एमालेले प्रदेश संयोजक र सहसंयोजक टुंगो लगायो, हेर्नुस् को को परे

573 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

uml-party-office_wLPP8HwsUwकाठमाडौं : नेकपा एमालेले प्रदेश समितिका संयोजक र सहसंयोजक टुंगो लगाएको छ। पार्टीभित्रको विवादका कारण टुंगो लाग्न नसकेको प्रदेश संयोजक र सहसंयोजकको नाम एमालेले टुंगो लगाएको हो। १० दिनदेखि काठमाडौंमा जारी एमाले स्थायी समितिको मंगलवार सम्पन्न बैठकले नेताहरुको जिम्मेवारी तोकेको हो। एमालेले प्रदेश नम्बर १ मा सचिव भीम आचार्य संयोजक तथा पोलिटब्युरो सदस्य शेरधन राई सहसंयोजक, प्रदेश नम्बर २ मा स्थायी समिति सदस्य सत्यनारायण मण्डल संयोजक तथा पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी सहसंयोजक र प्रदेश नम्बर ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य संयोजक तथा पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीलाई सहसंयोजकको जिम्मेवारी दिएको छ।                           यसैगरी प्रदेश नम्बर ४ मा स्थायी समित सदस्य किरण गुरुङ संयोजक तथा पोलिटब्युरो सदस्य गणेश तिमिल्सिना सहसंयोजक, प्रदेश नम्बर ५ मा उपमहासचिव विष्णु पौडेल संयोजक र पोलिटब्युरो सदस्य दलबहादुर रानामगर सहसंयोजक, प्रदेश नम्बर ६ मा उपाध्यक्ष युवराज ज्ञवाली संयोजक र पोलिटब्युरो सदस्य यामलाल कँडेल सहसंयोजक र प्रदेश नम्बर ७ मा उपाध्यक्ष भीम रावल संयोजक र पोलिटब्युरो सदस्य कर्ण थापालाई सहसंयोजकको जिम्मेवारी दिएको छ। बैठकले जिल्ला अधिवेशनबाट निर्वाचित निवर्तमान अध्यक्षहरुलाई प्रदेश संगठन कमिटीको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ।

                                 बैठकले एमाले केन्द्रीय कमिटिमा बाँकी जिम्मेवारी समेत बाँडफाँड गरेको छ। जसअनुसार उप–महासचिव घनश्याम भुषाललाई प्रवास क्षेत्रको सम्पर्क, समन्वय एवं नेतृत्व गर्ने, युवा फाँट प्रमुख महेन्द्रबहादुर पाण्डे, राजकीय मामिला विभाग प्रमुख लालबाबु पण्डित, महिला विभाग प्रमुख राधा ज्ञवाली, स्थानीय विकास विभाग प्रमुख अग्नी खरेल, किसान विभाग प्रमुख हरि पराजुलीलाई जिम्मेवारी दिएको छ। बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार, वर्तमान राजनीतिक अवस्था, अबको राजनीतिक कार्यदिशा, स्थानीय निकायको निर्वाचन, प्रदेश संयोजक र सहसंयोजक तोक्ने लगायतका एजेन्डामा केन्द्रीत भएर बैठक चलेको थियो। तर बैठकमा तय गरिएको जेष्ठ कम्युनिस्ट मञ्च निर्माण र सल्लाहकार समितिलाई पूर्णता दिने एजेन्डा भने अगाडी बढ्न नसकेको स्थायी कमिटिका सदस्य किरण गुरुङले जानकारी दिए। बैठकले गरेका थप महत्वपूर्ण राजनीतिक तथा सांगठनिक निर्णय/प्रस्ताव भदौ ८ गते बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराइले जानकारी दिए थाहा खबरमा समाचार छ ।