्दै उनी युद्धमा होमिएका हुन् । पार्टीको ०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट उनी अध्यक्ष भए । युद्धको समयमा रहस्यमयी पात्रका रूपमा रहेका उनी ०६३ असार २ गते प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक भएका थिए ।
कसरी भए प्रचण्ड?
०४३ सालमा मोहन वैद्य र मोेहनविक्रम सिंहबीच मतभिन्नता भएपछि सो पार्टी पुनः विभाजित भई नेपाल कम्युनिष्ट पार्टी (मशाल)  बन्यो र सो पार्टीका महासचिव वैद्य बने । मशालमा पुष्पकमल दाहालको नाम ‘विश्वास’ थियो । सो पार्टीबाट ०४२ चैत्र १९ गते सशस्त्र विद्रोहीहरूले काठमाडौंका विभिन्न स्थानमा आक्रमण गरे । प्रहरीलाई सो आक्रमणबारे थाहा पाउन एक महिना लाग्यो । ‘सेक्टर काण्ड’ले परिचित सो घटनापछि  पार्टीले धक्का खाएको महसुस गर्दै नेताहरूको भूमिगत नाम परिवर्तन गर्ने निर्णय भयो । असफल सशस्त्र आक्रमणको दोष पार्टी महासचिव वैद्यलाई लागेपछि उनले पदबाट राजीनामा दिए । त्यसपछि ०४५ सालमा पुष्पकमल दाहाल उर्फ ‘विश्वास’ महासचिव बने । नेताहरू धमाधम पक्राउ पर्न थालेपछि पुष्पकमल दाहालले पार्टीलाई पुनः संगठित र सुधार गर्न आवश्यक  ठहर सबै नेताहरुको नाम फेर्ने निर्णय गरे ।
भारतीय पत्रकार अनिर्वन रोयले प्रचण्डबारे लेखेको आफ्नो पुस्तकमा माओवादी नेता सीपी गजुरेललाई उद्धृत गर्दै यस्तो भनेका छन्, “चितवनको केन्द्रीय बैठकमा मैले आफ्ना निम्ति एउटा नाम छानें,‘प्रचण्ड’ । यो हाम्रो क्रान्तिकारी चरित्रसँग मिल्दो नामजस्तै लाग्यो । त्यसको भोलिपल्ट कमरेड विश्वासले मलाई गौरव नाम राख्न सुझाव दिए । मैले छानेको प्रचण्ड नाम आफूलाई मन परेकोभन्दै आफूलाई दिन आग्रह गरे । यसरी पुष्पकमल अर्थात् विश्वास, प्रचण्डमा परिणत भए ।”
खुला राजनीति
१० वर्षे भूमिगत राजनीति त्यागेर प्रचण्ड ०६३ असार २ गते प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक भए । ०६४ चैत्र २८ गते भएको पहिलो संविधानसभाको निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२बाट विजयी भएको करिब ४ महिनापछि ०६५ साउन ३१ मा उनी गणतन्त्र नेपालको पहिलो निर्वाचित तथा दोस्रो कम्युनिष्ट प्रधानमन्त्री हुन पुगे । प्रधानमन्त्री बनको ९ महिनापछि नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको विवादास्पद बर्खास्ती गर्ने निर्णयले उनलाई ०६६ वैशाख २१ गते पदबाट राजीनामा दिन बाध्य तुल्यायो ।
पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि संविधानसभा भंग हुन पुग्यो । त्यसपछि ०७० मंसिरमा सम्पन्न भएको संविधानसभाको दोस्रो निर्वाचनमा उनी सिरहा–५ बाट विजयी भए । ०७२ असोज ३ गते संविधान जारी हुँदा अन्य दलका नेताहरूजस्तै उनको पनि महत्वपूर्ण योगदान रह्यो, संविधान निर्माणमा ।
यसबीच शान्ति प्रक्रियामा आएको १० वर्षमा उनको लोकप्रियता निकै खस्केको उनका समर्थक तथा विरोधी बताउँछन् । दोस्रो संविधानसभामा उनको दल तेस्रो भएपनि नेपाली राजनीतिको केन्द्रमा रहन भने उनी अझै सफल छन् ।
विरोधीहरू प्रचण्डलाई बोली फेरिरहने नेता भनेर आलोचना गर्छन् । उनी भने आफूलाई ‘डाइनामिक’ भन्न रुचाउँछन् ।
आगामी यात्रा
प्रधानमन्त्रीका रूपमा दोस्रो पटक सिंहदरबार छिर्न आँटेका प्रचण्डका आगामी दिन पनि सहज छैनन् । मधेसी, जनजातिलगायत आन्दोलनरत विभिन्न समूहलाई साथमा लिएर संविधानको कार्यान्वयन गर्नुपर्ने तथा झण्डै १९ वर्षदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन गराउने काम उनका लागि निकै चुनौतीपूर्ण छ । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका प्रचण्डले आगामी दिनमा प्रधानमन्त्रीका रूपमा गर्ने कामबाट नै उनको सफलता÷असफलता निर्धारण हुनेछ ।