दश हजार शिक्षकले बुझाएनन् सम्पत्ति विवरण

616 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौंः गत आर्थिक वर्षमा १० हजारभन्दा बढी शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । विद्यालय शिक्षक किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले कुल शिक्षक ८२ हजार ६ सय ९८ मध्ये १० हजार एक सय ५९ शिक्षकले सम्पत्ति विवरण नबुझाएको बताए । उनका अनुसार ७२ हजार पाँच सय ३९ शिक्षकले सम्पत्ति विवरण बुझाएका छन् ।

निर्धारित समय गत भदौ मसान्तसम्म सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी डडेल्धुराका पाँच सय ८६ र कम मनाङका १४ शिक्षक छन् । सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेकाहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही पाँच हजार जरिवाना गर्छ ।

उनले सम्पत्ति विवरण बुझाउने–नबुझाउनेको सूची राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाइसकिएको बताए । गत वर्ष भने ७२ हजार चार शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएका थिए ।

आयोगले हुलाकबाट दरखास्त रकम बुझ्दै 

लोक सेवा आयोगले यस वर्षदेखि हुलाकबाट नै आवेदकको दरखास्त दस्तुर बुझ्न थालेको छ । आयोगले राजपत्राङ्कित तृतीय श्रेणी अधिकृतस्तरका तहबाट नै आवेदकलाई सजिलो होस् भनेर क्षेत्रीय हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयबाट दरखास्त दस्तुर बुझ्न थालेको आयोगका दरखास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायण गौतमले जानकारी गराए ।

आयोगका कार्यालय नभएका जिल्लामा हुलाक कार्यालयबाट दरखास्त दस्तुर बुझिएको छ । उनका अनुसार आवेदकले अनलाइन फाराम भरेपछि हुलाक कार्यालयमा गई दस्तुर बुझाउन सक्नेछन् । गौतमले अन्य पदमा पनि पछि हुलाकबाट दरखास्त दस्तुर बुझ्ने जानकारी गराए ।