धादिङमा अव दुई नगरपालिका र ११ गाउंपालिका हुने-कुन गाविस कता परे, कस्को नाम के प्रस्ताव गरियो ?

3239 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

धादिङबेसी,२२ कात्तिक : निक्कै लामो रस्साकसी,वादविवाद,आरोप प्रत्यारोप पछि धादिङका राजनैतिक दलहरु जिल्लाको स्थानीय निकाय २ नगरपालिका सहित ११ वटा गाउंपालिका हुनेमा सहमत भएका छन । जस अनुसार साविकको क्षेत्र नम्बर १ मा ५ गाउँ पालिका,क्षेत्र नम्बर २ मा एक नगरपालिका र २ गाउंm पालिका, क्षेत्र नम्बर ३ मा साविकको क्षेत्र नम्बर २ को केवलपुर,गोगनपानी, कल्लेरीमा समावेश गरी चार गाउँ पालिका को प्रस्ताव गरिएको छ । साविकको ४६ गाविस र १ नगरपालिकालाई समेटेर नयाँ खाका तयार पारिएको हो ।
स्थानीय तह पुर्न संरचनाका लागि तोकिएको म्याद सकिएको दुई दिन पछि निकै मेहनतका साथ धादिङका राजनैतिक दलहरु जिल्लाको पुर्नसंरचनाको बिषयमा सहमत भई स्थानीय पुर्न संरचना आयोगलाई सिफारिश गर्न सफल भएका हुन ।

दलहरुको सहमतीले तयार भएको धादिङ जिल्लाको नयाँ संरचनामा लापा, सेर्तुङ र तिप्लिङ गाविसलाई समेटेर ९ हजार ५ सय ६२ जनसंख्या रहेको रुवीभ्याली गाउँ पालिका रहनेछ जस्को केन्द्र सेर्तुङ गाविसको वडा नम्बर ३ को अबईलाई तोकिएको छ । त्यसैगरी झार्लाङ,दार्खा र सत्यदेवी गाविसलाई समेटेर खनियाबास गाउँपालिकाको प्रस्ताव गरिएको छ जस्को जनसंख्या १२ हजार ७ सय ४९ रहनेछ भने केन्द्र दार्खा गाविसको वडा नम्बर ३ कुरीलाई तोकिएको छ ।

उत्तरी धादिङको रि, गुम्दी,फुलखर्क,बसेरी र बुढाथुम उत्तरी धादिङको पांच गाविस समेटेर प्रस्ताव गरिएको गंगाजमुना गाउं पालिकाले पनि ठुलो क्षेत्रफल ओगटेको छ । यस गाउंपालिकाको केन्द्र फुलखर्क गाविसको वडा नम्बर ३ लप्सिवोट थलौटालाई तोकिएको छ भने पांचवटा गाविस समेट्दा जनसंख्या २१ हजार ७ सय ८४ पुग्ने भएको छ ।

मार्पाक,कटुन्जे र सेमजोङ गाविस अव नेत्रावती गाउँ पालिका हुने भएको छ । १२ हजार ८ सय ७० जनसंख्या रहेको यस गाउं पालिकाको केन्द्र सेमजोङ गाविसको वडा नम्बर ६ तिखाढुङगालाई तोकिएको छ ।

त्यसै गरी जिल्लाकै  ठुलो गाउंपालिकामा त्रिपुरासुन्दरी गाउंपालिका हुने भएको छ भएको छ । यस गाउं पालिकामा पनि पांच गाविस समेटिएका छन । जस्मा साविकको मुलपानी,सल्यानकोट,आगिन्चोक,सल्यानटार र त्रिपुरेश्वर गाविसलाई समेटिएको छ । सल्यानटार गाविस भवनलाई केन्द्र कायम गरिएको यस गाविसको जनसंख्या २२ हजार ९ सय ६० रहेको छ ।

हाल कायम रहेको धादिङ क्षेत्र नम्बर २ मा भने अव एक नगरपालिका र २ गाउं पालिका मात्रै रहने भएको छ । जस्मा खरी,ढोला,मैदी र चैनपुर गाविसलाई समेटेर ज्वालामुखी गाउँ पालिकाको प्रस्ताव गरिएको छ जस्को केन्द्र सांधभन्ज्याङमा रहनेछ भने जनसंख्या २३ हजार ९ सय ६६ हुने भएको छ ।

साविकको नीलकण्ठ नगरपालिकामा अव धुवाँकोट,ज्यामरुङ र खाल्टे गाविसपनि गाभिने भएका छन । यस अघि नगरपालिका गठन हुंदा नीलकण्ठ, साङकोष, सुनौलावजार र मुरलीभन्ज्याङ गाविस समेटिएको थियो । नीलककण्ठ नगरपालिकाकै नाममा सहमती जुटेको यस नगरपालिकाको जनसंख्या अव ५८ हजार ५ सय १५ पुग्ने भएको छ भने केन्द्र सदरमुकाम धादिङबेसीलाई कायम गरिएको छ ।

क्षेत्र नम्बर २ मा पर्ने नलाङ,सलाङ र कुम्पुर गाविसलाई अव सिद्धलेक गाउंपालिका भनिनेछ । नलाङ गाविसको बुङचुङलाई केन्द्र तोकिएको यस गाउँपालिकाको जनसंख्या २३ हजार ७ सय २९ रहेको छ ।

दक्षिणी धादिङको वेनिघाट, धुषा,महादेवस्थान र जोगिमारा गाविसलाई बेनिघाट रोराङ गाउं पालिकाको रुपमा प्रस्ताव गरिएको छ । वेनिघाट गाविसको विशालटारलाई केन्द्र तोकिएको यस गाउं पालिकाको जनसंख्या ३१ हजार ४ सय ७५ रहेको छ ।

गजुरी, पिडा र किराञ्चोक गाविसलाई समेटेर गजुरी गाउं पालिकाको प्रस्ताव गरिएको छ । गजुरी गाविसको वडा नम्बर १ गजुरीवजारलाई केन्द्र तोकिएको गजुरी गाउं पालिकाको जनसंख्या २७ हजार ८४ रहेको छ ।

यता २ नम्बर क्षेत्रको गोगनपानी , कल्लेरी र क्षेत्र नम्बर ३ को बैरेनी गाविसलाई समेटेर गल्छी गाउं पालिकाको प्रस्ताव गरिएको छ । २७ हजार ७ सय ८४ जनसंख्या रहेको यस गाउं पालिकाको केन्द्र बैरेनी गाविस वडा नम्बर ८ डल्टारमा रहने भएको छ ।

यसैगरी क्षेत्र नम्बर ३ को भुमेस्थान, तसर्पु, थांक्रे र क्षेत्र नम्बर २ को केवलपुर गाविस समेटिएको थांक्रे गाउंपालिका वन्ने भएको छ । थाँक्रे गाविसको महादेवबेसीलाई केन्द्र तोकिएको यस गाउँ पालिकाको जनसंख्या ३० हजार ७ सय ८५ रहेको छ ।

दक्षिणपुर्वी धादिङको नौविसे, जिवनपुर र छत्रेदेउराली गाविस अव नगरपालिका वन्ने भएको छ । धुनीवेसी नगरपालिका नाम दिईएको यस नगरपालिकामा ३१ हजार २० जन संख्या रहेको छ भने नौविसे गाविसको वडा नम्बर ४ जुगेडीलाई केन्द्र तोकिएको छ ।

स्थानीय तह पुर्नसंरचनाका लागि तोकिएको म्याद पुरा हुंदा पनि धादिङ जिल्लाका राजनैतिक दलका अगुवाहरु बिच जिल्लाको स्थानीय तह कतिवटा वनाउने भन्ने बिषयमा सहमति जुट्न नसक्दा स्थानीय निकायको सिफारिश अन्यौलमा परेको थियो ।
गाउँपालिका, नगरपालिका तथा बिशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले जिल्ला विकास समितिलाई स्थानीय पुर्नसंरचना आयोगको जिम्मेवारी दिएको थियो । जिविसहरुले स्थानीय तह पुर्नसंरचनाको प्रतिवेदन बुझाउने अन्तिम दिनसम्म पनि धादिङ जिल्लाका प्रमुख दलहरुका बिच पुर्नसंरचनाको बिषयमा सहमति हुन नसकेपछि आयोगलाई प्रतिवेदन बुझाउने कार्य रोकिन गएको थियो। आयोगले जिल्ला विकास समितिलाई कात्तिक २० गते सम्म जिल्ला तहको पुर्नसंरचनाको प्रतिवेदन बुझाउन समय दिएको थियो ।

धादिङ जिल्लामा हाल कायम रहेको १३ वटा इलाकालाई कायम राख्ने बिषयमा दलहरु बिच सहमती जुट्न नसकेको हो । दलका नेताहरुले स्थानीय निकाय १२ कि १३ भन्नेमा सहमती गर्न नसकेपछि आयोगले दिएको समय सकिंदा पनि पुर्नसंरचनाको बिषय अन्यौलमा परेको थियो । यस सवाललाई धादिङ न्यूजले बिशेष प्राथमिकताका साथ मुख्य समाचार वनाएको थियो ।