तत्काल स्थानीय निकायको निर्वाचन मिति तोक्नु पर्ने- नेता पौडल

631 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

downloadधादिङ, ११ पुस ः संविधान संशोधनको प्रस्तावलाई अगाडि बढाउँदै तत्काल स्थानीय निकायको निर्वाचनका लागि मिति तोक्नु पर्ने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनु भएको छ ।
नेपाली काँग्रस धादिङको कार्यालय भवनको शिल्यान्यास कार्यक्रम पछि आयोजित सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले विद्यमान समस्या समाधानको महत्वपूर्ण निकास स्थानीय निकायको निर्वाचन गराउनुको विकल्प नभएको बताउनु भएको हो । निर्धारित समयमा तिनै निकायको निर्वाचन गराउनु पर्नेमा जोड दिँदै गाउँ पालिका र नगरपालिकाको सीमा निर्धारण नवनिर्वाचित स्थानीय प्रतिनिधिहरुले नै गर्ने बताउनु भयो । पुरानै अवस्थामा निर्वाचन गरेर जानु पर्नेमा नेता पौडलको जोड थियो ।
संविधान संशोधनमा जोड दिने मधेशवादी दलहरु नै संविधान संशोधन प्रस्ताव आएपछि प्रस्तावको पक्षमा खुलेर समर्थन नगर्दा प्रस्ताव कमजोर भएको नेता पौडेलले बताउनु भयो । एमाले तथा मधेशवादी नेतासँगको भेटघाटको सन्दर्भमा उनीहरु सबै स्थानीय तहको निर्वाचनका लागि तयार रहेको बताउनु भयो ।
वर्तमान सरकारको कामबाट सन्तुष्ट हुने प्रशस्त ठाउँ नभएको बताउँदै नेता पौडेलले सरकारले आफ्नो काम गराइमा निकै परिवर्तन र तिब्रता दिनु पर्ने बताउनु भयो । साथै नेता पौडेलले तामाकोसी जलविद्युत्त आयोजनाको शेयर माओवादी पूर्व लडाकुलाई दिने विषय जायज नभएको बताउनु भयो । कुनै सरकारी योजनाको शेयर दलका कार्याकर्तालाई बाँड्ने कुरा पुरा हुनै नसक्ने र त्यसो भए काँग्रेसले त्यसको प्रतिवाद गर्ने नेता पौडेलले बताउनु भयो ।
नेपाली काँग्रेस धादिङले २ करोड ८५ लाखको लागतमा निर्माण गर्न लागेको भवन शिलान्यास कार्यक्रममा नेपाली काँग्रेसका नेता रामशरण महत, मिनेन्द्र रिजाल लगायतले सम्बोधन गर्नुभएको थियो ।