अवकाश पाउने उमेर पुगेर पनि काम नछाड्ने शिक्षकबाट तलब फिर्ता

803 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

अवकाश पाउने उमेर पुगेर पनि काम गरिरहेका शिक्षकबाट तीन वर्षमा सात करोड रुपैयाँ असुल
आश्विन २९, २०७३- विद्यालय शिक्षक किताबखानाले अनिवार्य अवकाश पाउने उमेर पुगेर पनि लगातार काम गर्ने शिक्षकबाट बढी अवधिमा लिएको तलब फिर्ता गराउन थालेको छ । पछिल्लो तीन वर्षमा करिब पाँच सय शिक्षकबाट सात करोड रुपैयाँ जति असुल गरिसकेको छ । एउटै शिक्षकबाट १४ लाखभन्दा बढी रकम उठाएको छ ।

शिक्षकले ६० वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश पाउँछन् । तर बढी समय काम गर्नेको संख्या ठूलै छ । आर्थिक वर्ष ०७२/७३ मा १ सय ३३ जनाले ६० वर्ष उमेर काटेपछि पनि काम गरेको पाइएपछि किताबखानाले तलब फिर्ता गराएको छ । किताबखानाका महानिर्देशक शेरबहादुर ढुंगानाका अनुसार गत आर्थिक वर्षमा एक सय ३३ जनाबाट दुई करोड २० लाख १६ हजार रुपैयाँ असुल गरिएको छ ।

‘६० वर्षमा अनिवार्य अवकाश लिनुपर्नेमा त्यसभन्दा बढी समय काम गरेर राज्यको ढुकुटीबाट मासिक रकम लिइरहेको पाइएपछि फिर्ता गराइएको हो,’ उनले भने, ‘पेन्सन पट्टा बनाउन आउने क्रममा हिसाब मिलान गरेर कट्टा गर्ने गरिएको छ ।’ २०७१/०७२ मा एक सय ५१ जनाबाट दुई करोड ६२ लाख ४१ हजार आठ सय ५८ रुपैयाँ कट्टा गरेको कार्यालयले जनाएको छ । ०७०/७१ मा दुई सय ५७ जनाबाट २ करोड ४९ लाख ४९ हजारभन्दा बढी लिएको रकम कट्टा गरेको छ ।

जागिर प्रवेश गरेको तीन महिनाभित्र शिक्षकको वैयक्तिक तथा नोकरी विरण फारम (सिटरोल) भर्नुपर्ने हुन्छ । यो विवरण शिक्षा कार्यालय हँुदै किताबखानासम्म आइपुग्छ । यो विवरण भर्दै आफूले कहिले अवकाश पाउँछु भन्ने यकिन भइसकेको हुन्छ ।

शिक्षा नियमावलीको नियम ११७ अनुसार नौ महिनाअघि नै अवकाश हुँदैछु भनेर विद्यालयमा जानकारी दिनुपर्छ । विद्यालय शिक्षक किताबखानाले सेवा निवृत्त हुनुभन्दा ६ महिनाअघि सूचना शिक्षा कार्यालयमा पठाउने गर्छ । ‘यति गर्दागर्दै जिन्दगीभर नै पढाउने शिक्षकहरूले तोकिएको भन्दा बढी अध्यापन गरेर राज्यको स्रोत फिर्ता गरिरहनुपरेको छ,’ उनले भने ।
पछिल्लो समय चार वर्ष उमेर ढाँटेर नक्कली काजगात बनाएका हेटौंडा उपमहानगरपालिका चिसापानीस्थित जनप्रिय माविका शिव दयालले १४ लाख ६१ हजार नौ सय ४३ रुपैयाँ सरकारलाई बुझाउनुपर्ने देखिएको ढुंगानाले बताए । उनले पाउने बिदा, औषधि उपचारको रकम कटाउँदासमेत दुई लाख ९८ हजार रुपैयाँ नगद तिर्नुपर्ने उनले बताए । ‘०६९ सालमा अवकाश हुनुपर्ने शिक्षक यादवले ०७३ सालसम्म जागिर खाएपछि उमेर ढाँटेको फेला पर्‍यो,’ उनले भने, ‘२००९ सालमा जन्मेका यादवले १३ सालमा जन्मेको भनेर नागरिकता बनाएको कागज पेस गरेका थिए । किताबखानाको अभिलेखमा जन्म मिति २०१३ र उनले पेस गरेको नागरिकतामा २००९ साल भएपछि नक्कली कागज बनाएको फेला परेको थियो ।’

अवकाश समय गुजार्दै काम गरेका शिक्षकले लिएको तलब कट्टी गर्न थालेपछि कतिपय शिक्षक अदालत जान थालेका छन् । अदालत जाने शिक्षकहरूले शिक्षा कार्यालयको निर्देशनमा अवकाश पाएको अवधिभन्दा बढी समय काम गरेको दाबी गरेका छन् यो खबर धादिङ न्यूजका लागि इकान्तिपुरबाट साभार गरिएको हो ।